पाँच अर्ब खर्चियो, बल्ल १० हजार घर

पाँच अर्ब खर्चियो, बल्ल १० हजार घर

ललितपुर । भूकम्प आउनुपूर्व हेटौंडाका धनप्रसाद तिमल्सिना ढोलाहिटी हाइटमा एक जना महत थरका व्यक्तिको घरमा भाडामा बस्थे। तर, भूकम्पपछि उनले बस्ने ठाउँ पाएनन्। लामो समय खुला ठाउँमा पाल टाँगेर बसे। भाग्यवश एउटा खाली जग्गा भेटे र भाडामा लिए। वर्षको २० हजार तिर्ने सर्त थियो। पाँच वर्षका लागि कागज गरेर भाडामा लिए। जस्ताले बेरेर एउटा टहरा बनाए। पाँच वर्षका लागि भाडामा लिएका थिए। चार वर्ष भइसक्यो। बिहीबार बिहानको झरीमा उनको टहरामा एकोहोरो टोलाइरहेको भेटिए। पेन्टिङ गर्ने काम गर्दै आएका उनी झरीले काममा जान सकेका थिएनन्।

श्रीमती, एक छोरा र छोरीका साथ बस्दै आएका उनले भूकम्पपछि भाडामा बस्नेहरूलाई झनै समस्यामा पारेको बताए। बस्दै आएको घर भत्किएपछि उनले कोठा पाएनन्। ०६० सालमा लालबकैया–४ (हालको गाउँपालिका) मा आएको बाढीले उठिबास गरिदिएपछि काठमाडौंमा बस्न बाध्य भएको जनाए। तर, उनी बस्दै आएको घर बन्न सकेन। तिमल्सिनाले भने, ‘जाडो होस या गर्मी, टहरामा बसिरहन मन छैन।’ भाडामा बस्ने मात्र हैन, जग्गा हुनेले समेत आफ्ना घर बनाउन सकेका छैनन्।

हालसम्म ललितपुरले लगभग पाँच अर्ब रुपैयाँ खर्च गरिसकेको छ। निजी आवास निर्माणका लागि मात्र। जिल्ला आयोजना कार्यान्वयन इकाइ ललितपुरका अनुगमन तथा मूल्यांकन विज्ञ यमनाथ गिरीका अनुसार चार वर्षको अवधिमा चार अर्ब ९६ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको हो। करिब पाँच अर्ब रुपैयाँ सकिँदा १० हजार एक सय २३ घर मात्र बनेका छन्।

गिरीका अनुसार ललितपुरमा २८ हजार ४ सय ८२ लाभग्राही थिए। त्यसमध्ये २५ हजार दुई सय ४२ ले पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरे। तर, २५ हजार एक सय ८८ ले मात्र पहिलो किस्ता लिएका थिए। सरकारले तोकेको मापदण्डका कारण दोस्रो किस्ता लिनेको संख्या १२ हजार ३ सय ३२ मात्र पुग्यो। १० हजार १ सय २३ ले तेस्रो किस्ता लिए। यसै संख्यालाई घर निर्माण भएको संख्या मानिएको उनले बताए।

पालिकाको तथ्यांक हेर्दा ललितपुरमा गाउँपालिका अग्रपंक्तिमा छन्। बागमती गाउँपालिकामा ६८ प्रतिशत, कोन्जोस्योममा ६६, महांकालमा ६६, गोदावरी नगरपालिकामा २९, महालक्ष्मी नगरपालिकाले २८ र ललितपुर महानगरपालिकामा १४ प्रतिशत पुनर्निर्माण गरेको छ।

ललितपुरका भित्री बस्तीमा बुङगमती, खोकना, हरिसिद्धि, सुनाकोठी पाटनजस्ता ठाउँमा निजी आवास निर्माणका लागि समस्या भएको हो। सहरी इलाकाबाहिर तीव्र पुनर्निर्माण भएको प्राधिकरणको भनाइ छ। पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठका अनुसार सहरी क्षेत्रमा २३ प्रतिशत पुनर्निर्माण भएका छन् भने बाहिरी क्षेत्रमा ६८ प्रतिशत काम भइसकेको छ।

मूल्यांकनविद् गिरीका अनुसार महानगरको २१ वडा, खोकनामा सबैभन्दा कम प्रगति भएको छ। वडाध्यक्ष रवीन्द्र महर्जन खोकनावासीको लालपुर्जा नहुँदा समस्या भएको बताउँछन्। ‘केही दिनपहिले पुनर्निर्माण प्राधिकरणमा करिब ३ सय जनाको अभिलेखीकरण गर्न पठाइसकेको छु’, उनले भने, ‘दुई सयजति घर बनिसकेका छन्।’ महर्जनले खोकनामा मात्र आठ सयभन्दा धेरै घर भत्किएको बताए।

अन्यत्र स्थानान्तरण, नक्सा पास, लालपुर्जा नहुनु तथा अभिलेखीकरण गरेर मात्र घर बनाउन अनुमति पाउनेलगायत समस्याले आवास निर्माण प्रक्रिया लम्बिएको प्राधिकरणको बुझाइ छ। प्राधिकरणले असारसम्म काम सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्माण क्रममा चुनौती रहेको स्विकारेको छ। अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्