अनुदान दिदाँ नी धान खरिदमा चासो दिदैनन् सहकारी

अनुदान दिदाँ नी धान खरिदमा चासो दिदैनन् सहकारी

विराटनगर । सरकारले धान खरिद गर्ने सहकारीहरुलाई अनुदान दिने योजनासहित धानको समर्थन मूल्य तोकिदिएपनि किसानको धान खरिदमा सहकारीले चासो दिएनन् । मोरङमा धान खरिदका लागि सहकारीलाई सूचिकृत हुन आह्वान गरिएपनि ईच्छुक सहकारी नभएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई मोरङले गत कार्तिक २१ गते नै सूचना जारी गर्दै ईच्छुक सहकारीलाई सूचिकृतका लागि आह्वान गरेको थियो । तर, सूचना निकाले पनि हालसम्म कुनै पनि सहकारी सूचिकृत नभएका हुन् ।

चासो देखाएपनि सहकारीहरु सूचिकृत नभएको इकार्यका प्रमुख बिनोद मण्डलले जानकारी दिनुभयो । सरकारले प्रतिक्विन्टल ११२ रुपिँया अनुदान दिने गरि सहकारीलाई धान खरिद गर्न दिने निर्णय गरेको थियो । सहकारीहरुले तत्काल धान खरिद गरेर भण्डारण गर्ने स्थान अभाव हुने भएकोले चासो नदेखाएको हुनसक्ने सरकारी अधिकारीहरुको दावी छ ।

किसानले उत्पादन गरेको धानमा बिचौलियाको हालिमुहाली रोक्नका लागि सरकारले सहकराीलाई प्रोत्साहन गर्दै धान खरिदको जिम्मा दिन खोजेको थियो । मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ मसिनोको दुई हजार ८८५ रुपिँया प्रतिक्विन्टल सरकारले समर्थन मूल्य तोकेको छ । सहकारीले यो मूल्यमा धान खरिद गरिदिएको अवस्थामा ११२ रुपिँया अनुदान दिने र त्यो रकमले ब्राण्डिङ, प्याकेजिङ, ढुवानी र भण्डारणमा खर्चनु पर्ने शर्त सरकारको थियो ।
कृषकको उत्पादन बजारीकरण गर्ने समन्वयका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापा, मोरङ र सुनसरीका इकाई कार्यालयलाई जिम्मेवारी दिइएको छ । तर, मोरङमा भने अहिलेसम्म कुनै सहकारी सूचिकृत नै नभएपछि किसानको उत्पादन बिक्री अलमलमा पर्ने देखिएको छ ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले बजार मूल्य भन्दा बढी मूल्यमा सहकारीले धान खरिद गर्दा घाटा बेहोर्नु पर्ने अवस्था आउने दावी गर्नुभयो । उहाँले व्यापारका लागि आवश्यक पर्ने प्रणालीको व्यवस्थापन नगरेको सहकारीले पहिलो वर्ष नै बजार मूल्य भन्दा बढीमा धान खरिद गर्दा घाटा हुनसक्ने ठम्याईमा पुगेको दावी गर्नुभयो ।

प्रदेश १ मा चालु सिजनमा धानको उत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको छ । प्रदेश कृषि निर्देशानालय विराटनगर बालि संरक्षण अधिकृत एवं सूचना अधिकारी सरस्वती श्रेष्ठका अनुसार चालु सिजनमा १३ लाख ११ हजार २४५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत गर्ष ११ लाख ९८ हजार ७४० मेट्रिक टन धान उत्पादन भएको थियो ।
अधिकृत श्रेष्ठका अनुसार गत वर्ष ३ लाख २० हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाँई भएको थियो । चालु सिजनका लागि ३ लाख ३२ हजार ९१७ हेक्टरमा धान रोपाँई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्