कोरोना भाइरस संक्रमण : अहिलेसम्मकै ठूलो अध्ययनको निस्कर्ष सार्वजनिक

कोरोना भाइरस संक्रमण : अहिलेसम्मकै ठूलो अध्ययनको निस्कर्ष सार्वजनिक

काठमाडौं, फागुन ७ गते ।

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको छ । सोमबार मात्रै ९८ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो ।

चीनका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस संक्रमण सुरु भएयताकै सबैभन्दा वृहत्त अध्ययनको निस्कर्ष सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा स्वास्थ्यकर्मीहरु उच्च जोखिममा रहेको संकेत गरेको छ । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा उक्त जोखिम बढी रहेको देखाइएको छ ।

चीनभर फेब्रुअरी ११ सम्म पुष्टि भएका, शङ्का गरिएका र कुनै संकेत नदेखिएका तर कोभिड–१९ पहिचान गरिएका सबै ७२ हजार ३१४ घटनाको विवरण उल्लेख गरिएको छ ।
कोरोना भाइरसको संक्रमण सुरु भएको हुवेइ प्रान्तमा मृत्यु दर सबैभन्दा बढी २.९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ । चीनको अन्य प्रान्तमा भने मृत्यु दर ०.४ प्रतिशत रहेको छ । अध्ययनमा खुलाइए बमोजिम करिब १२ हजार संक्रमित अहिलेसम्म निको भएर घर फर्किसकेका छन् ।

अध्ययन बमोजिम ७० वर्षमाथिको उमेरका संक्रमितको मृत्यु दर ८ प्रतिशत र ६० देखि ६९ वर्ष उमेर समूहमा संक्रमितको मृत्यु दर ३.६० प्रतिशत रहेको खुलाइएको छ । नौ वर्ष उमेर समूहसम्म मृत्यु दर शून्य प्रतिशत रहेको विस्तृत अध्ययनमा उल्लेख गरिएको छ । अर्थात नौ वर्षसम्मका बालबालिकाको मृत्यु नभएको देखिएको छ । लैङ्गिक अनुपातमा पुरुषमा २.८ प्रतिशत र महिलामा १.७ प्रतिशत मात्रै जोखिम रहेको देखिएको छ ।
अध्ययन बमोजिम मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको उल्लेख गरिएको छ । त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घ रोगी र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ ।मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८६८ पुग्नुको साथै ७२ हजार ४३६ व्यक्ति सङ्क्रमित भएका छन् । चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताउनु भएको छ ।
महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने बताउनुभयो ।
आइतबार चीनमा २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको थियो । सङ्क्रमितहरूको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको सो समाचारमा जनाइएको छ ।

वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन खर्च विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका थिए । यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्