प्रेम देवान
विराटनगर । विद्यालय बन्द भएको ५ महिना हुन लागिसक्यो । परीक्षाको मुखमा विद्यालय बन्द भए । बन्द हुनुको पछाडी कोरोना भाइरस (कोभिड १९) बन्यो । विराटनगरमा मात्र नभएर मुलुकभरका शैक्षिक संस्था यतिबेला बन्द नै छन् । स्कुल कलेज बन्द भएपछि आज धेरै विद्यार्थीहरुको भविष्य अन्यौल बन्दै गएको छ । अर्कोतर्फ लामो समयसम्म विद्यालय बन्द भएका कारण यतिबेला विद्यालयका आगन र भित्तामा झार र माकुराले जालो लगाईसकेका छन् ।
सरकारले कोरोना भाईरसको उच्च जोखिमका कारण गत चैत्र ११ गतेदेखी सबै शैक्षिक क्षेत्रका गतिविधि बन्द गर्न भनेपछी यतिबेला विद्यार्थीहरु घरमा बसेका छन् । ईन्टरनेट पहुँच हुने स्थानमा अनलाईन कक्षा संचालन भएता पनि ईन्टरनेट बाहिरका विद्यार्थीहरु घरमा नै बसेर पढ्न वाध्य भएका छन् भने कतिपय बालबालिका लकडाउनको सदुपयोग गर्दै आएका छन् । कोरोना भाईरस बढी देखिएको स्थानहरुमा स्थानीय सरकारले लकडाउन गरेको छ । हो, विराटनगरमा पनि कोरोनाका संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाले दोस्रो चरणको लकडाउन गरेको छ । यस अघि पनि लामो समयसम्म लकडाउन भएको थियो । विराटनगरमा आगामी भदौ ५ गते सम्म लकडाउन गरिएको छ ।
आम सर्वसाधरणलाई अत्याआवश्यक काम बाहेका घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । त्यहि लकडाउनको बेला भेटिएको एक विद्यार्थीको वास्तविक कथा :
झट्ट हेर्दा भर्खरै १० – १२ वर्षका उमेरका एक कलिला बालक । साथमा एउटा रातो साईकल अनि त्यहि साईकलमा क्यारेट भरी कुचो र झाडु । सकि नसकी गल्लिगल्लि अनि चौक चौकमा डुलाउँदै गरेका भेटिन्छन् । उनी हुन् विराटनगर १५ हरिनगरभटटाका १४ बर्षीय बालक विकास सिंह । बुबा विजय सिंह र माता शिलादेवी सिंहका कान्छा छोरा । विराटनगर १५ मा रहेको राईजिङ नेपाल सेकेन्डरी स्कुलमा कक्षा ८ मा अध्ययनरत विकास विराटनगरको हरेक गल्लिगल्लि र चौकचौकमा कुदिरहेका भेटिन्छन् । उनको त्यो कुदाई कुनै रहर भने हैन, उनले त आफ्ना पिताले समाल्दै आएको कामलाई सहयोग गर्दै आएका हुन् ।
आफ्ना बुबाले आज भन्दा २० बर्ष अगाडीदेखी कुचो तथा मरमसला बेचविखनको काम गर्दै आएको पेशालाई अहिले कान्छा छोराले लकडाउनको बेला सदुपयोग गर्दै आएका छन् ।
विकासका आफ्ना दाई दिदी पनि छन् । उनीहरु पनि पितालाई सहयोग गर्दै आएका छन् । विकासलाई लकडाउन र कोरोना भाईरसको बारे राम्रै ज्ञान पनि छ । कोरोना भाइरसबाट बच्नको लागी मुखमा ए ९५ मास्क र हातमा पनि बाक्लो खालको पन्जा लगाएर कुचो बेच्न हिड्ने गरेका छन् । उनी आफुलाई सतकर्ता अपनाएर बाहिर हिड्छन् । उनी घरबाट विहान ७ बजे हिडेर विहानको ९ बजे सम्म घर पुग्छन् । प्रशासनले विहान ९ बजे सम्म साना व्यापार व्यावसाय खोल्न दिएको छ । त्यही समयमा उनी विराटनगरका विभिन्न स्थानमा साईकलबाट कुचो बेचेर राम्रै आम्दानी गर्ने गरेका छन् । एक विहानमा करिब २० वटा सम्म कुचो विक्ने गरेको उनी बताउछन् । धरानबाट ल्याएका कुचो ७० देखी १०० रुपैयाँ प्रतिगोटा बिक्ने गरेको सिंहले सुनाए । ‘विहान–विहान साईकलमा कुचो बेच्न निस्कन्छु अनि दिउसो पढ्ने गर्छु ।’
हो यति बेला लाखौं विद्यार्थी स्कुल तथा कलेज जान पाएका छैनन् । कतिपयले यो बेला लकडाउनको राम्रै सदुपयोग गरेका छन् भने कतिपयले अभिभावकले छोराछोरीलाई घर मै टिउसन पढाई रहेका छन् । एउटा सानै उमेर आफ्ना बुबाले समाल्दै आएको पेसालाई माया गर्ने यि १४ बर्षिय बालक विकासबाट पनि केही सिक्ने पो हो की ।