विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर १७ इस्मालपुर सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त गस्ती

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका हुन् । चाडपर्वको समयमा सीमा क्षेत्रको चोरबाटो प्रयोग गर्दै खुद्रे तस्करको दबदबा बढीरहेको छ ।

खुला सीमा भएकाले आपराधीहरू सजिलै आफ्ना गतिविधि गरी वारिपारि गर्न सक्ने ठम्याईसहित सुरक्षा अधिकारीले गस्ती सुरु गरेका हुन् । आपराधिक गतिविधि, अवैध कारोवार, तस्करी रोक्ने दुवै देशका सुरक्षाकर्मीले योजनालाई संयुक्त रुपमा कार्यन्वयनमा ल्याएका हुन् ।
अबैध रूपमा भित्रिने सामानका कारण सरकारी राजस्वमाथि प्रतिकुल असर पारिरहेकाले निरुत्साहित बनाउन संयुक्त पैदल गस्ती सुरु गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो । तर, राजश्वकै लागि मात्रै गस्ती नभएको सुरक्षा स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बोडर आउट पोष्ट रानी विराटनगर अन्तर्गत पर्ने सीमा नाकामा संयुक्त गस्ती बुधबार गरिएको थियो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रानीका प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वको टोलीले विराटनगर १७ इस्मालपुरस्थित रहेको १७९ सीमा स्तम्भ देखि विराटनगर १६ दरैयासम्म रहेको १८० सीमा स्तम्भसम्मको २ किलोमिटर दुरीमा संयुक्त गस्ति गरिएको थियो । दुवै देशका सुरक्षाकर्मीले सीमामा गस्ती र चेकजाँचमा कडाइ गरेका छन् ।

भारतसँग मोरङको किरब ६३ किलोमिटर सीमा जोडिएको छ । खुला नाका भएकाले सशस्त्र प्रहरीको बीओपीले नियमित रूपमा ज्वाइन्ट गस्ती सञ्चालन पनि गर्दै आएको छ । यसले आपराधिक क्रियाकलापका साथै सीमा क्षेत्रमा हुने चोरीतस्करी समेत नियन्त्रणमा आएको एसपी पौडेलको दाबी छ । सीमा क्षेत्रमा केही समययता खुद्रे तस्करले सुरक्षार्मीको आँखा छलेर साइकल, मोटरसाइकलमा सामानहरू ओसारपसार गर्दै आएको पाइएको छ । उनीहरू रातिको समयमा बढी चलखेल गर्न खोज्छन् । सशस्त्रले यस बीचमा कपडा लगायतका तस्करका सामान बरामद पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्