संक्रमित आफैं गर्छन्, अस्पताल सफाई

संक्रमित आफैं गर्छन्, अस्पताल सफाई

विराटनगर । गत हप्ता उद्योग संगठन मोरङको सभाहलमा कोरोना संक्रमण र त्यसको रोकथाममा कसरी अगाडी बढ्न सकिन्छ, ? सुझावका लागि सामाजिक विकास मन्त्रालयले एउटा छलफल आयोजना गरेको थियो । समुदायस्तरमा संक्रमण फैलदैं जाँदा जोखिम न्यूनीकरणमा के–के गर्ने भन्ने कार्यक्रमको मूल विषय रहेको थियो ।


कार्यक्रममा कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र विराटनगरमा सुरुकै दिनदेखि सक्रियतापूर्वक खटिरहनु भएका फिजिसियन डा.डेनप्रसाद आचार्यले एउटा तर्क राख्नुभयो–कोरोना संक्रमण पोजेटिभ देखिएको तर लक्षण नदेखिएको व्यक्ति बिरामी हैन संक्रमित मात्रै हो, घरपरिवार र समाजमा संक्रमण सार्नसक्ने जोखिम न्यूनीकरणका लागि उसलाई आईसोलेटेड गरिएको हुन्छ ।

कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नदेखिने व्यक्तिले आफ्नो व्यक्तिगत सरसफाईदेखि सुत्ने बेड, खाएको प्लेट, बाथरुमको सफाई आफैं गर्नुपर्ने डाक्टर डेनले कार्यक्रममा सुझाउनु भएको थियो । कुनै सफाई कर्मचारीलाई जानीजानी संक्रमितले खाएको प्लेट टिपाउन पठाउन मिल्छ ? डाक्टर डेनले आफ्नो तर्क राख्दै भन्नुभयो–जीवन त उसको पनि उतिकै मूल्यवान् छ ।

त्यहि कार्यक्रममा डाक्टर डेनले सुरक्षा निकायका व्यक्तिहरु अस्पताल भर्ना हुँदा सहज हुने तर अलिअलि पढेलेखा व्यक्ति भर्ना भए उसले बहुत नबुझे जस्तो गरेर सरकारलाई दोष थोपर्ने गरेको धारणा राख्नु भएको थियो ।

अहिले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आईसोलेशन अस्पतालमा सुरक्षा निकायमा आवद्धहरुले गरेको कामले डाक्टर डेनको भनाईलाई पुष्टि गरिदिएको छ । सशस्त्र प्रहरी र जनपद प्रहरीका सदस्य संक्रमित भएर भर्नाभएपछि पीयूको बाहिरी र भित्री परिसर नै फेरिएको छ ।

दैनिक सुरक्षा निकायका व्यक्तिहरुको संख्या थपिदैं जाँदा पीयूको आइसोलेशन अस्पतालको भित्री परिसरको सफाई, सेनिटाजिङ, शौचालय तथा बाथरुमको सफाई, संक्रमित बिरामीले प्रयोग गरेका जुठा प्लेट र निस्केको फोहोरको व्यवस्थापन उनीहरुले आफैं गर्ने गरेका हुन् ।

ब्यारेक झैं स्वरुपमा परिणत भएको पीयूको आइसोलेशन अस्पतालमा ६७ जना सुरक्षा निकायका व्यक्तिहरु रहेका छन् । उनीहरु लक्षणबिहीन संक्रमित हुन् । भर्ना भएकामध्ये ४९ जना सशस्त्र प्रहरी र १८ जना नेपाल प्रहरी छन् । आइसोलेशनमा जम्मा १०३ जना उपचारततः रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजका डिन डा.शैलेशमणी पोखरेलले जानकारी दिनुभयो ।

सुरक्षा निकायमा सम्वद्धहरुको संख्या बढ्दै जाँदा अस्पताल व्यवस्थापनमा सहज भएको छ । अन्य नागरिक संक्रमित भएर अस्पतालमा भर्ना हुँदा यस्तो भएन र उस्तो भएन भन्नै अनावश्यक आलोचना गर्ने भएपनि सुरक्षा निकायका व्यक्तिहरु भर्ना हुँदा अस्पताल व्यवस्थापनमा सहयोग गर्दै आएका हुन् ।

खाना खाईसकेपछि फ्याँक्नुपर्ने प्लेट, पानी प्रयोग गरेका ग्लास तथा आफु सुतेको बेडको सरसफाई, आफुले प्रयोग गर्ने शौचालयको सरसफाई, बाथरुमको सरसफाई आफैं गर्नुपर्ने हुन्छ । अन्य व्यक्तिले सरसफाई गरे उनीहरुमा संक्रमण सर्ने जोखिम भएका कारण सामान्य अवस्थामा रहेका संक्रमितले आफैं गर्नुपर्दछ ।

पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४५२ जना भर्ना भईसकेका छन् । लक्षणबिहीन संक्रमितलाई यहाँ भर्ना गरेर उनीहरुको स्वास्थ्यको हेरचाह गरिने गरिएको छ । भर्ना भएकामध्ये ३४१ जना डिस्चार्ज भईसकेका र ८ जनालाई रेफर गरेर वीपी तथा कोशीको कोभिड–१९ उपचार केन्द्रमा पठाइएको छ । पीयूको आइसोलेशनमा संक्रमित पुरुषलाई मात्रै भर्ना गरिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्