क्वालम्पुर । मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहीद्दीन यासिनले शपथ लिएका छन् ।
राजा सुल्तान अब्दुल्लाह अहमद शाहले पूर्वगृहमन्त्री यासिनलाई शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । महाथिर मोहमदले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पाँच दिनपछि यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । उनले अब संसदबाट विश्वासको मत लिनुपर्नेछ । यासिनलाई प्रधानमन्त्री नियुक्त गरिएसँगै दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको थियो, "पूर्व गृहमन्त्रीसमेत रहेका बेरसातु पार्टीका प्रमुख मुहीद्दीन यासिनलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ ।"
९४ वर्षीय महाथिरले राजीनामा दिएपछि विपक्षी पार्टीका ७२ वर्षीय अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने पर्ने विषयमा चर्चा भए पनि राजाले भने शनिबार यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीकाबीच महाथिरले सोमबार दिउँसो 'एक्कासी' प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।