ओखलढुङ्गा–लप्सेखोला सडक, समय सकिएपछि काम थालियो

ओखलढुङ्गा–लप्सेखोला सडक, समय सकिएपछि काम थालियो

ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डिबिएसटी कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गत असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेको हो । हाल ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम शुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भूकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३.६२ किलोमिटर लामो सडकमा ७.६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राबिधिक अनुमान रहेको छ । विसं २०७५ असार २७ मा भ्याटसहित रु २९ करोड ९९ लाख ६० हजार १० ३ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

पछिल्लो समयमा भने लकडाउन र वर्षाका कारण काम प्रभावति भएको थियो । अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनयर सरोज केसीले बताउनुुभयो । दसैँअघि नै सो सडकको ४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको भए पनि दशैंको समयमा लक्ष्य अनुसारका काम गर्न नसकिएको उहाँको भनाइ छ । दशैंमा पनि लगातार काम गरेर तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्ष तयारी गर्ने काम भएको उहाँले बताउनुुभयो । सडक निर्माणको समयसीमा सकिएकाले थप गर्नका लागि पहल भइरहेको छ । आउँदो मङ्सिरसम्म सडक निर्माणको काम नसकिए पुसमाघमा चीसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्रावधिकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्