दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्यो तनहुँ जिल्ला

दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्यो तनहुँ जिल्ला

–सानेबहादुर नेपाली

दूध, अण्डा र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बन्दै गएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ ।

राष्ट्रिय मापदण्डअनुसार तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ । नेपालको राष्ट्रिय मादपण्डअनुसार दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति वर्षिक ९१ लिटर उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १५२ लिटर दूध उपलब्ध भइरहेको छ ।

त्यस्तै मासुमा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्डअनुसार वार्षिक १२.१४ केजी उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १४ दशमलव ०९ केजी मासु उपलब्ध भइरहेको छ । यसैगरी अण्डामा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्ड अनुसार प्रतिव्यक्ति वार्षिक ४८ अण्डा पुग्नेगरी उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक ४७ दशमलव १९ गोटा अण्डा उपलब्ध भइरहेको छ । जिल्लामा हाल दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँको कूल जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सक्षम भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । दूध र अण्डा जिल्लामा खपतभएपछि बढी भएको वस्तु बाह्य जिल्लामा निर्यात गरिँदै आएको छ । उहाँले भन्नुभयो, “मासु उत्पादनले बाह्य जिल्लामा निर्यात गर्न नसकिए पनि आफ्नो जिल्ला आत्मनिर्भर बन्न सफल भएको छ ।”

जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । बढी भएको दूध तनहुँ जिल्लाभन्दा बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

प्रमुख डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४÷०७५ भन्दा आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४८ हजार ३३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । तनहुँमा उत्पादित दूधमा भैंसीको योगदान बढिरहेको उहाँले बताउनुभयो । जिल्लामा एक लाख ४० हजार २०६ भैंसी, ९६ हजार ४४१ गाईपालन गरिएको छ । गाईभन्दा भैंसीपालन बढी भएकाले दूध उत्पादनमा भैंसीको योगदान धेरै रहेको छ ।

वार्षिक चार हजार ५२६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा राँगो र भैंसीबाट दुई हजार ९४९, खसी र बोकाबाट ९९६, भेडाबाट ४ दशमलव ५८, सुङ्गुुर र बङ्गुरबाट ३३७ दशमलव ४०, कुखुराबाट २६८ दशमलव ५६ र हाँसबाट एक दशमलव ०८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ ।

युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु भएको प्रमुख डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहबाट आएको विवरण र उत्पादन परिणाम हेर्दा जिल्लालाई चाडै दूध, अण्डा र मासुमा आत्मनिर्भर घोषणा गर्ने योजना छ ।” पछिल्लो समय जिल्लामा अण्डा व्यवसायी बढ्दै गएका कारण अण्डामा आत्मनिर्भर बन्दै गएको अण्डा उत्पादक सङ्घ तनहुँका महासचिव खेमराज अधिकारीले बताउनुभयो । जिल्लामा दैनिक दुई लाख अण्डा खपत हँुदै आएको छ । उहाँले भन्नुभयो, “बढी भएको अण्डा अन्यत्र निर्यात हँुदै आएको छ ।”

बन्दाबन्दीका कारण कुखुराका लागि आवश्यक पर्ने दाना आपूर्ति गर्न असहज भए पनि बन्दाबन्दी खुलेसँगै कुखुरापालन व्यवसाय सहज बन्दै गएको र अण्डा बिक्रीबाट पनि राम्रै आम्दानी हुन थालेको महासचिव अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्