तीन जिल्लाका ६६ इँटा उद्योग बन्द, भारतीय कामदार आएनन्, निर्माण क्षेत्र प्रभावित हुने अनुमान

तीन जिल्लाका ६६ इँटा उद्योग बन्द, भारतीय कामदार आएनन्, निर्माण क्षेत्र प्रभावित हुने अनुमान

विराटनगर । प्रदेश १ का झापा, मोरङ र सुनसरीका ६६ इँटा उद्योग बन्द भएका छन्। भारतीय मजदुरहरू भट्टामा नआएपछि इँटा उद्योगहरु एकै पटक बन्द भएका हुन् ।

कोरोना संक्रमणका कारण भारतबाट काम गर्नका लागि नेपाली इँटा उद्योगमा उनीहरु आउन सकेका छैनन् । निर्माणका कामका मुख्य सामाग्री मानिने इँटा उत्पादन नहुँदा त्यसको असर गम्भीर देखिने संभावना छ । उत्पादनका लागि उपयुक्त समय हिउँदमै सबै उद्योग बन्द हुँदा विकास निर्माण र भवन–संरचना निर्माणका काम प्रभावित हुने अवस्था आएको छ। अधिकांश उद्योगसँग बेच्नका लागि इँटा स्टकमा छैन। नयाँ उत्पादन बन्द हुँदा भाउ बढ्ने मात्रै नभइ निर्माणको कामका लागि खाँचो परेकाले खोजेको परिमाणमा खरिद गर्नै नपाइने अवस्था आएको हो।
कोसी इँटा उद्योग संघका अध्यक्ष महेन्द्रप्रसाद साहका अनुसार मोरङमा १७ र सुनसरीमा २६ इटा उद्योग छन्। त्यस्तै झापा जिल्लामा २३ वटा इँटा उद्योग बन्द भएका हुन् ।

एउटा उद्योगले वर्षमा ३० देखि ५० लाख इँटा उत्पादन गर्छ। सबैभन्दा सानोले ३० र ठूलो उद्योगले ५० लाख इँटा उत्पादन गर्छन्। यसअनुसार प्रदेश १ मा चालु वर्ष कम्तीमा साढे २६ करोड थान इटाको उत्पादन हुनसक्ने थियो तर कामदार अभावले चिम्निमा आगो नै बाल्ने तयारी नगरिएको हो ।

सबै उद्योगका भट्टा भारतीय श्रमिककै भरमा चल्दै आएका थिए। नेपालका श्रमिकबाट इँटा उत्पादनको काम अहिलेसम्म गरिएको छैन । दक्ष र प्राविधिक सीप भएका कामदार नेपाली नभएको भन्दै भारतीय कामदारलाई रोजगारी दिने गरिएको थियो ।

भट्टाको काम जोखिमपूर्ण पनि हुने भएकाले दक्ष कामदारलाई नै प्राथमिकता दिइन्छ। माटोलाई साँचोमा हालेर सुकाइएका काँचो इँटालाई जतनसाथ भट्टीसम्म ल्याएर पकाउन चाङ लगाउने, त्यसपछि त्यसलाई रातो धुलोले छोप्ने, भट्टीमा आगो लगाउने, पाकेका इँटा निकाल्ने, काँचो इँटामा भट्टीभित्र आगो पठाउने अनि पाकेका इँटालाई वर्गीकरण गरेर छुट्याउने जस्ता कामहरू दक्ष मजदुरले मात्र गर्न सक्ने साहले बताए।
इँटा उत्पादनको मुख्य सिजन कात्तिकदेखि वैशाखसम्मको ७ महिना हो। यसका लागि भारतको पश्चिम बंगाल राज्यको कुचविहार जिल्लाका मजदुरहरू असोजको मध्यदेखि सपरिवार झापा, मोरङ र सुनसरीका उद्योगमा आएर बस्न थाल्छन्। एउटा इँटा उद्योगमा करिब ४ सय जनासम्म मजदुर हुन्छन्।

 

उनीहरूले असोजको अन्तिम सातादेखि काम सुरु गर्छन्। कात्तिकभरि काँचो इँटा बनाएर सुकाउने काम गर्छन्। मंसिर लागेपछि भट्टीमा चाङ लगाएर राख्ने र आगो लगाउने काम गरिन्छ। भट्टीमा इँटा तयार पार्न मंसिरमा लागेको आगो जेठ महिनासम्म हुन्छ। ‘दादन’को रकम काट्न थालिन्छ। यही ‘दादन’को रकम काटेर बाँकी रहेको रकम उनीहरू कमाइस्वरूप घर लैजान्छन्। यसरी ती श्रमिकहरू असारदेखि जेठ मसान्तसम्म नै इँटा उद्योगको पारिश्रमिकमा आश्रित हुन्छन्।
इँटा उद्योगीले उनीहरूलाई कुचविहारबाट आफ्नो उद्योगसम्म बसमा इँटाभट्टाकै खर्चमा ल्याउँछन् र पुर्‍याउँछन्। भट्टा परिसरमै आश्रय दिएर राख्छन्। उनीहरूका बालबच्चालाई शिक्षाको व्यवस्था गरिदिन्छन् र स्वास्थ्य सेवा पनि उपलब्ध गराउँछन्। यसपटक कोरोनाको त्रासका कारण मजदुर ल्याउने बेलामा सीमा नाका बन्द रह्यो।

उद्योग संगठन मोरङका अध्यक्ष एवम् एबी इटा उद्योगका सञ्चालक भीम घिमिरेले नेपालकै मजदुरबाट काम गराउने उद्देश्यले २० लाख लगानी गरेर दसैं अघिदेखि काम सुरु गरिसकेको तर टिक्न नसकेर भाग्ने गरेको बताउनुभयो ।
इँटा भट्टाको ७० प्रतिशत लगानी मजदुरमा भइरहेको जिकिर घिमिरेको छ । दक्ष कामदार नल्याए स्तरीय इँटा उत्पादन गर्न सकिँदैन। कामदार ल्याउन लाग्ने खर्च र उनीहरूलाई दिनुपर्ने पारिश्रमिक बर्सेनि बढ्दा लागत वृद्धि भएको हो।

भारतबाट कोइला निर्यात बन्द भएपछि पूर्वका इँटा उद्योगले भट्टाका लागि अमेरिका र इन्डोनेसियाबाट कोइला आयात गरिरहेका छन्।
पूर्वको सबैभन्दा ठूलो इँटा उद्योग आनन्द इटा भट्टाका सञ्चालक राजेश बगडिया अग्रवालले २०७६ को सिजनमा उत्पादन गरिएका इँटा लगभग सबै बिक्री भइसकेको बताए। उनले चालु आर्थिक वर्षमा इँटाको अभाव भएर विकास–निर्माणका कामहरू ठप्प हुने निश्चित भएको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्