इरान विमान दुर्घटना: ‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

इरान विमान दुर्घटना: ‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

बिबिसी । इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको उल्लेख गरिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

सो दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १ सय ७६ जनाको मृत्यु भएको थियो । सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा सो घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ ।
इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा ‘मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको र १ सय ७६ जना निर्दोष मानिसको मृत्यु भएको’ निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन् ।

सो घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको भन्दै उनले कसले त्यसो ग¥यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन् । यसअघि इरानी क्षेप्यास्त्रका कारण सो यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको संकेत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो ।

इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई हास्यास्पद भन्दै त्यो अमेरिकाको मनोवैज्ञानिक कारबाहीको अंश भएको दाबी गरेका थिए । तर सम्भवतः त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको बेलायत, अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबावमा परेको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बेसका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै सो विमान दुर्घटना भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा सो विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ ।
तेहरानबाट किभ हुँदै क्यानडाको टोरन्टोका लागि उडेको युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए ।

दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो । तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लिएको थियो ।

फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो । विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ ।

मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले दुर्घटनामा ‘आतंकवाद’ को भूमिका नभएको बताएका थिए । इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गरिने वचन दिएको छ । तर टेलिभिजनमा प्रसारित दृश्यमा दुर्घटनास्थलमा भग्नावशेष हटाउन उपकरणहरू प्रयोग गरेर खनिएको देखिएको थियो ।

त्यसो गर्दा महत्वपूर्ण प्रमाण दुर्घटनास्थलबाट हटाएको हुन सक्ने शंका उत्पन्न भएको थियो । इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावकाबीच इरानले सो विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो ।

तर एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको बताए । अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको पुष्टि गरेको छ ।

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ ।
विश्वव्यापी उड्डयन नियमानुसार कुनै पनि अनुसन्धानको नेतृत्व गर्ने अधिकार इरानको हुने गर्छ । तर सामान्यतया विमान निर्मातापनि अनुसन्धानमा संलग्न हुन्छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका थिए । क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्