छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

रबिन्द्र बराल
रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो ।
दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा उपचारका लागि ल्याइयो । चिकित्सकले बालकको छातिको भित्री भागमा पिप जमेको गिर्खा रहेको भन्दै हप्ताहप्तामा सफा गर्नुपर्ने सुझाव दिए । परिवारले चार महिनासम्म त्यसै गरिरहे ।


तर, चार महिनापछि सिटी अस्पतालका चिकित्सक डा.सित्तल यादवले भने–बालकको छातीमा ट्यूमर छ, उपचार यहाँ संभव छैन ! त्यसपछि बुबा झरिलाल र आमा कलासीदेवी पासवान अत्तालिएका छन् । चार महिनासम्म उपचारका लागि आफ्नो १५ धुर जग्गा र घर समेत धितो राखिसकेका उनीहरुलाई थप उपचारका लागि रकम कहाँबाट जुटाउने भन्ने कुराले अत्ताल्याएको हो ।

सिटीले आफ्नो अस्पतालमा उपचार संभव नै नभएको बताउँदा उनीहरुले ढेड लाख रुपैँया खर्च गरिसकेको सुनाउँछन् । कान्ति बाल अस्पताल काठमाण्डौं लैजानु भनेका छन्, बुबा झरिलालले भने–खर्च कसरी जुटाउने सपना जस्तै भएको छ । अस्पतालका चिकित्सकले चार महिनापछि उपचार संभव नभएको बताएपछि उनीहरुका लागि थप रकम जुटाउनुपर्ने विकल्प समेत सकिदै गएका छन् ।
छोराको उपचारका लागि अहिले घरलौरी सहयोग माग्दै हिडेंका झरिलाल र कलासीसँग दैनिक जीवन गुजार्नुपर्ने विकल्प पनि धेरै छैनन् । मेलापात र दैनिकी ज्यालादारी गरेर पालिदैं आएको परिवार अहिले कष्टमा परेको हो । छोराको रोग निको पार्न र जीवनको भोक मेट्न समस्या परेपछि पीडित बनेको परिवारले सबैसँग सहयोगको आसा राखेको छ ।

उपचार नै संभव नभएको विराटनगरको सिटी अस्पतालका चिकित्कस यादवले चार लाख रुपिँया थप खर्च हुने जानकारी अभिभावकलाई गराएका छन् । तर, आफैं उपचार गराउँदा निको नभएकोले पैसा छुट दिने कुनै कुरा गरिएको छैन । गाउँघरमा हारगुहार गर्दै उनीहरुले अलिअलि रकम जुटाउँदै आएका छन् । दुःख देखेर सुनवर्षि–२ का वडा अध्यक्ष प्रताप तामाङले ५ हजार ५०० रुपैँया सहयोग गरेको झरिलाल बताउँछन् ।
छोरा निको होला भनेर घर धितो राखेर उपचार गरायौं, पैसा सकिएपछि निको हुन्न भनिदिए, आमा कलासी पासवानले भनिन्–अब कसरी पैसा जुटाउनु र छोरोको उपचार गर्नु ? सिटीले सुभाषको छातीको घाउमा ब्याण्डेज लगाएको छ, उनको घाउबाट पिप बगिरहेकोले पाइप जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्