विराटनगरका सडकमा फोहोर बहाकका पीडा : रोग र भोकसँग पौँठेजोरी

विराटनगरका सडकमा फोहोर बहाकका पीडा : रोग र भोकसँग पौँठेजोरी

एन्जु शिवाकोटी
विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् ।

हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । उनले प्लास्टिकको झोलामा केही थान कपडा समेत बोकेको देखिन्थ्यो । उनी शहरमा फ्याँकिएका प्लास्टिकजन्य वस्तु टिप्ने फोहोर बहाक हुन् या मानसिक रोगले ग्रसित रोगी भन्ने छुट्याउन गाह्रो थियो ।

तर, उनी बसेको वरिपरि झट्ट हेर्दा भुजा छरिएको र नजिकै कालो प्लास्टिक समेत रहेको देखिन्छ । त्यसैले उनले केहि भेटिन्छ की भनेर प्लास्टिकको झोला बोकेका या भुजा खाएर फ्याँकेको, यकिन हुन गाह्रो थियो ।
उनलाई धेरैले सधैं फ्याँकिएका बोतल टिप्ने मानिसको रुपमा देख्छन् तर फोहोर बहाक भनेर सम्मान भने गर्दैनन् । असारे झरीले नछेक्ने उनलाई सडकका बोतल टिप्नु बाहेकको बिकल्प थिएन । भोको पेटका लागि उनी दिनभरी सडकमै पौठेजोरी खेल्न बाध्य छन् ।


सडकमा ओहोरदोहोर गर्ने धेरै मानिसको जस्तै मेरो नजर समेत उनीमा प¥यो । सोचें, कोरोना संक्रमणले थलिएर ठूला व्यवसायीले बारम्बार मारमा परेको दोहो¥याउँछन्, कवाडी टिप्दै हिड्नेका के दिन भए ? कोरोना संक्रमणसँगै लकडाउनले सिर्जना गरेको अभाव झेल्न के–के खेप्नु प¥यो । त्यहि पनि खुकुलो भएको लकडाउन छिचोल्दै हिलोमा उनले टिपेका कवाडी सामान बेचेर छाक टार्ने आसा मारेका छैनन् ।
विराटनगरका सडकबाट कवाडीमा बिक्री हुने वस्तु टिप्ने उनी मात्रै एक्का हैनन् । दैनिक शहरमा हिड्नेहरुको संख्या धेरै छ । तर, १० देखि १५ जनाको अवस्था निक्कै नाजुक रहेको जानकारहरु बताउँछन् । मानसिक रोगबाट थपिएका झैं देखिने उनीहरु खास ठेगाना खुलाउँदैनन् ।
उनीसँग कुनै कुरा सोधखोज गर्न समेत सक्ने अवस्था छैन । किनकी उनले बोल्न कर लगाउँदा मानिसहरुलाई खेदाउँछन् र नजिकै भेटिएका ढुङ्गा र इँटाले टिपेर हिर्काउछन् ।

प्रदेश १ मा मानसिक रोगबाट ग्रसित भई घर तथा अभिभावकबिहीन भएका नागरिकको उद्धार र संरक्षणका लागि प्रदेश सरकारले कार्यक्रम सुरुवात गरेको छ । तर, फोहोर उठाउँदै हिड्नेहरुको स्वास्थ्य उपचारदेखि उनीहरुको अवस्थाको विषयमा कसैले चिन्ता लिइएको देखिदैन ।
मानव सेवा आश्रम विराटनगरले मानसिक समस्याले घर तथा परिवारको सहाराविहीन भएर सडकमा भौंतारिन बाध्य नागरिकको उद्धार, उपचार र संरक्षणपछि पुर्नस्थापना गर्दै आएको छ । मानव सेवा आश्रम विराटनगरका प्रमुख नवराज केसीका अनुसार अहिलेसम्म प्रदेश १ का विभिन्न शहरबाट ५० जना नागरिकलाई उद्धार गरेर संरक्षण गरिसकेको छ । उद्धार तथा संरक्षण गर्नेहरुको प्राथमिकताको सूचिमा महिला तथा बालबालिकालाई राखिएको छ ।
रातीराती सडकमै बस्नुपर्ने बाध्यता रहेका नागरिकहरुलाई मात्रै वेवारिसे मानसिक रोगीको सुचीमा राखिएको आश्रमका प्रमुख केसीको भनाई छ । साँच्चै समस्यामा परेका नागरिकको पहिचान गरि उनीहरुको उपचार तथा संरक्षण र पुर्नस्थापनाको काम गर्दै आएपनि सरकारी निकायले कुनै चासो नराखेको केसीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्