सामाजिक सुधारक साख्वाको स्मारक ओझेलमा

सामाजिक सुधारक साख्वाको स्मारक ओझेलमा

एन्जु शिवाकोटी
विराटनगर । गरिब जनताले लिएको ऋण तिरेर ऋणमुक्त बनाउने मात्रै नभई पशुपतिनाथको मन्दिरमा शुद्र जातिलाई प्रवेश गराउन पहल गर्ने सामाजिक सुधारक शंखरधर साख्वाको शालिक (स्मारक) भने ओझेलमा पर्दै आएको छ । नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय बिभूती साख्वाको विराटनगर–१० बाटा रोडमा रहेको स्मारक संरक्षण अभावले ओझेलमा परेको हो ।

बाटा रोड र बंगलामुखी मार्गको घुम्तिमा साख्वाको स्मारक छ । आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका अभियन्ता साख्वाको स्मारकमा सधैं फुलमाला हुनुपर्ने भएपनि नजिकै फोहोरको डङ्गुर देखिन्छ ।
न्यूरो अस्पताल नजिकै रहेका कारण उनको स्मारकसँगै जोडिएका सटरमा होटल तथा औषधी पसलहरु सञ्चालनमा छन् । राष्ट्रिय बिभूति साख्वाको महत्व नबुझाइएको कारण पसलबाट निस्कने फोहोर स्मारक कै लागि सडकमा थुपारिएको जस्तो देखिने गरेको छ । बाटा रोडमा न्यूरो अस्पतालका लागि आएका सवारीको पार्किङले स्मारक छेक्ने गरेको छ ।


नेपाल सरकारले २०५६ मंसिर २ गते साख्वालाई राष्ट्रिय बिभूती घोषणा गरेको थियो । उदार हृदयका उनी तत्कालिन कान्तिपुरको इलाछेंका व्यापारी थिए । व्यापारी भएपनि भादगाउँका जनताको ऋण उनले वि.सं. ९३६ ताका तिरेर ऋणमुक्त बनाएको भनाई छ ।
इश्वी संवत ८७९ अक्टोबर २० देखि नेपाल संवत प्रचलनमा ल्याउने व्यक्ति समेत साख्वा नै हुन् । तत्कालिन राजा राघवदेवको स्वीकृतीमा नेपाल संवत प्रचलनमा ल्याइएको थियो । साख्वाको योगदानको कदर गर्दै राघवदेवले कुनै प्रस्ताव राख्न भनेका थिए । उनले शुद्र जातिलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न स्वीकृति राजासँग मागेको भनाई छ ।

राष्ट्रिय बिभूती साख्वाको प्रतिमा देशका विभिन्न ठाउँमा निर्माण भएका छन् । नेपाल संवतको अवसरमा प्रायः सम्झने गरिएका राष्ट्रिय बिभूतीको प्रतिमा छ भन्ने विराटनगरवासीलाई भने थाहा नहुन पनि सक्छ । झीःपुच विराटनगरले २०६२ पौष २७ गते राष्ट्रिय बिभूतीको प्रतिमा अनावरण गरेको थियो । झीः पुच विराटनगरका संस्थापक तोरेन्द्र मानसिंह प्रधानले उपलब्ध गराएको जग्गामा उनको प्रतिमा बनाइएको हो ।

निर्माणपछि झीःपुच विराटनगरले प्रतिमाको संरक्षण गर्दै आएको छ । त्यति मात्रै नभई बाटा रोडलाई शंखधर साख्वा मार्ग राख्नका लागि पहल भईरहेको झीःपुचका उपाध्यक्ष भवेश श्रेष्ठले जानकारी दिइएका छन् । वर्षमा एकपटक सरसफाई र माल्र्यापण गरेर साख्वाको सम्झना गरिदैं आएको श्रेष्ठले बताएका छन् । तर, स्थानीय सरकारले भने अहिलेसम्म साख्वाको महत्वलाई बुझ्न सकेको देखिदैन । महानगर क्षेत्रमा रहेको उनको स्मारक नजिकै फोहोर फाल्नमा रोक समेत लगाएको देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्