“साभार” – भेषराज पोखरेल 

“साभार” – भेषराज पोखरेल 

- भेषराज पोखरेल

मुख्य समाचार विचार
मध्यविन्दु
निराशाको आशा!
शिवप्रकाश

‘म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईँहरु पनि घरमै बस्नुहोस्।’

कोरोनाको कहरमा डुबेको मातृभूमि नेपालका प्रधानमन्त्रीको वाणीले यसपटक मलाई रुवायो। कसैले देखेन। ल्यापटपको निर्जीव किबोर्डले कसरी अनुभूत गरोस्, जहाँ मेरा दुईथोपा आँशुले विश्राम लिए।

प्रधानमन्त्रीले देशमा सरकार “सञ्चालन” गरिरहेको छु भनिरहँदा देशमा फैलदै गरेको महामारी कोरोनाको उपचार गर्ने डाक्टरले ‘एप्रोन’सम्म पाएनन् भन्ने समाचारका हेडलाइन पनि सँगै आए।

रिसाउन पनि सक्किएपछि मान्छे रुन्छ। पढेर रुन मन लाग्यो, रोए।

मजस्तै अहिले एक्लै रुने कति होलान् ? हिजो कति थिए, भोलि कति हुनेछन् ? कसले देख्ने अरु रोएको ? आज जनता देशको नागरिक हैन ‘अरु’ को दर्जामा वाँच्न बाध्य छन्। नेतृत्व भनिरहेको छ– ‘घरमै बसेर सरकार “सञ्चालन” गरिरहेको छु।

कोरोनाको उपचारमा संलग्न चिकित्सक टोलीसँग एकथान सुरक्षित एप्रोनसम्म छैन भने त्यो देशको सरकारको अरु व्यवस्था कस्तो होला? उपचारमा खटिएका चिकित्सक टोलीको मनस्थिति कस्तो होला? विरामीको अवस्था कस्तो होला?

रिसाउन सकिन। कोसँग रिसाऊँ ? रिसाउन पनि साथी चाहिन्छ। रिसाउन नसकेपछि मान्छे रुन्छ। रुन कोही चाँहिदैन। एक्लै सकिन्छ– रुनुको विकल्प थिएन, रोएँ।

प्रधानमन्त्रीको त्यो महावाणीले मेरो हृदयमा एउटा दुन्दूभि बजाइरह्यो– के साच्चिकै देशमा सरकार “सञ्चालन”मा छ त ? सरकार “सञ्चालन” भएको भए के ती डाक्टर एउटा सुरक्षित एप्रोनबाट वञ्चित हुनु पर्ने थियो?

आफ्नै जीवनलाई कालको मुखमा राखेर अरुको जीवन रक्षा गर्न पछि नहट्ने ती डाक्टरलाई मनमनै स्यालुट गरेँ, आँखा मिचेँ।

प्रधानमन्त्रीले सरकार “सञ्चालन” गरिरहेको त्यही सन्देशको पछिपछि महावीर पुनले कोरोना उपचारमा संलग्न डाक्टरहरुलाई सुरक्षित एप्रोन दिने समाचार पनि मेरा आँखाले पढेँ– धन्य भने ।

किताब बेचेर महावीरलाई हामी (श्रीमती ज्योत्सना र म)ले गरेको सहयोगले झन् सन्तोष दियो । आँखा ओभाए । तर सरकार “सञ्चालन” भएको भए महावीरले एप्रोन दिनु पर्ने थियो ? आफैंलाई प्रश्न गरेँ।

प्रश्नले अर्को प्रश्न जन्मायो– को हो सरकार ? बुद्धि–विस्खलनको रोगले ग्रसित देशका विरामी भलाद्मीहरुको थुप्रोलाई म सरकार मानु कि म्याग्दीको एउटा पाखे नागरिक महावीर पुनलाई ?

प्रश्नले नै प्रश्न जन्माउँछन् तर प्रश्न कसलाई गरुँ । प्रश्नको उत्तर चुहिने विवेकको भाँडोमा अविवेकवाहेक अरु केही भएको भए धेरै प्रश्नले उत्तर पाउँथे। प्रश्न अनुत्तरित रहने थिएनन्।

फेरि आफैंलाई प्रश्न गरेँ– प्रधानमन्त्रीले ‘तपाइँ पनि घरमै बस्नुहोस’ भन्नु भयो । यो महामारीबाट बच्न घरमा बस्नुको विकल्प छैन। प्रधानमन्त्रीको आदेशलाई अवज्ञा गर्न सकिदैन।

तर के घरमा बस्नका लागि घर हुनु पर्दैन ? जसको घर छैन ती बेघरले यो महाविपतमा कसका घरमा बस्ने ? कसले “सञ्चालन” गरेको कुन सरकारले ती बेघरलाई कुन घरमा बस्नु भनेको हो ? अलमल्ल परेँ।

बस्नका लागि घर नै चाहिँदैन, झुपडीमात्र भए पनि हुन्छ । तर त्यो झुपडीमा बस्नका लागि बाँच्नु पर्छ । बाँच्नका लागि खानु पर्छ । झुपडी र महलमा फरक छ– महलमा धेरै कोठा हुन्छन् । सबै कोठा भरिएका हुन्छन् । तर सिङ्गो झुपडी एउटा सानो अँध्यारो कोठा हो । त्यो कोठा सधैं खाली हुन्छ । त्यो अँध्यारो खाली कोठामा के खाएर बस्नु ? के खाएर बाँच्नु ?

बिहान कमाएर बेलुकी खाने बाबु–आमा भोकै सुत्लान् । लालाबालाको भोकको आगो केले निभाउनु ?

झुपडीमा मानिसभन्दा बढी भोक बसेको हुन्छ । अभाव बसेको हुन्छ । त्यो झुपडीमा बस्नका लागि त्यो भोक र अभावलाई भगाउनु पर्छ । कसरी भगाउनु ? केले भगाउनु ? प्रहरीको डण्डाले सडकबाट मानिस भगाउँछ तर झुपडीबाट भोक भगाउँदैन ।

भोकको आगोले देशका झुपडीहरु जलिरहेका छन् । तिनै झुपडीहरुले बनाएको देशको महलमा बस्ने प्रधानमन्त्री भनिरहेका छन्– ‘म घरमै बसेर सरकार “सञ्चालन” गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस्।’

सबैप्रकारले सधैं आहत झोपडीका ती जनतालाई खै अलिकति राहत ?

घरमै बसेर “सञ्चालन” गरिएको सरकालाई के थाह, भोकको बास झुपडीमा हुन्छ ! महल पनि भोको छ तर महल र झुपडीको भोक फरक छ– महललाई सुख, सुविधा र सत्ताको भोकमात्र थाह छ। सरकार त्यही महलबाट “सञ्चालन” भइरहेको हुन्छ ।

मोरङको सुन्दर–हरैंचा बस्ने दाइसँग कुरा भयो। ऊ भन्दै थियो, हामीलाई रुघा–खोकीमात्र लाग्यो भने पनि उपचार गर्ने कोही छैन। हामी त उपचारबिनै मर्ने भयौं। गाउँका चिकित्साकर्मीहरु विरामी देखेर भाग्छन्। ती स्वयं असुरक्षित छन्, नभागुन् पनि किन? कोरोनाको त्रासले सबै डराएका छन्। केही भइगयो भने काठामाण्डौंको टेकु जानु भन्छन्। कसरी जानु काठमाडौँको टेकु? न आफूसँग साधन छ, न कसैले लान्छ। न जहाजले उडाउँछ। न जहाज चढ्ने पैसा हुन्छ ? यो निराशामा अरु कोही छैन– एक ईश्वर मात्रै हाम्रा आशा।

दाइको बोलीले बिट मार्दैगर्दा मैले डोल्पा, हुम्ला, जुम्लाका नेपाली सम्झिएँ ? कठैबरा तिनलाई केही भयो भने कुन सरकारले काठमाण्डौ पुर्‍याउला र उपचार गर्ला ? त्यसैले त हरेक सानातिना रोगव्याधीमा ती सधैं तिनै ईश्वर र देवीदेउता पुकार्छन् । तिनलाई के थाह, सरकार कस्तो हुन्छ ? सरकार कहाँ छ ? सरकारले के गर्छ ? सरकार कसका लागि हो ?

दुखःमा दैव पुकार्नुलाई हामी अन्धविश्वास भन्छौं, तर्कन्छौं । म उनीहरुको विश्वासलाई अन्धविश्वास भन्दिन । जसले भन्छ उसलाई अन्धस्वार्थी भन्छु र मूर्ख पनि । मानिसप्रति विश्वास जाग्न नसकेर ती मानिसले सदैव दैव पुकारेका हुन् । हामीले त्यो विश्वास जगाउन सकेनौ, उनीहरुलाई कहिल्यै विश्वास भएन– मेरा लागि मेरो देशको सरकार छ ।

अहिले देशमा अलिकति हुनेखानेलाई अर्कै डर छ– भोकै नमरे पनि उपचारबिनै मर्ने डर । केही नहुनेलाई उपचारको चिन्ता छैन, भोकै मर्ने चिन्ताले ऊ मारिहेको छ । देशको नेतृत्वले भनिरहेको छ– म सरकार “सञ्चालन” गरिरहेको छु । फेरी पनि आफैंलाई प्रश्न गर्छु– प्रधानमन्त्रीले अझै सरकार “सञ्चालन” गरिरहनु भएको छ ? छ भने कहाँ छ उहाँको त्यो सरकार ?

जुन देशमा निजी क्लिनिक र अस्पताल स्याउँस्याउँती छन् तर कोरोनाको आशङ्का लागेका बिरामी जाँच्न कोही तयार छैनन् । त्यो देशमा कस्तो सरकार कहाँबाट “सञ्चालन” भएको छ ? मेरा प्रश्ने मलाई नै थिच्न थाल्यो ।

सरकारको उपस्थिति जनताले देख्नुपर्छ। के जनताले सरकारको उपस्थिति देखेका छन्? कसलाई विश्वास छ– मेरा लागि मेरो सरकार छ भनेर? भएको भए कोरोना भाइरसको त्रासले सास फेर्न डराइरहेका जनता भगवानको भरोसामा किन बस्थे?

यस्तै अवस्था नहोस् भनेर डा. गोविन्द केसी सत्रौं पटकसम्म अनशनमा बस्नु भो । एक प्रदेशमा एक सुविधासम्पन्न मेडिकल कलेज सहितको सरकारी अस्पताल खोल्नु पर्ने माग राख्नु भो । जनता आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने चाहनु भो । तर एउटा सत्याग्रहीलाई दबाउन सरकारले सधैं बज्रबुद्धि लगायो । दमनको पराकाष्ठा नाघ्न किञ्चित हिच्किचाएन । आज त्यही सरकार “सञ्चालन”मा छ भन्ने पढ्दा मेरा आँखा दुःखी हुन्छन् । दुःखी आँखाले दुःख पोख्छन्, आँशु चुहाउँछन् ।

डा. केसीले उठाएका माग सम्बोधन गरिएको भए आज यो दुरावस्था आउने थिएन । योभन्दा झन् दुरावस्थाका संकेतहरु झन् माथि उठ्दैछन् । नेपालीहरु नियतिको हैन, नियतको शिकार हुदैछन्– नेतृत्वको नृशंस नियतको शिकार !

एउटा बिरामीको प्राण एउटा डाक्टरको हातमा हुन्छ । नेतृत्व त्यो डाक्टर हो, जसको हातमा देशको प्राण हुन्छ । तर देशको रोग निको पार्ने नेतृत्व आफैं देशका लागि रोग बनेको छ । देशको बोझ बोक्ने नेतृत्व आफैं देशका लागि झन् ठूलो बोझ बनेको छ । जनता देशका प्राण हुन्– देश प्राणहिन हुदैछ ।

आज म कसलाई सरकार मानुँ ? डा. गोविन्द केसी, जो जनताका लागि सयौंदिन चिसो भुइँमा भोकै लडे । उनलाई सरकार मानुँ कि सत्तामा बसेर निजी अस्पताल र मेडिकल कलेजका मालिक बनेका ‘‘धन्धावाला बेपारी’को बगाललाई ? फेरी पनि उही प्रश्नले मलाई अचेट्यो– देशमा कस्तो सरकार कसले “सञ्चालन” गरिरहेको छ ?

कति लेखेँ, कति बोले तर अहिले “सञ्चालन” शब्दको अर्थमा म अड्किए– ‘लिट्रल्ली कन्फ्युज्‘ भएँ । अर्थ आफ्नै मातृभाषाको नेपाली बृहत् शब्दकोशमा खोजेँ । भेटेँ– ‘कुनै काम वा व्यवस्थालाई सुचारु रुपले चलाउने काम, गतिशील रुपमा निरन्तर चलाइने कुनै काम वा त्यस्तो कामको समुचित प्रवन्ध ।’ तर कहाँ छ त्यो, जुन देशमा त्यो सरकार “सञ्चालन”मा छ ?

अँग्रेजीमा खोजे, ‘गभर्नेन्स्’देखि ‘अपरेशन’सम्म चौविस शब्द पाए तर देशमा मैले न ‘गभर्नेन्स’ (प्रणाली) देखेँ न ‘अपरेशन’ (सञ्चालन) । तै पनि सरकार “सञ्चालन” भइरहेको छ ! तर कहाँ ?

सरकारको परिचय खोज्न थालेँ¬– के हो सरकार ? को हो सरकार ? कसका लागि हो सरकार ? कसलाई मान्ने सरकार ? टोले गुण्डाहरुले टोल चलाएका छन् । देश चलाउनेहरुको दर्जा र हैसियत फरक छ, उर्जा, नियत र चर्चा उस्तै छ । के यही हो सरकार ? के यही सरकर अहिले “सञ्चालन”मा छ ?

सरकारको उपस्थिति जनताले देख्नु पर्छ । के जनताले सरकारको उपस्थिति देखेका छन् ? कसलाई विश्वास छ– मेरा लागि मेरो सरकार छ भनेर ? भएको भए कोरोना भाइरसको त्रासले शास फेर्न डराइरहेका जनता भगवानको भरोसामा किन बस्थे ?

आज जनतालाई सरकारप्रति न अलिकति आश छ, न विश्वास छ । छ भने निराशामात्र छ । त्यो निराशाको आशा सरकार हैन, ईश्वर भएको छ ।

आधुनिको नेपालको प्रधानमन्त्री–मन्त्रीका वाणी कुनै पौरणिक कथामा पढेका ‘फाल्तु लाईन’जस्ता लाग्छन् । निराशाका कर्कश ध्वनीले हाँसो खोसेपछि रुन मन लाग्दो रहेछ ।

कालो बादलमा पनि चाँदीको घेरो देखिन्छ भन्थे । देशको आकाशमाथि मडारिएको कालो वादल झन् कालो हुदैछ तर चाँदीको पातालो घेरो कहिल्यै देखेनन्, जनताले । सरकार “सञ्चालन” भइरहेको छ । वादल झन् कालो झन् बाक्लो हुदैछ ।

जर्ज वर्नाड शाका शब्द सम्झिए– ‘संसारको मुख्य समस्या यो हो कि मुर्ख र कट्टरहरु सधैं आफैंमा निश्चित हुन्छन् ।’ मलाई प्रधानमन्त्रीको बोली र निरोको बाँसुरीको धुन उस्तै लाग्यो । भोलिको इतिहासले के लेख्छ थाह छैन तर रोम जलिरहँदा वादशाह निरो बाँसुरी बजाइरहेको थियो । देश सरकारविहिन हुँदा मेरो मातृभूमिको प्रधानमन्त्री ‘म सरकार “सञ्चालन” गरिरेको छु भनिरहेको थियो ।

मानिस भावनामा मात्र बग्नु पनि हुदैन । भावहिन पनि बन्नु हुदैन । मानिस वाँचेको सूचना दिने दुई तत्व प्राण र भाव नै हुन् । प्राणशून्य मात्र भावशून्य हुन्छ– वस्तुतः वस्तुमा भाव हुदैन । वास्तवमा वस्तुमा प्राण पनि हुदैन ।

‘म घरमै बसेर सरकार “सञ्चालन” गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस ।’ देशको प्रधानमन्त्रीको यो सन्देश, सन्देश हैन संवेदनाहिन “समवेदना”जस्तो लाग्यो, मलाई । मेरा आँशु थामिए पनि मन रोइरहेको छ– मातृभूमि अवस्था देखेर ।

कामना गरौं– सरकारमा संवेदना सिञ्चित होस् । मानिसको निराशाको आशा मानिस बनोस् । आफ्नै सरकार बनोस् । हरेकले मेरो सरकार भनोस्।

चैत्र १५, २०७६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्