चितवनका सङ्क्रमितमध्ये एक-चौथाई स्वास्थ्यकर्मी

चितवनका सङ्क्रमितमध्ये एक-चौथाई स्वास्थ्यकर्मी

चितवन जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता, अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमित मध्ये २४ प्रतिशत भन्दा वढी स्वास्थ्यकर्मी रहेको पाईएको छ ।

जिल्लामा सबैभन्दा वढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ७ चिकित्सक, ३३ नर्स, १ पारामेडीक्स र ५ एटेण्डर (सहयोगी) गरी ४६ जना सङक्रमित भएकोमा दुई जना निको भएका छन् । दोस्रो धेरै वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ जना सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरीनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ जना सहयोगी सङ्क्रमित भएका छन् ।

पुरानो मेडिकल कलेजमा ३६ जना सङ्क्रमित भएका छन् । कलेजका डा. प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र ३ जना सहयोगी सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालमा ३० जना सङ्क्रमित भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी ८ जना सङ्क्रमित भएका छन् ।

एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा. भक्तमान श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र १ सहयोगी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाईटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् । जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा १ स्वास्थ्यकर्मी सङ्क्रमित भएको उहाँले जानकारी दिनुभयो । अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरुनै सङ्क्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठीन भैरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कँुवरले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्था सबैले नियमीत तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अध्यावधिक नगरेको हुँदा सङ्ख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउनुहुन्छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पतालहरु नियमित सञ्चालनमा निकै असजिलो हुँने गरेको उहाँको भनाई थियो । स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल वढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डां श्रीराम तिवारी र रत्ननगर वकुलहर अस्पतालका प्रमुख डा. विश्ववन्धु वगालेसमेत सङ्क्रमित भएपछि दुई अस्पताल निमित्तको भरमा चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्