विराटनगर । विराटनगरमा थप तीन जना नागरिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । सोमबार बिहान दुईजना र आइतबार राती एकजनाको मृत्यु भएको हो ।
सोमबार बिहान ६ बजे उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।
झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा बिहान ७ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक ९ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कार्तिक १२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार राती १० बजेतिर मृत्यु भएको थियो ।