फौजमा कोरोना संक्रमण : सुरक्षा व्यवस्थाको बढ्दो चिन्ता

फौजमा कोरोना संक्रमण : सुरक्षा व्यवस्थाको बढ्दो चिन्ता

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सोमबार संकलन गरिएको स्वाबको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश १ का प्रहरी प्रमुख आईसोलेशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो ।

लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो–सावधानीसहित आईसोलेशनमा बसेको छु । प्रदेश १ मा हालसम्म तीन सय ५५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २२० जना कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।
मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोराोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । धेरै संख्यामा प्रहरी संक्रमित हुँदा यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् । प्रदेश १ प्रहरी प्रमुख डिआईजी कार्कीले लक्षणविहीन भएका कारण क्वाटरकै आईसोलेशनमा बसेर दैनिक कार्यसम्पादनका लागि आवश्यक कमाण्ड सम्हालिरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गर्नु भएको थियो । संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण बन्दै गएको चिन्ता भने छाएको छ ।

हालसम्म नेपाली सेनामा पनि ७४३ जना र सशस्त्र प्रहरी बलमा ८८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति प्रहरीले लिइएको छ ।
गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयबासी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरी जवान कमल घिमिरे निर्घात कुटिए ।

कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले २० जनालाई पक्राउ गर्‍यो । तीमध्ये ६ जनाको कोरोना भाइरसको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । दश जनाको रिपोर्ट आउन अझै बाँकी छ ।
झडपमा खटिएका एक जना प्रहरी निरीक्षकसहित ललितपुरका १८ जना प्रहरीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको निकट सम्पर्कमा रहेका सुरक्षाकर्मीलाई अहिले क्वारेन्टिनमा राखिएको छ भने केही दिनमा परीक्षण गर्ने तयारी छ ।

मनमैंजुको एक खाजा घरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण तामाङको ३० साउनमा हत्या भयो । म्याद थप गर्नुअघि हत्याका मुख्य आरोपितको पिसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।
कन्ट्याक ट्रेसिङका आधारमा थप प्रहरी अधिकृतको परीक्षण गर्दा वृत्तका प्रमुख डीएसपी रोशन खड्कासहित कम्तिमा ३० जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भयो ।

महाबौद्धमा जतिवेला व्यवसायीहरुमा दैनिक संक्रमण देखिइरहेका थियो, त्यतिवेला महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रहरी निषेधाज्ञाको कार्यान्वयनमा खटिएका थिए ।
व्यवसायीको पसल खोल्ने हठ र जसरी पनि बन्द गराउने प्रहरीको नीतिका कारण घम्साघम्सी समेत भयो । त्यसमा खटिएकासहित ५५ जना प्रहरी अहिले संक्रमित छन् ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत ९७ जना प्रहरी कोभिड–१९ बाट संक्रमित छन् । तीमध्ये अधिकांश प्रहरी कन्ट्रोलमा कार्यरत छन् ।

एक जना कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा जाँच गर्दा अन्यलाई पनि संक्रमण देखिएको प्रहरीले जनाएको छ ।

उपत्यकाका महानगरीय प्रहरी वृत्तमा कार्यरत थप केही प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि कन्ट्याक ट्रेसिङमा परेका छन् । केहीलाई लक्षण पनि देखिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

गण्डकी प्रदेशका प्रमुख डीआईजी घनश्याम अर्याल पनि संक्रमित छन् । स्याङ्जा गएर आएको टोलीका प्रहरीमा पहिले संक्रमण देखिएको थियो । त्यसपछि भएको कन्ट्याक ट्रेसिङमा अन्य व्यक्तिमा पनि संक्रमण पाइएको थियो ।
हालसम्म मुलुकभर २३ सय १७ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भइसकेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । संक्रमणको बढ्दो दरसँगै प्रहरी मुख्यालयले संक्रमित प्रहरीको संख्या सार्वजनिक नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

हाल मुख्यालयले पनि सक्रिय संक्रमितको विवरण मात्र दिइरहेको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा मात्रै ८४ र उपत्यकामा ६६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । प्रदेश १ मा २१६, २ मा ६८, बागमतीमा ६९, गण्डकीमा ८३, ५ नं. प्रदेशमा १०८ र सुदुरपश्चिममा १७ प्रहरी गरी एक हजार ३ सय ५० जना सक्रिय संक्रमित प्रहरीमा छन् । कुल संक्रमितमध्ये ९६७ जना निको भइसकेको एक तथ्यांकले देखाउँछ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ ।

सेना र सशस्त्रमा पनि उस्तै

नेपाल प्रहरीको तुलनामा नेपाली सेना र सशस्त्र प्रहरी बलमा संक्रमण दर कम छ । तर, कुनै पनिबेला भयावह स्थिति नआउला भन्न सकिन्न ।

हाल तीनवटै सुरक्षा निकायले सरुवाअघि क्वारेन्टिनमा बसेर मात्र कार्यालयमा प्रवेश गराउने नीति लिएका छन् । विदालाई निषेध गरेका छन् । अत्यावश्यक विदामा गए पनि फर्किँदा क्वारेन्टिनमा बस्नुपर्ने र पीसीआर जाँचलाई अनिवार्य गरिएको छ ।

यसका बाबजुद पनि नेपाली सेनामा हालसम्म ८८६ जना संक्रमित छन् । तीमध्ये २६१ जना निको भइसकेका छन् ।

सबैभन्दा बढी पूर्वी पृतनाअन्तरगत धरानस्थित सैनिक विद्यालयमा ११७ जनामा संक्रमण देखिएको छ । मध्यपूर्वी पृतना धनुषामा १६० जना संक्रमित छन् । मध्यपश्चिम पृतना बुटवलमा १५० जना संक्रमित छन् ।

सेनामा शव व्यवस्थापन, क्वारेन्टिन, आइसोलेसन सुरक्षा र विदा गएर फर्किएका व्यक्तिमा संक्रमण देखिएको प्रवक्ता सहयाक रथी सन्तोष वल्लभ पौडेल बताउँछन् ।

सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालका अनुसार प्रदेश १ मा २४, २ मा १२३, ३ मा १५१, ४ मा ७, ५ मा ४५, ६ मा ३ र ७ मा १ जना सशस्त्र प्रहरी कोभिड–१९ का सक्रिय संक्रमित छन् । निको भएकासहित हालसम्म सशस्त्र प्रहरीका ७४३ अधिकारी संक्रमित छन् । अधिकांश संक्रमित नेपाल–भारत सीमा क्षेत्रमा खटिएका व्यक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्