परिक्षा र भगवानलाई घुस
छटपट्टिको व्यग्रताका बाबजुत पनि पढ्नै पर्ने वाध्यताले पिरोलिएको हर्कसिँह किताबका पाना पल्टाईरहन्छ। पल्टाउँदा पल्टाउँदै घडीले बेलुकीको पाँच बजाईसकेको हुन्छ।
यसो घडी हेर्दै सोच्छ अबको ठीक पन्ध्र घण्टापछि परिक्षा दिनु छ। पढ्ने तारतम्य मिलाउन थालेको नै परिक्षातालिका आईसकेपछि हो, कसरी पो भ्याओस् त पढिसक्न।
नोट बनाउँदा बनाउँदै करिब पन्ध्र दिनको समय गयो, अब रह्यो बाह्र दिन!
कसरी सकियोस् पाँचवटा विषय बाह्रदिनमा..
मन नलाग्दा नलाग्दै बेलुकीको खाना छिमेकी काकीकहाँ गएर खाँदै गर्दा काकीले प्रश्न सोधिन्:- परिक्षा भोलि हैन?
हर्कसिँहले भन्यो:- हो!
काकी:- पढिसकिस् होला नि हैन?
हर्कसिँहले रवाफ झार्दै भन्यो:- आ! काकी यस्तो जाबो परिक्षा त अहिले लियो भने पनि सयमा सय दन्काईदिन्छु ।
उसको त्यो साहस देखेर काकी भन्न लागिन्:- लौ न ए हर्क, भाईलाई पनि बाटो लाईदे न भन्या! ठ्याप्पै पढ्दै पढ्दैन। जाँच नआईकन त पढ्नै हुँदैन जस्तो गर्छ।
हर्कसिँहले मनमनै आफूलाई सराप्दै भन्यो: त्यसरी त कहाँ हुन्छ र, अगाडिदेखिनै तयारी गर्नुपर्छ। परिक्षामा त यसो रिभाईज मात्रै गर्ने हो । म सम्झाईदिन्छु। लाईन लाउने जिम्मा मेरो भयो।
खाना खाईसकेपछि हर्कसिँह कोठातिर लाग्यो । यतिबेला रातको आठ बजिसकेको थियो। किताब पल्टायो र यसो पढ्न थाल्यो:- हाईड्रोजन, हिलियम, लिथियम, बेरेलियम,.....
ला! यसपछिको त पाना नै रैनछ, किताबमा! कुनचाहिँ असत्ति स्यालले च्यातेछ। हर्कसिँह मुर्मुरिँदै फतफतायो:- मेरो चाहिँ कलेज हुन्थ्यो भने किताब च्यात्ने विधार्थीलाई एक पाना च्याते बराबर लाख रूपैँया जरिवाना लगाउँथे।
समय गुज्रिँदै थियो भने समस्या विकराल बन्दै थिए।
पढ्ने सामग्री बेलैमा भेला नपार्दा समस्या भएको उसले नबुभेको पनि हैन। हरेक पटक यस्तै समस्या भोग्दै आएको पनि हो। परिक्षा दिने बेलामा अबको अर्को पटक त पक्कै पनि बेलैमा नोट बनाउँछु; अनि सबै रटेर पानी बनाउँछु भनेर सोचेपनि परिक्षा सकेपछि अघिको निश्चयहरू बिर्सिहाल्छ।
छेपारालाई जाडोको रातमा अति नै जाडोले पिरोल्दा भोलिपल्ट त बिहानै उठेर घर बनाउँछु, जाडोले त सक्ने भयो नत्र भनेर सोच्छ तर भोलिपल्ट बिहान घाम उदाईसकेपछि घामको न्यानोपनले रातिको निश्चय गरेका कुरा बिर्सिएझैँ उखान हर्कसिँहमा चरितार्थ हुने गरेको छ।
घडीले एघार बजाएपछि हर्कसिँह सुत्ने तरखर गर्दै भोलि बिहान चार बजे नै उठेर पढ्ने निश्चय गर्दै अलार्म सेट गरी सुत्छ । संयोग त के परेछ भने अलार्म घडीको स्पिकर बिग्रेको रहेछ! बिहान बज्दै बजेन। हर्कसिँहको आँखा खुल्दा साढे छ भईसकेको रहेछ। अलार्मघडी नबजेको कारण उठ्न ढिला भएको हुँदा घडीलाई उचालेर भुईँतिर पछार्दै हतार हतार हातमुख धुन बाथरूमतिर कुद्छ। नित्यकर्म सकेर आउँदा सात बजिसकेछ।
अब रह्यो एक घण्टा ।
हतार हतार लुगा लगाएर प्रवेशपत्र बोकेर परिक्षा केन्द्रतिर लाग्छ । बाटोमा गणेशजीको मन्दिर पर्थ्यो। अरूबेला खासै मन्दिर नछिर्ने हर्कसिँह मन्दिर पसेर भाकल गर्न लाग्यो:- हे विनायक! मलाई पास गराईदेउ । म बरू एक किलो लड्डु चढाउँछु। विनायकलाई यति घुस टक्र्याउने बाचा कबुल पश्चात पास हुनेमा निश्चित भई परिक्षा भवनतिर प्रवेश गर्यो।
अरू साथीहरू किताब पल्टाएर पढिरहेका देख्दा मनमनै हाँस्दै भन्न लाग्यो:- के बेवकुफ भएका हुन्; मैरे जसरी यसो भगवानलाई यति चढाउँछु भनेर भन्दिए त भैगो नि!
सबेको अनुहारमा डर त्रास देखिईरहँदा उ भने निश्चिन्त थियो।
जनाउ घन्टी बज्यो ।
सबैजना आफ्नो प्रवेशपत्र बोकेर आआफ्नो सिटमा गएर बसे। उत्तरपुस्तिका बाँडियो । प्रश्नपत्र पनि आयो। अब प्रश्नपत्र पढ्नुपूर्व हर्कसिँहले प्रश्नपत्र ढोग्दै पढ्न लाग्यो।
ला! त्यही हाईड्रोजन हिलियम भएको प्रश्न पो आएछ। पढ्न त खोजेकै हो, किताबमै रैनछ।
अरू प्रश्न पनि क्रमैसंग हेर्न थाल्यो । यो पनि आउँदैन, त्यो पनि आउँदैन । जम्मा दुई अंकको एउटा चित्र मात्र पो आउँदो रैछ । अब भने परिक्षामा बढीमा दुई र घटीमा शुन्य आउने निश्चित भयो ।
उसले मनमनै भन्यो, " अलि धेरै लड्डु चढाउँछु भन्नुपर्ने रैछ, भगवानलाई थोरै भएछ । के थाहा त"
सबै लेखिरहेका थिए, हर्कसिँह भने कलम टोक्दै बसिरहेको थियो। पढिँन र आज यो दशा भयो भन्ने चेतना आउनुभन्दा पनि लड्डु थोरै चढाउँछु भनेकोमा बढी पछुतो भईरह्यो।
- सौगात भट्टराई