इन्दु साह
विराटनगर । विश्वभर जनवरी महिनालाई ग्लुकोमा (जलबिन्दु) जागरूकता महिनाको रूपमा मनाइँदै गर्दा नेपालमा पनि यस रोगप्रति सचेतना बढाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।
विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ संजय कुमार साहका अनुसार नेपालमा ग्लुकोमा अन्धोपनको तेस्रो प्रमुख कारण बनेको छ। “दृष्टिको मौन चोर“ भनेर चिनिने यो रोगले बिना कुनै पूर्व लक्षण दृष्टिमा स्थायी क्षति पुर्याउन सक्छ। विशेषज्ञहरूका अनुसार नेपालमा यस रोगबारे जनचेतनाको स्तर मात्र २.३ प्रतिशत रहेको छ, जुन महिलाहरूमा झनै कम छ।
“४० वर्ष माथिका व्यक्तिहरूले वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गराउनु अत्यन्त जरुरी छ, डा. साहले भने– मधुमेह, उच्च रक्तचाप र परिवारमा ग्लुकोमाको इतिहास भएका व्यक्तिहरू उच्च जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०४० सम्ममा विश्वभर करिब ११२ मिलियन मानिसहरू ग्लुकोमाबाट प्रभावित हुने अनुमान गरिएको छ। नेपालमा गरिएको एक अध्ययनले दक्षिण–पूर्व क्षेत्रमा करिब २५ प्रतिशत ग्लुकोमाका बिरामीहरू पहिले नै दृष्टिहीन वा अन्धोपनको शिकार भइसकेको देखाएको छ।
स्वास्थ्य मन्त्रालयले यस महिना विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क आँखा परीक्षण शिविरहरू सञ्चालन गर्ने जनाएको छ। नेपाल दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशका सहसचिब समेत रहेका साहको अनुसार जनचेतना अभिवृद्धि र समयमै रोग पहिचान गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएका छन् ।
विशेषज्ञहरूले स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न र सन्तुलित आहार खान सुझाव दिएका छन्। साथै खेलकुद वा काम गर्दा आँखाको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरेका छन्।