कथा : अवसान – भूवन कुमार वाग्ले

<span class='c1'>कथा : अवसान –</span> <span class='c2'>भूवन कुमार वाग्ले</span>

सबेरै विराटनगरबाट करीव पांचवजे निस्किएको म भेडेटारका नागवेली घुम्ती चढ्दै र ओर्लदै विहान करीव साढे सात वजे तमोर पुगें । अशुभ समाचारले पिरल्लिएको भारी मन परिचित दृश्यावली सहितको यो यात्राले अलि चंगा भएको भान भैरहेको थियो ।  फलाम जस्ता हाम्रा वीर नेपाली पुर्खाले बेलायती सेनामा भर्ती भएर विश्वयुद्धमा दिएको निष्कपट आहुतिको मुल्यमा किनिएको तमोरको कलात्मक फलामे पुलवाट अज्ञात भुतदेखि दक्षिण हाकिईरहेकी सुन्दर तमोर गंगा नियाल्दै म पारी तरें । पारि धनकुटातर्फ सडक किनार खाली ठांउ खोजेर मेरो कार पार्किङ गरें ।

त्यतिवेला नयाँ दिनलाई स्वागत गर्न मुलघाट बजार भर्खर सिंगारपटार गर्दै थियो । जेठको महिना भएकोले वालि दिईसकेर सजिवनका बोटहरु महिनावारी सुकेका आमाहरु जस्तै हरिया पात ओढेर कुप्रिदै उभिएका थिए । उता जवान आंपका वोटहरूमा स-साना  टिकुलाहरू तन्द्रङ्ग झुन्डिएका थिए । वेलहराको फुंग उडेका पाखाहरुले वर्षातसंगै हरियो ओढ्ने ओढिसकेका देखिन्थे । पारी वुढीमोरङ र फाक्सिवका नागवेली पाटाहरु घाम र अध्याराको दोछायावाट उज्यालोतिर निस्कदै थिए । यता माथि माहाङको डांडावाट सुख्खा पहिरो सदा झै तमोरमा मुख जोतेर लडिरहेको थियो । हावाका झोकाहरुले वेलावेलामा ल्याउने तमोरको सुसाईले मुलघाट बजार सांचै जीवन र मृत्युका विम्वहरूको सुन्दर कोलाज जस्तै देखियो ।

यहाँको सानो वजारका स्थायी वासिन्दाहरू दैनन्दिनी जीवनको  भर्खर जम्पस्टार्ट गर्दैथिए । सब्जी फलफुलका कांटाहरुमा ट्याक्टर चढेर आएका क्रेट, डोका र पेरूंगाहरु ओर्लदै जोखिदै थिए ।  ठुस्स पहाड गन्हाउने हिलोका छिर्काहरुले पोतिएका वाहनहरुका यात्रीलाई प्लास्टिकका पोकाहरुमा गुलियो उखु, राता गोलभेडा वेच्ने सडक व्यापारी काममा तैनाथ हुंदै थिए । सानातिना होटलका चुलावाट धुंवा पुत्ताउन थालेको थियो ‌। धनकुटातिरवाट रुद्रवारीको घुम्तीमा वजेको एकोहोरो शंखको आवाजको प्रतिध्वनिले सडकका दुवैपटि लाईनका टिनका झुप्राहरुमा व्यापारका आशाले खुशी नाच्दै थियो । कसैको मृत्युले खुशी छर्ने यो अनौठो र दुर्लभ वजारसंग मेरो पहिल्यैदेखि विचित्रको लगाव छ ।

केहीवेरपछि धनकुटातिरवाट वाईकहरुको समुहवाट घेरिएर छतभरि मान्छे वोकेर वजरंग वलि की जय लेखेको ट्रक आईपुग्यो । म आइपुग्दा लगभग सुनसान मुलघाट को सडकमा छिनको छिन सडकको दुवैतिर पार्किङ गरिएका वाईकहरुको लाईन लाग्यो।  मैले अधिकांश चिनेका करीव तीनसय धनकुटे अनुहारहरु कोही हेल्मेटवाट निस्कँदै थिए, कोही ट्रकवाट सडकमा हामफालेर ओर्ले । वाईकमा चढेकाहरु जिन्स गगल्स लाएका सुकिला र युवा थिए भने ट्रकवाट ओर्लनेहरु कमिज सुरुवाल, शिरमा ढाकाटोपी लगाएका अलि पाका लुगाहरु थिए ।  ओर्लिसकेपछि कोही मुलघाट वजारमा लागेको विहानको कलिलो घाममा सडकमा यताउति टहल्न लागे ।  पहाडमा तयारी माल विसाएर फर्केका भीमकाय ट्रकहरुको कर्कश हर्न र तीव्र गतिले मैला सुकिला मान्छेहरुको भीडलाई  छिमल्दै फेरी गुजुल्ट्याउंदै थियो ।
म विस्तारै हिड्दै रमिता हेर्दै गौरी दाईको त्यही हाफडाला ट्रकछेउमा आइपुगें । मान्छेहरुको भीड ट्रक ओरिपरि केन्द्रित भैरहेको थियो । एक्कासी ठुलो स्वरमा एकोहोरो शंख वज्यो र मुलघाट वरपरका पाखाहरुमा त्यसको प्रतिध्वनि गुन्जियो ।  एकहुल महिलाहरु कहाल्लिदै रोए ।   सेतो कमेज सुरूवाल लगाएका कुलवहादुर काकाले मसिनो चर्को स्वरमा " होसले है वावु हो " भनेपछि मलामीहरुको कांधमा अडिएको वांसका ठांडाहरु माथि मेरो प्यारो साथीको मृत शरीर सेतो कपडा र पहेलो पिताम्वरमा वेरिएर ट्रकवाट ओर्लियो । संगसंगै भाउजुको शोकमग्न अनुहार र पतिवियोगले रुंदा रूंदा सुन्निएका आंखा देखेपछि मेरोपनि मन गरुंगो भयो ।  अनायास मेरो मुखवाट " शम्भो " निस्किएर भीडको कोलाहलमा मिसियो । केही थोपा आंसु वरर झरे । मैले चश्मा खोलेर आंखा पुछें ।

म पनि मान्छेहरु संग ठोकिदै  लाशको अघिल्तिर नगिच पुगें । मलाई आफ्ना निकटका मान्छेहरूको लाश शिरतिरवाट वोक्न मनलाग्छ ।  एकछिनको लघारिदो हिडाई र ठेलमठेलपछि लाश वोकिरहेका राजमणि दाईलाई खै मेरो पालो भन्दै जोडले ठेलें र दुईटा वांसको वीचमा निहुरेर टाउको छिराएपछि मेरो कांधमा मेरो साथीको लाशको भार पर्यो । शायद आंसु पुछ््न सजिलो होस भनेर हो कि असावधानीले हो, मेरो पावरको चश्मा राजमणि दाईको ढाडमा ठोकिएर उछिट्टियो । मैले वास्ता गरिन । विश्रान्ति मन्दिर छेउको वाढीले उधिनेको खहरेको ढूंग्यान ओह्रालोमा मान्छे नै मान्छेको भीडमा खुट्टाले छाम्दै सन्तुलन मिलाएर हिड्न वडा मुस्किल हुन्छ। जति मुश्किल परेपनि दिवंगत मेरो साथीको श्रद्धाञ्जलीमा मैले त्यसलाई सहजै स्वीकार गरें । आखिर मलाई कसैले लाश वोक्न कर पनि त लगाएको थिएन र लगाउने थिएन । यो त मेरो उ प्रतिको  प्रेम, समर्पण, मलामी गएपछि कांध दिनैपर्ने हाम्रो विश्वास र मेरो पचासौ  मलामी अनुभवको अन्तरघुलनको परिणाम थियो । मैले जिम्मेवारीपूर्वक मेरो अभिन्न साथीको लाश वोकें । लाश वोकिरहंदा मेरो कान उसको मालाले ढाकेको शिरको नजीकै थियो । "अलि राम्ररी वोक साले " भनेर खुसुक्क भनेपनि त हुन्थ्यो जस्तो लाग्दालाग्दै कसैले पछाडिबाट खै छोड्नोस भन्यो र त्यसैगरी ठेल्यो जसरी मैले राजमणि दाईलाई ठेलेको थिएँ । म फटाफट दौडिएर उसलाई लाशको भार सिंक्रोनाईज्ड तरीकाले होसियारी पुर्वक हस्तान्तरण गरें । भीडवाट विस्तारै निस्किएर  केही परिचित आंखासंग मेरो धमिलो दृष्टिले आंखावाटै ईशारामा हेलो हाई गर्दै  भीडसंगै लाशको समानान्तर हिंडिरहें । यत्तिकैमा पछाडिबाट एउटा भाईले "यो चश्मा कस्को" भनेर करायो । मैले त चश्मा विर्सेको रहेछु । मैले फर्केर हेरें । कालो फ्रेम देखेपछि त्यो मेरो भनि ठम्याएं । मैले विनयपुर्वक मागेपछि उसले मलाई चश्मा मेरो हातमा थमाईदियो । एकापटिको सीसा फुटेछ । अलिअलि फ्रेम वांगिएपनि एउटा सीसा सग्लै रहेछ । त्यसमा लागेको धुलो पुछेर सर्टको देव्रेपटिको गोजीमा हाले । एउटा सीसा त आखिर सग्लै थियो ।

मलामीको एक समुह दाउरा लिन विश्रान्ति मन्दिर छेउको दाउराको खलियोतिर लाग्यो । पुरोहित सहितको एक समुह घाटमा पिन्डदान दिन लाग्यो । मेरो साथीका दुईवटी नावालक छोरीमात्र भएकोले उनीहरुलाई घरमै छोडिएको रहेछ । अन्तिम पिन्ड दिन उसका दाई अघि सर्नुभयो र पुरोहितको आदेश अनुसार पिण्ड तर्पणका कर्महरु गर्नुभयो । आंसु सुकिसकेपछि पनि गलावाट हिक्क हिक्क गरिरहेकि भाउजु लोलाउंदै लाशको छेउमा बसिरहनुभएको थियो। म उहाँको ठ्याक्कै अघिल्तिर उभेर भिजेका आंखाले मेरो साथीको लाश र भाउजु लाई पालो पालो हेरिरहेको थिएँ । आफुले संसारकै सबभन्दा माया गरेको मान्छे निर्जिव भएर जलाउन लैजादा अर्धाङ्गिनी लाई कस्तो होला भन्ने अथाह पीडादायी अनुभूतिले म भित्रभित्रै जलिरहेको वेला उहाँले मलाई देख्नुभयो । मलाई देखेपछि वहाँ फेरि फाट्न लागेको रातो पछ्यौरामा मुख लुकाएर वेस्सरी रुन थाल्नुभयो । मेरो गला अवरुद्ध भयो । एकमनले त "नरुनुस भाउजु, उसको यति नै रहेछ"  भनौ जस्तो लाग्यो । मेरो मुख चल्यो, तर आवाज आएन । म छोरो मान्छे, आंसु देखाउन नसकेर एक्लै पर घाटको छेउमा वनेको धर्मशालामा गएं र नदीका छालमा मेरो साथीको अनूहार नियाल्दै एक्लै निकैबेर रोएं ।

केहीवेरपछि चिनजानका मान्छेका हुल म बसेनेर आइपुगे । म सम्हालिएं । उनीहरूले "कतिवेला आईपुगेको ? को को आएका ? इत्यादि प्रश्नहरुको जवाफ दिएं ।  उता लाश चितामा चढिसकेको रहेछ । दागवत्ती दिनु ठीक अगाडी सबै मलामी र आफन्तजनलाई चिता छेउमा जम्मा हुने उर्दी गरियो । गोपाल सर ठुलो ढुंगामा चढेर ठुलो स्वरमा मृतक मेरो साथीको वंशावली, जीवन कहानी र परिवारमा समवेदना सहितको शोक मन्तव्य व्यक्त गरेर एक मिनेट मौनधारणका लागि आव्हान गरे । उसको वारेमा फेरि सुनेपछि मेरा आंखावाट आंसु चुहिरहे । परिवारले अन्तिम दर्शन गरेपछि दाईले दागवत्ती दिनुभयो । म फेरि पर ढुंगामा गएर अलग्गै वसें । आगो जोरिउन्जेल वसेका मलामीहरू मट्टी दिएपछि विस्तारै लाखापाखा लागे । केही पाका आफन्तहरू, परिवारका सदस्यहरू चितावाट वीस मिटरजति टाढा गएर वसे । पुरोहित र केही दाहसंस्कारका अनुभवी गाउंलेहरु कुल वहादुर काका, चतुरमान वडा, नगेन्द्र दाई, गोविन्द दाईहरु लाश जलाउन वसे । नदी वगिरहेकी थिईन । आगो दन्किरहेको थियो । चिसो हावा लडिरहेको थियो ।मेरो साथिको नश्वर जिउ एक-एक गरि आगोले खादै थियो । म मसानचेतनाले लट्ठ भएर यो निर्मम दृश्य एकतमासले नियालिरहेको थिएं ।

हुन त म मृत्यु र इन्द्रिय जितेको सिद्ध योगी हैन । तर मलाई मृत्यु खासै असामान्य लाग्दैन । जसरी वाढीले खेतीवारी एकपटक वगाईसकेको किसानलाई खोलाको वाढी खास  लाग्दैन । मेरो जीवनकै सबैभन्दा दर्विलो खम्वा मेरो वुवा सानै उमेरमा गुमाएपछि ममा त्यो सिद्धि प्राप्त भयो । त्यसपछि मेरा परिचित, परिवार खानदानका कैयौ मान्छेहरु कोही सहज, कोही अकाल, कोही दुर्घटना त कोही आत्महत्या गरेर मरे । यो मुलघाट सयौपटक ट्रक, मोटरसाईकल र कार चढेर आईयो । ती मलामहरु एउटा सामान्य लाश जलाउने प्रक्रिया भन्दा बढी लागेनन् ।  तर यो मलामीका हरेक सेकेन्डहरुले मेरो छातीमा हिक्का छुटिरहेका थिए, आंखाबाट आंसु झरिरहेका थिए ।

उसको र मेरो सम्वन्धमा विशेष के थियो भने मैले उसंग विताएको वालापन, किशोरावस्था र युवा उमेरमा उ र म  एक आपसमा कहिल्यै मिलेनौ । उ मलाई सधै गाली गर्थ्यो ।  वाल्यकालमा चाहिँ  उ र म लगभग उस्तै चन्चले थियौ । उ अलि कम वोल्थ्यो । म धेरै वोल्थें । उ वुवाआमाको आज्ञाकारी छोरो म एक नंवरको अटेरी । म जान्ने तर नपढ्ने, उ मध्यम तर मेहनती थियो । म खानेकुरामा पनि लोभी थिएं । हामीसंगै स्कुल जांदा खुसुक्क कांक्रो टिपेर वोक्थें । उ त्यो कांक्रो त खांदैनथ्यो नै, भरे घरमा लगेर सुनाई दिन्थ्यो र म पिटाई खान्थें । म त्यसपछिको रनाहामा उसलाई खोज्थें र भक्कु पिट्थे । कसैलाई भनिस भने मर्छस भनेर मैले धम्क्याएपछि उ कसैलाई भन्दैनथ्यो ।
जति नै पिटेपनि भोलिपल्ट फेरि उ मसंगै मिल्न आउंथ्यो । जिस्कन्थ्यो, फेरी कुटाई खान्थ्यो र रुन्थ्यो । यो चक्र हामी एस एल सी पास हुन्जेल चलिरह्यो ।  अहिले म महसुस गर्दैछु, मैले उसलाई सांच्चै नै अत्याचार गरेको रहेछु ।

एस एल सीमा अपेक्षा विपरीत उसको फर्स्ट डिभिजन आयो, मेरो सेकेण्ड डिभिजन । मलाई उसको असाध्यै इर्श्या लाग्यो । दुईतीन रात मलाई पीर पर्यो । उ कति महान् थियो भने उ मलाई ढाडस दिन रिजल्टको तेस्रो दिन विहानै ओछ्यानमै आयो र भन्यो," हेर, म भन्दा तं नै जान्ने होस, तर कसरी हो खै? तेरो कापी कुन पापी जंड्याहाको हातमा पर्यो,  कापी काट्नेले तंलाई कम र मलाई वढी नम्वर दिएछ, चित्त नदुखा । " मलाई उसको त्यो भनाईले यति ठुलो मलहमको काम गरेछ कि लाज र डिप्रेसनले कुना पसेको तेस्रो दिनपछि मैले खाना खाएं र वाहिर निस्कें ।

पछि मैले  आर्ट्स पढें उसले साईन्स । उ र म दशै तिहार र छुट्टीमा मात्रै भेट्न थाल्यौ । म कम पढ्ने हल्लाखोर र फुर्तीफार्तीवाला भएं । गीत गाउनुपर्ने, नाच्नु पर्ने, नाटक खेल्नुपर्ने, क्लवको देउसीभैलो, भलिवल, तोङ्वा सुकुटी, माया पिरती मेरा विषय भए, उसको चाहिँ पढाई, वा आमाको आज्ञाकारीता, घरको काम वस् । अर्को भाषामा भन्दा म तामसी विद्या तर्फ लागें उ सात्विक । भेटघाटमा उसलाई म लाटा भन्थें, वियर खाउं भन्थें, चुरोट तानौ भन्थें,फलानीसंग डेट मिलाईदिउं ? भन्थें । उ हांसेर टार्थ्यो तर संगै वसिदिन्थ्यो ।  । अलि कर गर्यो भने रिसाउंथ्यो । म चुरोटको धुवाँ उसको मुखमा फुकिदिन्थें, वियर छर्किदिन्थें ।  उ रिसाएपनि मेरो डरले  त्यसलाई पचाउंथ्यो ।
उसले विई पास गर्यो सिभिल इन्जिनियरिङमा । मेधावी भएकोले एउटा ठुलो कम्पनीमा जागिर खायो, घर वनायो, घडेरी किन्यो, गाडी किन्यो । धुमधामले विहे गर्यो । उसको विहे वाहेक अन्य  खुशीहरूमा उसले मलाई सम्झेन । उसको  बिहेमा पनि म जान पाईन । समाजले हेर्दा उ असल मान्छे असल छोरो थियो । असल पति र असल पिता । इमान्दारी वहन गर्दागर्दै अचानक उसका मृगौलाहरु गलेछन । अन्तिम चरणमा थाहा भयो । उसलाई वचाउन हजार उपाय लगाएर  मृगौला प्रत्यारोपण गर्दा अपरेसन फेल भएर उ वित्यो ।  शायद परमेश्वरलाई पनि यस्तै असल मान्छेहरूको खांचो पर्दोरहेछ क्यारे, म जिउदै छु तर उ यहाँवाट बिदा भयो ।

मान्छेलाई आफु कहिले मर्छु थाहा भए जीवनलाई हेर्ने मान्छेकाे दृष्टिकोण र जीवनशैली हालको भन्दा पक्कै फरक हुन्थ्यो होला । चलचित्रको कथा सबै थाहा भएपछि त्यो चलचित्र हेर्न मजा आउंदैन।   यही मृत्यु रहस्यले जीवन वांच्नुको असली मजा छ । यो भुतो न भविष्यति जीवनको रहस्य अध्ययन गर्दागर्दै कैयौ ऋषिमुनिहरुले हजारौं वर्ष तप गरे । मान्छेहरु लागेका लाग्यै छन । ठ्याक्कै के हो भन्ने कुनै किटानी विश्वव्यापी सिद्धान्त छैन ।  त्यसैले सुकर्म गर्दै जीवनको आनन्द लिनु नै अन्तिम विकल्प हो ।

यतिन्जेलसम्म लाश शेष भैसकेको थियो । म शोकमग्न परिवारसँग विदा लिएर विराटनगर फर्कें । यो अवसान जीवनभरी स्मरणीय रहेको छ ।
धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्