विराटनगरमा कोरोना परास्त गर्नेहरुका कथा : हाउभाउको हिंसा, रित्तो छ पसल

विराटनगरमा कोरोना परास्त गर्नेहरुका कथा : हाउभाउको हिंसा, रित्तो छ पसल

विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो ।
अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको छैन, दैनिक कार्यसम्पादनका लागि कार्यालय जान थालेको छु ।


संक्रमण पुष्टि भएपछि आचार्यलाई लक्षण समेत देखिएको थियो । त्यसले उहाँकै शरिरमा केहि शिथिलता समेत ल्याईदियो । पछिल्लो समय तन्दुरुस्त बन्नु भएका प्रदेश १ सरकारका कानुनी सल्लाहाकार सामाजिक रुपमा भने अझै के नमिलेको जस्तो महशुस गर्नु परिरहेको बताउनुहुन्छ ।

मुखले बोलेर त छैन तर हाउभाउ र व्यवहारको हिंसा चाँहि अझै छ, उहाँले भन्नुभयो–सामाजिक दृष्टिकोण जर्बरसँग अनौठो व्यवहारमा प्रकट भईरहेको छ । साविक अवस्थामा बिहान र साँझपख व्यायमका लागि हिड्नु हुने उहाँले अहिले त्यसलाई घर भित्रै सिमित राख्नु भएको छ ।
छिमेकी वा अन्यलाई असहज नहोस् भनेर आफैं बाहिर निस्कन्न, आचार्यले भन्नुभयो–मेरो परिवार संक्रमित भएपछि नजिक रहनेहरुको हाउभाउमा फेरबदल आएको छ ।

विराटनगर–१० का ५० वर्षीया भोला भट्टराईले सञ्चालनमा ल्याएको चिया–नास्ता पसल ३० वर्षपछि ३० दिनसम्म बन्द भयो ।
सरकारले आह्वान गरेको लकडाउनको चार महिना अवधीभरी पनि बन्द नभएको भोला चिया–नास्ता पसलका सञ्चालक भट्टराई आफैं संक्रमित भएपछि पसल बन्द गर्नु परेको हो ।

संक्रमण पुष्टि भएको २८ दिनपछि चौंथो पटकको पीसीआर परीक्षणबाट सञ्चालक भट्टराईको रिपोर्ट नेगेटिभ आएको छ । दुई छोरा र श्रीमतीको भने दोस्रो परीक्षणमै कोरोना भाईरस (काोभिड–१९) नेगेटिभ आएको थियो ।
विराटनगरमै नाम चलेकोे भोला नास्ता पसलका सञ्चालक भट्टराईले पछिल्लो एकसातादेखि पसल सञ्चालनमा ल्याउनु भएको छ । तर, सामान्य अवस्थामा जस्तो अहिले चिया–नास्ता खाने उपभोक्ता भने त्यहाँ पुग्ने गरेका छैनन् । ग्राहक नआउँनुमा सरकारको आदेश पालना गरेको मान्नुपर्ने भट्टराईको भनाई छ ।

प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता आचार्य र चियानास्ता पसलका सञ्चालक भट्टराईका कोरोना अनुभव र अनुभूति भने फरक–फरक छन् । संक्रमित भएपछि सबैमा माया र सद्भाव राख्नुपर्ने भएपनि धेरैले सामाजिक रुपमा हिंसा बेहोर्नु परेको गुनासो गर्ने गर्दछन् ।
चिया–नास्ता पसल सञ्चालन गर्नु भएका भट्टराईले भन्नुभयो–महामारीलाई परास्त गर्न सबैको सहयोग आवश्यक हुने भन्दै परिवारका चारैजना सदस्यले प्लाज्मा दान गर्ने घोषणा गरेको जानकारी दिनुभयो । ५० वर्षीय भोला, ४० वर्षीया धनमाया र २४ र २० वर्षका अनिश तथा आयुस प्लाज्मा दान गर्ने मनसाय राख्नु भएको छ ।

दैनिक जीविकोपार्जन चिया–नास्ता पसलसँग जोडिएका भट्टराईले संक्रमित हुँदाको र संक्रमणमुक्त भईसक्दासम्मको अवधीमा अन्य कसैबाट विभेद भएको महशुस भने गर्नु भएको छैन । पसलमा आउने ग्राहक विस्तारै बढ्दै जाने उहाँको भनाई छ ।
कोरोना संक्रमण पुष्टि भएपछि त्यस विरुद्ध कठिन संघर्ष गर्नु भएका विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीलाई संक्रमणमुक्त भएपछि खासै असजिलो महशुस भएको छैन । सामाजिक रुपमा हात मिलाउने प्रचलन हटेकोले मान्नुपर्नेहरुले सहजै नमस्कार अभिवादन गर्ने गरेको उहाँको भनाई छ ।

हाम्रो सर्कल बुझ्नेमा पर्छ, पत्रकार भण्डारीले भन्नुभयो–संक्रमणमुक्त भईसकेपछि रोग सर्दैन भन्ने कुरा सबैले बुझ्न पर्दछ । उहाँले दैनिक सार्वजानिक भेटघाट र जम्मा हुने कार्यक्रम नभएपनि सामाजिक भेटघाटमा असजिलो नभएको बताउनुभयो । संक्रमित भएको अवस्थामा लक्षण अनुसारको सतर्कता जरुरी रहेको बताउँदै आत्माबललाई गिराउन नहुने भण्डारीको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्