बेलबारीका मेयर–उपमेयरलाई झोलामा करेला र चिनोमा फर्सी

बेलबारीका मेयर–उपमेयरलाई झोलामा करेला र चिनोमा फर्सी

विराटनगर । बेलबारी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गर्दै आएको कृषक पाठशाला समापन कार्यक्रममा अथितिलाई स्वागतमा करेला र मायाको चिनोमा फर्सी उपहार दिएका छन् ।
बेलबारी–४ इमानसिंह चौकस्थित प्रगतिशील महिला समुहले आयोजना गरेको कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी र उपमेयर ढाकाकुमारी पराजुलीलाई मञ्चमा बस्दा स्वागतमा करेला र हिड्ने बेलाको मायाको चिनोमा फर्सी उपहार दिएर बिदाई गरिएको हो ।


कार्यक्रममा निम्त्याइएका अथितिलाई महिला समुहका पदाधिकारीले सुरुमा झोलामा राखेको करेलाले स्वागत गरेका थिए । कार्यक्रम सकाएर फर्किने बेलामा मायाको चिनोमा फर्सी र फर्सीको टुप्पा (मुन्टा)ले बिदाई गरेका हुन् । उनीहरुले सम्मानका लागि स्वागत र बिदाईमा दिइएको तरकारी मेयर र उपमेयरले बोकेर घर फर्किएका थिए ।
बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षमा साझेदारीसहित ७१ लाख रुपिँया बराबरको लगानी कृषि क्षेत्रका लागि गरेको छ । तर, रकम थोरै भएपनि लगानी गर्नुपर्ने क्षेत्र छनौट गर्दा प्रभावकारितालाई अध्ययन गरिएका कारण साना सिंचाई, भकारो सुधार, बीउ उत्पादन, गड्यौला मल उत्पादन, बालि उपचार शिविर जस्ता कार्यक्रमले किसानलाई उत्साह थपिदिएको छ ।


नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीले कृषक समुहले आयोजना गरेको कृषक पाठशाला कार्यक्रममा कृषि उत्पादनबाटै स्वागत र बिदाईमा मायाको चिनो पाउँदा आफू भावुक भएको बताउनुभयो । कृषकको कार्यक्रममा खादा र माला किनेर लगाउनु पर्छ भन्ने मान्यता तोड्न जरुरी थियो, उपमेयर पराजुलीले भन्नुभयो–सबै कार्यक्रममा खर्च घटाउन सिर्जनशील बन्नुपर्छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख बिनोद दाहालले सिमित बजेटले कृषकमा उभार पैदा गर्न सकिएको बताउनुभयो । उहाँले आवश्यकता धेरै भएपनि गरिएका कार्यक्रमको परिणामले सफलता पाएको दावी गर्नुभयो ।

कृषक पाठशालामा किसानलाई खेतमै अर्गानिक खेती, बिषादीरहित किटनाशाक औषधीको प्रयोग, सिंचाई प्रवन्ध र गड्यौला मलको उत्पादन र प्रयोगमा जोड दिईने गरिएको छ । बेलबारी नगरपालिकाले ११ वडामा नै गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेको छ । त्यस बाहेक तत्काल सिंचाई व्यवस्थापनका लागि बोरिङ सुविधा उपलब्ध गराउने गरिएको छ ।
कृषक पाठशाला सञ्चालनपछि चार महिनामा महिला समुहले गरेको खेतिको अनुगमन गर्न मेयर र उपमेयर कृषकको खेतमै पुग्ने गर्नु भएको छ । प्राविधिकसहित मेयर र उपमेयरले खेति अनुगमन गरिदिँदा कृषकलाई हौसला थपिने विश्वास राखिएको छ ।
महिला समुहहरु निर्माण गरेर खेति गर्नका लागि कृषक पाठशाला सञ्चालन गरिन्छ । कृषि प्राविधिकहरुले यस्तो पाठशाला खेतमै किसानसँग सञ्चालन गर्नेछन् । प्राविधिकको भनाईका आधारमा किसानहरुले खेति लगाउँछन् र त्यसको रेखदेख हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्