संघ भन्दा प्रदेश अगाडी, ९६ स्थानीय तहमा ‘कन्ट्याक्ट ट्रेसिङ’ टिम स्वास्थ्य विभागले परिचालन गर्दै

संघ भन्दा प्रदेश अगाडी, ९६ स्थानीय तहमा ‘कन्ट्याक्ट ट्रेसिङ’ टिम स्वास्थ्य विभागले परिचालन गर्दै

नवराज कट्टेल
विराटनगर । कोरोना भाईरस संक्रमित व्यक्ति सम्पर्क पहिचानका लागि संघको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङको टोलि परिचालन गर्नु अगावै प्रदेश १ मा त्यस्ता स्वास्थ्यकर्मी सम्मिलित टिमहरु परिचालन गरिएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले संघीय सरकारले स्वास्थ्यकर्मी खटाउनु भन्दा अगाडी देखिनै स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङका लागि टिमहरु गठन गरिसकेको हो ।


स्वास्थ्य मन्त्रालयले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ३ देखि पाँचजनासम्मको टोलि परिचालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागका विज्ञ डा.रोशन पोखरेलका अनुसार गाउँपालिकामा ३ जना सम्मिलित एउटा, नगरपालिकामा ५ जना सम्मिलित एउटा तथा उपमहानगर र महानगरमा पाँचजना सम्मिलित २ देखि ३ वटासम्म टोलिहरु परिचालन गरेर संक्रमित व्यक्तिको सम्पर्कमा रहेका संभावित संक्रमणको जोखिम पहिचान गर्ने काम अगाडी बढाउने तयारी भएको जानकारी दिनुभयो । संघले गठन गर्ने यस्ता टिममा सामुदायिक स्वास्थ्य, स्वास्थ्य स्यम्सेविका तथा स्थानीय तहका स्वास्थ्यकर्मीहरु रहने उल्लेख गरिएको छ । यस्तो टोलि एक हजार हुनेछन् ।
तर, प्रदेश १ का १३७ स्थानीय तहमध्ये ९६ स्थानीय तहमा यस्तो टिम प्रदेश सरकारले परिचालन गरिसकेको छ । सबै स्थानीय तहका स्वास्थ्य प्रतिनिधिको संयोजकत्वमा प्रदेश सरकारले परिचालन गरिसकेकोे टिम जस्तै संघीय सरकारले पनि गठन गर्ने निर्णय गरेको छ । तर, संघीय सरकारकले गठन गर्ने यस्ता टिमहरु जिल्ला प्रशासन कार्यालयको समन्वयमा रहने बताइएको छ ।
प्रदेश सरकारले १३० वटा यस्ता टिम परिचालित गरेर अहिले कन्ट्याक्ट ट्रेसिङको काम गरि रहेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार प्रदेशका तीनवटा ल्याबहरुमा पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाबका नमूनामध्ये ९० प्रतिशत कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान गरिएका सम्पर्क व्यक्तिहरुका हुन् । डा.मेहताले अगाडी थप प्रष्ट पार्दै भन्नुभयो–भारत वा तेस्रो मुलुकबाट नेपाल आएर क्वारेन्टीन बसेका र संक्रमितको सम्पर्कमा रहेका संभावित जोखिम भएका नागरिकको एकै पटक स्वाब संकलनको वातावरण मिलाईएको छ ।
प्रदेश सरकारको प्राविधिक सहयोगमा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरेर स्वाब संकलनका लागि तेह्रथुम जिल्ला बाहेकका अन्य जिल्लामा बढी आवश्यक्ता देखिएका पालिकाहरुमा टिम गठन गरिएको हो ।
उदयपुरको भुल्के, झापाको दमक र धनकुटा जिल्ला अस्पतालमा देखिएको समुदायस्तरको संक्रमण नियन्त्रणपछि कोरोना भाईरस (कोभिड–१९) लाई क्वारेन्टीनमै सिमित राख्न स्थानीय तहमा आधारित कन्ट्याक्ट ट्रेसिङ्गको आवश्यकता महसुश गरिएको छ ।
संक्रमितमध्ये हालसम्म अधिकांश विदेशबाट नेपाल आएका छन् । विदेशबाट आएकाहरुको सम्पर्कबाट प्रदेश १ मा ३० जना संक्रमित छन् । प्रदेश १ मा बिहीबार साँझसम्म ४१९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जसमध्ये २२४ जना कोरोनामक्त भएर घर फर्किसकेका छन् ।

ओखलढुङ्गा सुरक्षित

प्रदेश १ का १४ जिल्लामध्ये ओखलढुङ्गा जिल्ला भने अहिलेसम्म कोरोनामक्त देखिएको छ । बिहीबारसम्मको तथ्यांकमा १७८ जना संक्रमितसहित झापा सबैभन्दा बढी प्रभावित जिल्ला मानिन्छ ।

 


प्रदेश १ मा ४१९ जना संक्रमित पुष्टि भईसक्दासम्म ओखलढुङ्गामा भने एकजना पनि संक्रमित नदेखिएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराई अनुसार हालसम्म ८१ पीसीआर परीक्षणका लागि स्वाब संकलन भईसकेका छन् । जसमध्ये २१ स्वाबको नतिजा मात्रै आउन बाँकी छ । ओखलढुङ्गाका विभिन्न ८ स्थानीय तहमा ७८ जना क्वारेन्टीनमा रहेका छन् । जसमध्ये ५४ जनाको स्वाब संकलन हुन बाँकी रहेको छ । स्वाब संकलन गर्न बाँकी रहेकामध्ये ४९ जना भारतबाट आफ्नो घर फर्केका नागरिक हुन् । (
बिहीबार साँझ मात्रै ४१ जना भारतबाट फर्कनु भएका नागरिकलाई हामीले सम्बन्धित स्थानीय तहमा पु¥याएका छौं, सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो–अहिलेसम्म सुरक्षित छौं, त्यतिकै सावधानी समेत अपनाएका छौं ।
ओखलढुङ्गाका ८ वटा स्थानीय तहमा ३९८ जना क्षमताको क्वारेन्टीन र जिल्ला अस्पतालमा ५ तथा सामुदायिक अस्पताल मिसनमा ६ बेड क्षमताको आईसोलेशन तयारी अवस्थामा राखिएको छ ।
ओखलढुङ्गा बाहेक संक्रमित देखिएपनि उपचारपछि निको भएपछि थप संक्रमित नभेटिएका जिल्ला समेत रहेका छन् । पाँचथरका १, ताप्लेजुङका ३, सोलुखुम्बुका १ धनकुटा ८, तेह्रथुम २ र संखुवासभाका २ संक्रमित निको भएका छन् । त्यस बाहेक थप संक्रमित यी जिल्लामा भेटिएका छैनन् । मोरङमा १०३ मध्ये १७, सुनसरीमा ६२ जनामध्ये २५, खोटाङ ४ जनामध्ये १, उदयपुर ४७ मध्ये ३१ र इलाम २ जना संक्रमित छन् ।  प्रदेश १ मा दशहजार ४४५ जन(ा क्षमताको ४२१ क्वारेन्टीन स्थल निर्माण गरिएको छ ।

पोजेटिभले ल्याबमा अलमल

प्रदेश १ मा दैनिक सरदर एक हजार भन्दा धेरै संख्यामा पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन हुँदै आएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर, कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिने परीक्षणमा ढिलाई हुने गरेको छ । अधिक पोजेटिभ देखिएको अवस्थामा परीक्षणमा ढिलाई हुने गर्दछ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भन्नुभयो–पोजेटिभ केसको क्रस परीक्षण गर्नुपर्ने हुँदा एउटै नमूनामा दोहोरो समय खर्चनुपर्छ ।

तीनवटा ल्याबले दैनिक तीनसयदेखि पाँचसय नमूनाको परीक्षण गर्ने क्षमता राख्ने गरेका छन् । तर, पोजेटिभ देखिएको अवस्थामा एउटै नमूनालाई दोहोरो परीक्षणबाट यकिन गर्नुपर्ने भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल प्रयोगशालाको अन्तिम परीक्षण नतिजा पुष्टि गर्न धरानस्थित विपी कोइरालामा पठाउनु पर्दछ ।
समाचार तयार पार्दासम्म प्रादेशिक प्रयोगशाला ४ हजार ९८० पीसीआर परीक्षण सकिएको छ भने होल्डमा रहेको नमूना २५० रहेका छन् । यसैगरी कोशीको ल्याबमा ६ हजार ८८४ परीक्षण र नमूना होल्ड ५०० तथा विपीमा ७ हजार ३५५ परीक्षण तथा नमूना होल्ड २०० रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्