आँखा सुख्खा हुने समस्या : कारण, लक्षण र बच्ने उपाए

आँखा सुख्खा हुने समस्या : कारण, लक्षण र बच्ने उपाए

डा बिडी चौरसिया 

गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ।

यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस्या हुने गर्छ। जसमध्ये आँखा सुख्खा हुने समस्या धेरै मानिसमा हुन्छ। चाहे त्यो खेतमा काम गर्ने किसान होस, फयाक्ट्रीको मजदूर वा अफिसमा काम गर्ने कर्मचारी।

आँखा सुख्खा हुने समस्यालाई ड्राई आई भनिन्छ। यो समस्या काम-काज गर्ने लगभग सबै मनिसमा प्राय: गर्मीको मौसममा हुने गर्छ। यदि यो समस्या बढ्दै गएमा हरेक काम-काजमा नकारात्मक असर हुन सक्छ। त्यसैले यसको कारण बुझ्नु धेरै महत्वपूर्ण छ। धेरै कारणमध्ये  गर्मीको मौसममा देखा पर्ने मुख्य कारण यस प्रकार छन्:
•    घामको चर्को प्रकाश
•    हावा-हुरी वा धुलो-धुवाँ
•    चश्मा नलगाई मोटरसाइकल चलाउनु
•    कम्प्युटर/ल्यापटपमा एकोहोरो ढङ्गले लामो समय काम गर्नु
•    एसी भएको कोठामा बढी समय बिताउनु

यी कारणहरु प्राय: मानिसले आ-आफ्नो काम-काजमा हरेक दिन सामना गर्नुपर्छ। किनभने यी कुराहरु हाम्रो जीवनको र काम-काजको महत्वपूर्ण हिस्सा भएकोले यसलाई पूर्ण रुपमा हटाउन सम्भव छैन।  सबै मानिसहरु आ-आफ्नो काम-काजमा व्यस्त भएको कारण प्रारम्भिक चरणमा सामान्य लक्षणमा ध्यान हुँदैन तर लामो समयसम्म यो समस्या हुँदै जाँदा विभिन्न किसिमका लक्षणहरु हुने सम्भावना हुन्छ। जस्तै:
•    आँखा पोल्नु
•    आँखा बिझाउनु (आँखाभित्र केही पसेको महसुस हुनु)
•    पटक-पटक आँखा माँडिरहनु वा आँखा रातो हुनु
•    बत्ती वा घामको उज्यालोमा हेर्न गाह्रो हुनु
•    आँखा थाकेको जस्तो महसुस हुनु
•    आँखामा अचानक आँसु आउनु  इत्यादि।

यदि यस्तो समस्या लामो समयसम्म भएमा यसको नकारात्मक असर दैनिक काम-काजमा पर्ने देखिन्छ। जस्तै: काममा मन नलाग्नु, काम गर्ने क्षमता घट्नुको साथै मानसिक तनाव र आँखा कमजोर हुने सम्भावना हुने गर्छ। त्यसैले यो समस्यालाई समयमै रोक्न वा कम गर्नलाई विभिन्न किसिमका उपाय अपनाउन सकिन्छ। जस्तै:

•    आँखालाई घामबाट बचाउने चश्मा 
घर बाहिर कुनै पनि काम गर्न जाँदा आँखालाई घामबाट बचाउने चश्मा लगाउन जरुरी हुन्छ।  किनभने यसले घामको किरण सिधा आँखामा पर्न दिँदैन र हावा-हुरीबाट पनि आँखालाई बचाउँछ। मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा चश्मा लगाउनुपर्छ। खेतमा काम गर्ने किसान वा मजदूरले घामको किरण सिधा आँखामा पर्न नदिने किसिमको टोपी लगाउँदा आँखामा घामको जोखिम कम हुने सम्भावना हुन्छ।

•    पानी बढी मात्रामा पिउने 
गर्मीको मौसममा शरीरमा पानीको मात्रा कम हुन्छ, जसले गर्दा आँखाका साथै शरीरमा पनि विभिन्न किसिमका समस्या हुन्छ। यसबाट बच्न शरीरलाई चाहिने पर्याप्त (कम्तीमा ३-४ लिटर प्रतिदिन) पानी पिउन जरुरी हुन्छ।

•    स्वस्थ खाना र फलफूल खाने
सबैलाई थाहा भएकै कुरा हो, आँखालाई स्वस्थ राख्न हरियो साग-सब्जी, फलफूल, अण्डा, माछा, बदाम इत्यादि खानुपर्ने हुन्छ। यो कुरा गर्मीको मौसममा बढी ध्यान दिनुपर्ने हुन्छ।

•    आँखालाई नियमित आराम दिने 
कम्प्युटर/ल्यापटपमा काम गर्ने व्यक्तिले नियमित रुपमा आँखा झिम्क्याउने वा आँखा चिम्लेर केहीबेर आराम गर्नुपर्छ। जसले आँखामा आँसु बनाउन मद्दत गर्छ र आँखा सुख्खा हुनबाट बचाउँछ। आँखा र शरीरलाई स्वस्थ राख्नको लागि राति राम्रो निद्रा आउन जरुरी भएकोले दिनभरिको तनाव र मोबाइललाई टाढा राखी सुत्ने गर्नुपर्छ।

•    आँखामा आँसुको मात्रा बढाउने
सफा कपडा वा रुमाललाई मनतातो पानीमा भिजाएर आँखा सेक्ने र आँखालाई हल्का मालिस गर्ने। यसले आँखामा आँसुको मात्रा बढाउन मद्दत गर्छ। आँखालाई अनावश्यक रुपमा माँड्नु हुँदैन। पटक-पटक पानीले पखाल्दा आँखा झन्-झन् सुख्खा हुँदै जाने सम्भावना हुन्छ।

यदि आँखाको समस्या धेरै दिनदेखि छ वा दैनिक काम-काजमा नकारात्मक असर गर्दैछ भने आँखामा आँसुको मात्रा कम हुन नदिन र आँखा सुख्खा हुनबाट बचाउन आफ्नो नजिकैको आँखाको डाक्टरलाई  जँचाउनुपर्ने हुन्छ। गर्मी मौसममा यी उपायहरुलाई ध्यानपूर्वक अपनाउनु जरुरी छ। आँखाको साथै आफ्नो शरीरलाई पनि स्वस्थ राखौं र काममा मन लगाएर अगाडि बढौं। स्वस्थ रहौँ, सुखी रहौँ।

(डा चौरसिया आँखा रोग विशेषज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्