अस्पतालमा ज्यान गुमाउन थाले संक्रमित, मंगलबार मात्रै ६ जनाको मृत्यु

अस्पतालमा ज्यान गुमाउन थाले संक्रमित, मंगलबार मात्रै ६ जनाको मृत्यु

विराटनगर । उपचारका लागि अस्पताल भर्ना भएका ६ जना कोरोना संक्रमितको मंगलबार विराटनगरका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।
सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान ३ः३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ ।
मृतक पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समयदेखि लड्दै आइरहेका थिए । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका उनी जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् ।

त्यस्तै न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहान ३ः५० बजेतिर उनको मृत्यु भएको हो ।
यता, मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत तीनजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन् ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमै ज्यान गएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै यता विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुर घर भएका संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्