सीमा क्षेत्रमा खटिने प्रहरीलाई डिआईजी कार्कीको कडा निर्देशन–‘तस्करसँग मिलेको जानकारी आए तत्काल कारवाही’

सीमा क्षेत्रमा खटिने प्रहरीलाई डिआईजी कार्कीको कडा निर्देशन–‘तस्करसँग मिलेको जानकारी आए तत्काल कारवाही’

विराटनगर । प्रदेश १ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनु भएको छ ।
सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा डाकेरै डिआईजी कार्कीले तस्करसँग मिलेको जानकारी आएमा तत्काल कारवाही गर्ने चेतावनी दिनु भएको हो ।

संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई ‘ब्रिफिङ’ गर्र्दै डिआईजी कार्कीले उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने चेतावनी दिनु भएको छ ।
मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई मंगलबार १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा डिआईजी कार्कीले निर्देशन दिनु भएको थियो । लगतै झापा जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई पनि मंगलबार नै ईलाका प्रहरी कार्यालय अनारमनीमा भेला गराएर कडा निर्देशन गरिएको छ ।

डिआईजी कार्कीले चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्देशन दिनु भएको प्रदेश १ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा अबैध चोरी निकासी पैठारीमा मिलेमतो गर्ने र आर्थिक प्रलोभनमा परी कमजोर कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली अनुसार कडा कारवाही गर्ने चेतावनी दिइएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो । डिआईजी कार्कीले यस अगाडी जिल्ला प्रहरी कार्यालय अन्तर्गत इलाका प्रहरी कार्यालय रानीका हवल्दार र जिप्रका मोरङका प्रहरी जवानलाई निलम्बन गर्नु भएको थियो । सादा पोशाकका हवल्दार केशव कार्की र जवान मो.अनिसले तस्करसँग मिलेर हरियो मटर भारत अवैध निकासीमा सहयोग गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्