बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउनुहुने भएको छ ।

उहाँले सोमबार टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मोडर्नाले उत्पादन गरेको खोप उहाँले अमेरिका ल्याएकै दिन लगाउन लाग्नु भएको हो । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

“मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,” उहाँले भन्नुभयो ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाउनु भएको हो ।

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान्ले भने अर्को हप्ता पहिलो पटक खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाउनु भएको छैन । कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उहाँले भने अहिलेसम्म नलगाउनु भएको हो । सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उहाँले पनि खोप लगाउनु पर्नेमा जोड दिने गरेका छन् ।

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आउनु भएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताउनुभएको थियो । तर उहाँले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहनु भएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्नुहुने र त्यो समय आउन सक्ने जवाफ दिनुभएको छ ।

डोनाल्ड ट्रम्पलगायतका कोरोनाभाइरसबाट सङ्क्रमित भएका हजारौँलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइ दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्