कथा – एउटा मास्टरको हजारको नोट – भुवन कुमार वाग्ले

कथा – एउटा मास्टरको हजारको नोट – भुवन कुमार वाग्ले

रमेशसंग अव पैसाको नाममा त्यही एउटा हजारको नोट वचेको थियो । जागिर दिने स्कुल र कलेजमालिकको वेतलवी घरविदा दिने  निर्णयसंगै लागेको खडेरीले उसको घर चलाउने पैसाको मुल सुकेको छ आजकाल । त्यसले गर्दा उसका घरका मुस्कानका विरुवाहरु मुर्झाएका छन ।  वैकका खाताहरुवाट झिक्नमिल्नेजति टाकनटुकन पैसा झिकेर दिउंसो घरलाई चाहिने किराना सामान किनिसक्दा उसका गोजिको सत्ताईस सय पचहत्तर रुपैयाँमध्ये अव त्यही ववुरो हजारको नोट बांकी रह्यो । आजै विहान उसले पैसा नपुग्ने कारण देखाई ग्यासको सिलिन्डर नभर्ने निर्णय लिंदा कांचो गाली खाएको थियो । उत्तरमा उसले भोलि एमरजेन्सी केही आइलाग्ला, यति त चाहिन्छ नि भन्यो जसको एउटा कुन्तरमा यो गर्मीमा चिसो वियर किन्न अलिकति दुमु त चाहियो भन्ने दुव्लो खराव नियत लुकेको थियो, जो उसले जति छोपेपनि उस्कि अर्धाङ्गिनीका तीखा आंखावाट छोपिएको थिएन । उनले केही शान्त भएर विकल्प खोज्न अनुरोध गरेपछि  उसका प्रयोगपछिका प्याडजस्ता एटीएम कार्डहरु पर्समा पानीवाट झिकेका मुंग्री माछा जस्तै रगडारगड गर्नथाले । उसको मन भाऊन्न भैरहेकोले उसले गहिरो ध्यानमा वस्ने निर्णय गर्यो ।

रमेश आंखा चिम्लेर एकाग्र हुन प्रयास गरिरहेको थियो । सबैभन्दा पहिले पलेँटी कसेर वस्यो । मेरुदण्ड सोझ्यायो । लामो उच्छवास लियो । पाखुरा शिथिल वनाईदिएपछि उसका चोर औला र वुढी औंला आफै नजिकिए । आंखाका नानीहरू भृकुटी तर्फ केन्द्रित भए । शरीर शाम्भवी मुद्रामा बसिसकेपनि स्वभावतः उसका मनमा अनेक कुरा खेलिरहेका थिए । विस्तारै रमेशले शुन्यतर्फ दिमागलाई लगाउंदै लग्यो । परिवार, जागिर, रोग, साथीभाई, रमझम, रक्सी, यौनिकता, डरहरुलाई उनीहरूका गर्धनमा डोरीले वांधेर ऊ उसका दुई आंखाविचमा रहेको सल्कदै गएको दियोमा खन्याउदै गयो । विस्तारै विस्तारै सवै सल्कदै गए । उसले लामो सास तान्दै दियोलाई अझ अक्सिजन थप्दै गएपछि शनै शनै सबै अवरोधहरु जल्दै गए ‌। मन एकाग्र हुदै गयो ।
परव्रह्मवाट सिर्जित योगाभ्यासवाट शुन्यतर्फ लाग्ने क्रममा उसको आत्मा शरीर र मस्तिष्कको भेद के छुट्टिन लागेको थियो, अचानक उसलाई एउटा अवरोध आएको जस्तो महसुस भयो । केही नाच्न थाल्यो मानसपटलमा । पहिले पर थियो विस्तारै नजिक आयो । त्यसको गति तीव्र थियो । उ वर पर माथि तल नाच्दानाच्दै अलि गौरले मनन गरेर ठम्याउंदा त्यसमा हात्ती जस्तो आकृति देखापर्यो । त्यसको गति अलि धीमा भएको वेला उसको अन्मयस्क मनले वल्ल ठहर्यायो, त्यो त नेपाली हजार रुपैयाँको नोट रहेछ । उसले सम्झियो, "मेरो पकेटमा पैसाको नाममा अव जम्मा त्यही हजारको नोट मात्रै छ । "
"वीस वर्षको उमेरमा रोजगार भएपछि मैले आजसम्म कतिवटा हजारका नोटहरु छोएंहुंला, कति दिएं, लिएं र केही छिन र दिनको लागि थन्क्याएर  फेरि चलाएं हुंला ?"उसको मन वहकिन खोज्यो । उसले हतारहतार त्यसलाई कोर्रा लगाएर फेरि नजरवन्दतिर ठेलठाल पारेर हुल्यो । हजारको नोट अझै सल्वलाउंदै थियो । उसले त्यसलाई वेवास्ता गरेर फेरि ध्यानमा एकाग्र हुन खोज्यो । समय विस्तारै थामियो । भौतिक चेतना निभ्दैगयो, दिव्य उज्यालो फैलदै गयो । उ असीम आनन्दमा डुव्दै गयो ।

एउटा विन्दुमा पुगेर उसका आंखा खुले । त्यतिबेला सम्म घाम डुवेर सांझ परिसकेको रहेछ । उ टहल्न निस्कियो । शरीर आनन्दले हलुका र फुर्तिलो, मन चंगा भएको थियो । छेउको सब्जी पसलको कलङमलङले केही सब्जी किन्न सम्झायो । हिजोको आधा किलो भान्टा कीरा लागेको रहेछ । छानछुन काटकुट पार्दा  र आलु मिसाउंदा विहानको छाक जसोतसो निस्किएको थियो । उ पसलमा गएर एकछिन पर्खियो । भीड छिमलिएपछि उसले उसको अलटाईम फेबरेट रायोको हरियो साग दुई मुठा किनेर पैसा तिर्न पर्स खोलेर हेर्यो ।  खुद्रा एकै रुपैयाँ पनि रहेनछ । पैसाको नाममा एउटा हजारको नोटमात्र त थियो, गह्रौं हातले निकालेर उसले पसलेलाई दियो । उसले खुद्राको अपेक्षाले पुलुक्क हेर्यो, रमेशको अनुहारको  नकारात्मक भाव तुरुन्त ठम्यायोहोला शायद, उ खुजुरा खोज्न गल्लातिर लाग्यो । पसलेको अनुहारमा थोरै सब्जी किनेर ठुलो नोट दिएवापतको असन्तोष छल्कदै थियो । तर रमेश जस्ता सुकिलाहरुले हजारको नोट तेर्स्याएको पटक पटक वेहोरेको वाचाल साहुजीले पैसाको नाममा रमेशसंग भएको जम्मै त्यही हजारको नोट थियो भन्ने वुझ्यो कि वुझेन खै,  एकाध मिनेट पछि उसको प्यारो हजारको नोटको पोष्टमार्टम गरेर एउटा पांचसयको, तीनवटा सयका, दुईवटा पचासका, वीसको एउटा, दशका दुई वटा र पांचका दुईवटा नोट फिर्ता दियो । रमेशले प्रेमपुर्वक गनेर लियो, सब्जी हालेको कालो प्लास्टिकको पोकासंगै । साग र भारी मन वोकेर उ त्यहांवाट निस्कियो । झमक्कै सांझ परेको थियो। गाडी मोटरसाइकल र घरका वत्तीहरु टिलपिलाउन थालिसकेका थिए । मानिसका अनुहार नचिनिने भैसकेका थिए । उसलाई कसैसंग वोल्न मन थिएन । उ घरतिर लम्कदै गर्दा उसलाई लाग्यो, मानौ उसको हजारको नोट र उ विचको दुरी वढ्दै गैरहेको छ । फेरि सोच्यो, पैसा कसैको हुदैन । यो त मीठो भ्रम मात्र हो । यो त त्यो हात र यो हात नाचिरहन्छ । साग किन्नु अघि हजारको नोट उसको  थियो, अव पसलेको भयो
यस्तै सोच्दासोच्दै कोठा पुगिसकेछ । चुपचाप कोठा पुगेर साग भान्सामा राखिदियो । उसलाई लाग्यो, भान्साले शायद व्रोईलरका टुक्रा पर्खदै थियोहोला, उसका सागको मुठाले त्यस चाहनालाई वढारिदियो ।

रमेश र उसकि अर्धाङ्गिनीले सागसंग अलिअलि डढेको गन्ध आउने भात, विहानै पकाएर राखेको र अहिले तताएको दाल मिसाएर खानथाले । "भात अलि डढेछ है रमेश " उसले सोधि ।‌ रमेशले सुनेको नसुन्यै गरिदियो ।
घरको खाना विषयमा उसको वडा उदार एउटा दर्शन छ । उ भन्छ, जे पाकिसक्यो, त्यसलाई न कांचो वनाउन मिल्छ, न फेरि पकाउन । कि अर्को पकाउन सर्जाम र समय चाहियो । त्यो भन्दा वेसी त्यसले सिर्जना गर्ने  झगडाको सम्भावना  र अर्का केही छाक थप खराव खानाको सजाय पाईने निस्चितता हुने भएकाले पकाईसकेको खानाको विषयमा कम्प्लेन गर्ने मामलामा उसले अपजस खेप्नुपर्दैन । जसोतसो खाएर टीभीमा छचल्किएका नराम्रा समाचार पढेपछि, उ एकछिन फेसवुकका भित्ता कोट्टाउंदै ओछ्यानमा पल्टियो ।फ्यान फुल स्पीडमा चलाएर । फ्यानले माथिबाट तातो हावा र तल ओछ्यानको तातोले झिल्सिएपछि छतमा निस्कने विचार गर्दैथियो, फ्याट्टै लाईन गयो । लामखुट्टेले टोक्छन् भन्ने वुझ्दावुझ्दै "उनीहरुको पनि त घर खेत छैन, खुन चुसेरै वांच्ने हुन, खाउन न " भनेर  छतमा चढ्यो ।

हावा ठप्प थियो । पातहरू अविचल थिए । आसपासका घरका छतहरूमा पनि मान्छेहरु अलिअलि वोलेको आवाज आउंदैथियो। घरमा एसी हुनेहरु वाहेक अरुको लाईन
गएपछि छत वा सडकमा नआई उपाय हुन्न । उसकि अर्धाङ्गिनी भान्सामा खै के गर्दैथिई । मान्छे नै मान्छेको वीचमा रमेश अन्धकारमा खुला आकाशमुनि एक्लै उभिरहेको थियो । यत्तिकैमा उसले फेरि झल्यास्स हजारको नोट सम्झियो । त्यो सब्जी पसलेले दिनभरि वेचेको सब्जी वापत आएका नोटहरुसंगै उसको हजारको नोट जतनले राख्यो होला उसकि अर्धाङ्गिनीले जस्तै। हुन त  पसलेले पनि पक्कै त्यो नोट लामो समय राख्न पाउंदैन । उ पनि त विचौलिया हो, किसान त हैन । किसानले पनि त आफुले वेच्ने फसल भन्दा महंगो मल वीउ किन्नुपर्छ । पसलेले भोलि थप सब्जी किन्दा रमेशको नोट होलसेलरलाई वुझाउंछ । होलसेलरले रमेशको नोट संगै अरु नोटको गड्डीमा रवरले वांधेर वैकमा वुझाउला । रमेशको काम गर्ने स्कुल कलेज खुले त महिना मरेपछि वैकको खातावाट उसको एटीएमको वल्छीले उसको त्यो नोट फेरी उसकै गोजीमा आइपुग्ने सम्भावना हुन्थ्यो । अव त त्यो सम्भावनाको ढोका अनिष्चित रुपमा वन्द भएको छ ।

उसलाई एकछिन सास रोकिए जस्तो भयो ।  यतिकैमा उसले आकाशतिर आंखा लगायो । जुन नभएको आकाशमा सबै तारा स्थिर भएर टिलपिल टिलपिल गरिरहेका थिए । त्यसमध्ये एउटा तारा हिड्दै थियो ।  रमेशले त्यसलाई एकछिन पहिल्याउँदै हेर्यो । हिड्दा हिड्दै ताराहरुको वीचमा त्यो तारा कतै विलायो । उसलाई निन्द्रा लागेजस्तो भएपछि उ कोठामा ओर्लियो । जगवाट घटघटी पानी पियो । पर्स वोकेको हाफपेन्ट खोलेर लूंगी लगायो र  निदाएकि अर्धाङ्गिनीका छेउमा रहेको सांघुरो ठाऊंमा चुपचाप सुत्यो ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्