एन्जु शिवाकोटी
विराटनगर । असारको अन्तिम साता । मध्यान्हको समय । बाटा रोडको एउटा पसलमा म चिया खान छिरे । पसलेलाई दाई एक कप चिया बनाईदिनुन भनेर कुर्सिमा बसेर मोबाइल चलाउन थाले । एउटा सफारी पसल अगाडी आएर रोकियो । सफारी चालक सफारीबाट ओर्लेर चिया पसलतर्फ आए । मेरो अगाडी हँुदै अलिपर गएर कुर्सीमा बसे । ती व्यक्तिले पनि चियाको अडर दिए । त्यती बेलासम्ममा मेरो चिया आईपुग्यो । म चिया पिउन थाले ।
कसैले नानी भनेर बोलाएको सुने । मैले ती व्यक्ति तिर नजर लगाए । तिनी त्यहि सफारी चालक रहेछन् । उनले मलाई नै बोलाएका रहेछन् । मैले केही भन्न नपाउँदै उनले भने–छोरी त्यो तिम्रो छेउमा भएको पत्रिका मलाई देउ न । मैले पत्रिका दिए र फेरी आफ्नै सुरमा मोबाइल चलाउँदै चिया पिउन थाले । फेरी आवाज आयो लिनुहोस् पत्रिका । ती व्यक्तिले म तिर पत्रिका अगाडी बढाए ।
उनी जस्तो नम्र स्वभावका र त्यती इज्जत दिएर अरुसँग बोल्ने मानिस कमै भेटिन्छन् । उनको बोली जस्तै अनुहार पनि नम्र र हँसिलो देखिन्थ्यो । आज भोलि मानिसमा नम्रपन भेटाउन गाह्रै पर्छ । रुखो बोली र ठाडो भाषाले बोलाउने सहरको भिडमा उनको त्यो स्वभावलाई मेरो सम्मान छ । उनीले मसंग धेरै गफ न गरे पनि उनको दुई शब्दले मेरो मन छोयो । उनको त्यो शिष्ट भाषा र स्वभावले मलाई उनीसंँग कुरा गर्न मन लाग्यो ।
लखनलाल मण्डल नाम गरेका उनी विराटनगर महानगरपालिका–१२ का रहेछन् । ६८ बर्षका उनी विराटनगरमा सिटी सफारी सञ्चालमा आएदेखिका सफारी चालक ।
१२ जनाको उनको परिवार उनको कमाइले चलिरहेको छ । ७ जना सन्तानका बाबु रहेका मण्डल सबैसँग राम्रो व्यवहार गर्छन् । उनी भन्छन्, ‘रुखो बोली बोलेर को ठूलो भएको छ र !’ ‘राम्रो व्यवहार गरे सबैले राम्रो व्यवहार गर्छन् ।’ ‘मान्छेको अगाडी त सबैले राम्रो भन्छन् तर अनुपस्थितिमा पनि राम्रो भन्न सके मात्र त्यो मान्छे असल हो ।
पढाइमा धेरै रुचि भएका मण्डल पढेर राम्रो जागिर खाने र खुसीसाथ जीवन बिताउन चाहन्थे । गरिबीले उनको पढाईलाई एसएलसी सम्मको मात्रै यात्रा तय गरायो । त्यो भन्दा अगाडी पढ्न पाएनन् । उनले वि.सं.२०२६ सालमा रानी मिल्स माध्यमिक विद्यालयबाट एसएलसी. दिएका थिए ।
परिवारको जिम्मा उनीमाथि थियो । वि.सं. २०२८ सालमा उनी प्रहरी जवानमा भर्ती भए । पढ्न नपाए पनि प्रहरी भएर काम गर्न पाएकोमा उनी निकै खुसी थिए । महिनाको ७ हजार तलवले उनको परिवार जेनतेन चलिरहेको थियो । सबै खुसी थिए । तर उनको त्यो खुसी २ बर्ष नपुग्दै सकियो । पारिवारिक समस्याका कारण उनले प्रहरीको जागिर छाड्न प¥यो ।
गुजराको लागि कामको खोजिमा भौतारिदै विराटनगरको नगर पञ्चायतमा सहायक कर्मचारीका रुपमा काम गर्ने पुगे । त्यहाँ उनलाई महिनाको १५० रुपैयाँ तनखा मिल्थ्यो । जुन पैसाले उनको परिवारलाई दुई छाक खान पुग्दैन थियो । त्यसैले २ महिनापछि त्यहाँको काम छाडेर रानी गोल्छा हाउसमा काम गर्न थाले । केही समय काम गरेपछि त्यहाँ पनि काम गरिरहने माहौल बनेन । त्यसपछि उनले अँधिया कुतमा खेती गर्न थाले । समय कछुवाको तालमा चलिरहेको थियो । एक रुपैयाँ दुई रुपैयाँ गर्दै पैसा जम्मा गरेर एउटा रिक्सा किने ।
उनी भन्छन्,‘ त्यो समय रिक्सा, रिक्सा थिएन मेरो लागी भगवान थियो ।’ ‘मेरो जीवनको मोड थियो ।’ ‘सायद म तेती खुसी कहिले भइन जति रिक्सा किनेको दिन भएको थिएँ ।’
जीवनमा आएको गाह्रो परिस्थितिमा पनि धैय राखेर कर्म गर्न कहिल्यै छाडेनन् मण्डलले । उनी भन्छन्, ‘सोचे जस्तो त कसको जीवनमा पो हुन्छ !’ ‘मैले आफ्नै जीवनबाट सिकेको शिक्षा परिस्थिति जस्तो भएनी खुसी हुन सक्नु गर्छ र कर्म गर्न कहिल्यै छोड्नु हुदैन जीत अवश्य आफ्नै पक्षमा हुन्छ ।’
रिक्साका पाइलासँगै उनको कपालको रंङ फेरियो र सेताम्य बन्दै गयो । उनीसँगै रिक्सा कुदाउने माहौल पनि बुढो हुँदै गयो । सिटी सफारी विराटनगरमा कुद्न थालेसंगै रिक्सा कुदाउने वातावरण हराउदै गयो । अन्त्यतः उनले रिक्सा बेचेर सफारी किन्न बाध्य हुनु प¥र्यो । उनी भन्छन्,‘रिक्सा बेचेको दिन मलाई मेरो भगवान बेचे झैँ लाग्यो ।’ ‘यदी म रिक्सा बेच्दिन थिए त मेरो परिवारको गुजरा कसरी गर्थे ।’