छठका ब्रतालुका लागि नहरमा पानी छोडियो, साजसज्जा सुरु

छठका ब्रतालुका लागि नहरमा पानी छोडियो, साजसज्जा सुरु

विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गतको नहरमा पानी छोडिएको छ । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा ब्रतालुले नहरको पानीमा डुबेर सुर्यको उपसना गर्दै आएका थिए ।
कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि भीडभाड नगर्न भन्दै सुनसरी र मोरङ प्रशासनको आग्रहमा नहरको पानी आयोजनाले बन्द गरेको थियो । ब्रतालुले घरघरमै छठ मनाउनका लागि अस्थायी पोखरी तयार गरिसकेपछि बिहीबारदेखि पुनः पानी छोड्ने निर्णय गरिएको हो ।

प्रदेश सरकारले धार्मिक आस्था बोकेका नागरिकको चाहना विपरित नहरको पानी बन्द गर्न नहुने भन्दै तत्काल पानी छोड्नका लागि आयोजनालाई आग्रह गरेको बुझिएको छ ।
आयोजनाका सुचना अधिकृत कुमार घिमिरेका अनुसार प्रदेश सरकारले जनआस्थामाथि असर पुग्ने भन्दै नहरको पानी छोड्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरेको थियो । त्यसैका आधारमा आयोजनालाई स्थानीय प्रशासनले पानी छोड्नका लागि भनेको हो ।

मुख्य नरहमा बुधबार राती नै पानी छोडिएकोले अहिले शाखा नहरहरुमा समेत पानी बग्न थालिसकेको र आज साँझसम्म सबैतिर पानी पुगिसक्ने घिमिरेले जानकारी दिनुभयो । नहरमा पानी छोडिएपछि अहिले छठका ब्रतालुहरुले नहरको डिलमा साजसज्जा सुरु गरिसकेका छन् ।
छठ पर्व अन्तर्गत बुधबार ब्रतालुले पहिलो दिन नहाय–खाय गरिसकेका छन् । विधिवत रुपमा सुरु भएको चार दिनको छठ अन्तर्गत दोस्रो दिन आज खरना गरिदैं छ ।
खरनाको दिन बिहानैदेखि ब्रतालुहरु निराहार व्रत बस्छन् । साँझ सख्खर भएको खिर पकाएर केरा, लड्डु, मुलासहितको प्रसाद चढाइन्छ र त्यही प्रसाद व्रतालुले पनि खान्छन् ।

खरनाको प्रसाद व्रतालुले खाने बेलामा बीचमा बोल्न नहुने मान्यता रहेको छ । छठ पर्वको तेस्रो दिन बेलुकी अस्ताउन थालेको सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै समापन गरिन्छ । त्यस समयमा ब्रतालुले जलाशयमा डुबेर सूर्यको उपसना तथा अर्घ दिने गर्दछन् । स्थानीय प्रशासनले खोला, नदि, ताल, तलैया, पोखरी र नहरमा भीडजम्मा नहुनका लागि आग्रह गरेको थियो ।

त्यहि आग्रह अनुसार विराटनगरमा धेरैले घर नजिकै सूर्यलाई अर्घ दिन अस्थायी जलाशय बनाएका छन् । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

पूर्णरूपमा साकाहारी हुने यो पर्वमा चामल र गहुँको पीठोबाट बनाईने ठकुवा, भुसुवा, फलफूल र कसारले विशेष महत्व राख्छन् । सुरुमा मिथिलाञ्चलमा मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानीलगायत पहाडमा पनि मनाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्