इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग

इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग

कोकिला ढकाल

इलाम, फागुन १५ गते । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।

वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ । जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ ।

चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ ।
आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुराताŒिवक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताउनुभयो । डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामा बताउनुहुन्छ । यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो । लामाले भन्नुभयो, “ओरिजिनल क्यामेलिया साइनेसिसचाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ ।

यहाँको पनि तीन–चार सेक्सनमा मात्रै यो जातको चिया छ, जसको मुना नै रातो पलाउँछ । ” विश्वमै दुर्लभ बन्दै गएको यो चियाको संरक्षणमा कसैले ध्यान नदिएको उहाँ बताउनुहुन्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिनियाँ सम्राट्ले उपहारका रूपमा पठाएको चिया इलामका बडाहाकिम गजराजसिंह थापाले इलाम सदरमुकाममा खेती सुरु गरेको इतिहास छ । यसरी सुरु भएको चिया बगान निजीकरण भएपछि पछिल्ला दिनमा नासिँदै गएको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउनुहुन्छ । चिया कारखानामा भएका पित्तलजडित मेसिनहरू पनि अचेल नभएको उहाँको भनाइ छ ।

“निजीकरण हुनुअघि पित्तल धातुले बनेका मेसिनहरू थिए, ठूलोे घण्टा थियो, बिहान ४ बजेको घण्टाले बजारवासीलाई उठाउँथ्यो”, वैद्य भन्नुहुन्छ, “ती पुराना सामग्री कहाँ पुगे पत्तो छैन । संरक्षण गर्न सरकारलाई चासो छैन । ”
चियाको इतिहास जोगाउन नगरपालिकाले पनि सरकारसँग पटक पटक कुरा उठाउँदै आएको छ । “हामीले पूर्वसभामुख, पूर्वप्रधानमन्त्री, सांसद सबैलाई यो चिया बगान नगरपालिकालाई हस्तान्तरण गर्न पहल गर्नुहोस् भनेर आग्रह ग¥यौँ, अहिलेसम्म केही हुन सकेन”, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भन्नुभयो, “यसपटक नगर सभाबाटै निर्णय पारित गरेर संरक्षणको पहलका लागि सरकारसँग आग्रह गरेका छौँ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्