आधुनिक र भोजपुरी गीतको प्रभाव : तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थाल्यो

आधुनिक र भोजपुरी गीतको प्रभाव : तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थाल्यो

शिवहरी भट्टराई

सप्तरी । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ ।आधुनिक र भोजपुरी गीतको प्रभाव बढेसँगै मौलिक जोगिरा गीतको अस्तित्व लोप हुने अवस्थामा पुगेको हो । फागुपूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदंग, झ्याली, हारमोनियमलगायतका वाद्यवादनका साथ सवाल जवाफ शैलीमा गाइने होली गीत र जोगिरा विस्तारै तराईबाट हराउने क्रममा छ ।

दोहोरी गीतझै गाइने जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाउँथ्यो तर अहिले ती गीतहरु लोप हुने अवस्थामा पुगेको सप्तरीका स्थानीयवासी बद्री यादवको गुनासो छ ।

सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीले प्राय सबै जातजाति र सबै उमेरसमूहका मानिसलाई आत्मीय बनाउँदै सद्भाव कायम गराउँछ ।तर तराईमा पहिले जस्तो जोगिराका गीत नघन्किँदा उत्साह र उमंगका साथ खेलिने होलीको महत्व नै घटेजस्तो भान हुन थालेको छ ।

अधिकाँश युवाहरु विदेश पलायन भएका छन् । जसका कारण गाउँघरमा पहिले जस्तो होलीको रौनक देखिँदैन भने अर्कातिर आधुनिक र भोजपुरी गीतले स्थान पाएको अर्का स्थानीय रामकुमार यादव बताउँछन् ।होलीको मौलिकता हराउन थालेपछि केही संघसंस्थाहरु यसको बचाउमा लागेका छन् । सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेकाले होलीको मौलिकता जोगाउनेतर्फ स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्ने मैथिली साहित्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादवको जोड रहेको छ ।

हाम्रो मौलिक संस्कृतिसँग गाँसिएका यस्ता चाडपर्वलाई विदेशी संस्कृतिको छाँयामा पर्न नदिन नयाँ पुस्तामा थप सजगताको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्