सफाइ महाअभियानको ४०० हप्ता, तर सफा हुन सकेन वाग्मती

सफाइ महाअभियानको ४०० हप्ता, तर सफा हुन सकेन वाग्मती

वाग्मती सफाइ महाअभियान शुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन । पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिक स्थलमा फोहर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ । अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने छ । अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहर बढ्न थालेको बताउनुहुन्छ । सफाइमा स्थानीय सरकारले आवश्यकताअनुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।

पशुपति क्षेत्रको आर्यघाटबाट बगाएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ । आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेको भन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको स्वीकार्नुहुन्छ । फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ ।

वाग्मती सफाइ महाअभियानको ३९३औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ । पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, शङ्खमूल क्षेत्रमा वाग्मती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ । यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायी लगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । कोरोना महामारीका बाबजुद सफाइ अभियानमा सहभागिता बढ्न थालेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ स्थित शोभाभगवती खुसीबुमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिबारदेखि नदी स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ । महानगरको वडा नं १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

मनोहरा सफाइ महाअभियानको १९२औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित कृषिबजार अघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो । सफाइमा करीब ५० जना अभियानकर्मीको सक्रियता थियो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं शहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको छ । कोरोनाबाट बच्न गत वर्ष चैतमा बन्दाबन्दी जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्