अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास

अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास

कृष्णराज खनाल
वोस्टन, अमेरिका, चैत्र १ गते । विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास देखिएको छ ।
अमेरिकामा शुक्रबार रातिसम्ममा दुई हजार दुई सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । यो भयावह रुपमा अझै बढ्दै गएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो देशवासीका नाममा संवोधन गर्दै देशभर राष्ट्रिय आपतकाल लागू गरेको घोषणा गर्नुभएको छ । आपतकालीन व्यवस्थाले यो रोगसँग जुध्न राहत मिल्ने विश्वास लिइएको छ ।
मानिसहरु दैनिक अत्यावश्यकीय खाद्यान्न तथा स्यानिटाइजर, सावुन, मास्क र ट्वाइलेटपेपरको खोजीमा यताउति भौँतारिरहेका छन् । मानिसहरु सन्त्रस्त छन् । थोक तथा खुद्रा पसलमा पनि उपर्युक्त सामानको अभाव छ । दैनिक उपयोग र उपभोग्य सामान राख्ने र्याकहरु पनि खाली खाली छन् । मानिसहरु भोलि खान वा दिसा पुछ्न नपाइने हो कि भन्ने चिन्ताले ग्रस्त छन् ।
मेरो जीवनमा यस्तो अवस्था कहिल्यै पनि देखेको थिइन थोक विक्रेता पसलबाट सामान किनेर फर्कँदै गरेका ७० वर्षीय एड्सीले भने । उनले सन् १९७५ मा परेको अथाह हिउँको बेलामा पनि यस्तो किसिमको भीड नभएको बताए । उनले पसलमा आफूले खोजेको सम्पूर्ण सरसामान नपाएको गुनासो पनि गरे ।
६८ वर्षीया वारवराको भनाइ पनि उनको जस्तै छ । वारवराले पनि यस्तो किसिमको सन्त्रस्त वातावरण जीवनमा कहिले पनि नदेखेको बताइन् । उनले भनिन् मानिसलाई जीवनमोहले सताउँदोरहेछ । मानिस मर्नदेखि डराउनेरहेछन् भन्ने प्रमाण यो भीडले देखाउँछ । उनी आफ्नो पालो आउन डेढ घण्टा लाइनमा बसेको बताउँछिन् ।
थोक खाद्यान्न तथा उपभोग्य सामान पाइने स्थानहरु वाल्मार्ट, कस्को, बीजेस्, मार्केट बास्केट, अल्दी, जायन्ट इगल वेगम्यान आदि स्थानमा मानिसहरुको थेगिनसक्नु भीड छ । मानिसहरुले पानी, मासु, पाउरोटी, केक, अण्डा, फलफल, जुुुस, दूध, सिरियल जस्ता दैनिक उपभोग्य वस्तु र ट्वाइलेट पेपर मास्क, स्यानिटाइजर आदि उपयोग गरिने वस्तु ठूलो परिणाममा खरिद गरेको कारण बजारमा यी वस्तुको अभाव भएको हो । यो विश्व सकिने संकेत हो, यस्तो हाहाकार त मैले कहिल्यै पनि देखेको थिइन । कस्कोमा कार्यरत स्कट भन्छन् । उनका अनुसार, यस पटक मानिसहरुमा सन्त्रास र डर बढी छ ।
नेपालीहरु चिन्तित
अमेरिकामा बसोवास गर्ने नेपालीहरुमा कसैलाई पनि यो रोग लागेको समाचार बाहिर आएको छैन । तर पनि उनीहरु पनि के कसो हुने हो भनेर सतर्कता अपनाइरहेका छन् । क्यालिफोर्नियामा बस्ने पत्रकार राजेश वा मिचिगनमा बस्ने डा. उदय हुन् वा फिलाडेल्फियामा बस्ने डा. रमेशलाई वा वोस्टनमा बस्ने दिनेशलाई पनि कोरोनाको सन्त्रासले सताएको छ । नेपाली खानामा नै अभ्यस्त उनीहरु त्यस्ता थोक विक्रेता ठूला पसल र ससाना नेपाली र भारतीयको ग्रासरी स्टोरमा पनि दाल, चामल, चना, पास्ता वा मसनपाइएला भन्ने कुराले चिन्तित छन् । कमसे कम यी चीजको जोहो गरियो भने केही दिन घरमै बस्नु परेको खण्डमा पनि बाँचिन्छ भन्ने विश्वास छ । सान मान प्रश्न गर्छन् कोरोना र ट्वाइलेट पेपरको सम्वन्ध के छ ? हुन पनि हो ट्वाइलेट पेपर राखिएको स्थान किन खाली खाली छ ? नेपालीहरु भन्छन् ट्रम्पले कोरोना भाइरसको कारण पूर्वीय दर्शनको नमस्कार गर्न सुरु गरे भने अब दिसा धुने हाम्रो परम्परालाई पनि अवलम्बन गरे हुन्थ्यो नि ।
चामल किन्न गएका रमेश मानिसको कहालीलाग्दो लाइन देखेर कतिपटक त फर्केका पनि छन् । तर अर्को दिन उनले लाइनमा बसेर चामल किनी छाडे । रमेशजस्ता अरु नेपालीलाई ट्वाइलेट पेपरको चिन्ता भने कत्ति पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्