हाम्रो गुलियो चिया र उखु किसानका अमिला आँसु

बुढो आँखामा बगिरहेको आँसु, मलिन अनुहार अनि कागजमा लेखिएका वेदनाका अक्षरहरु:
केहि वर्षदेखि नेपाली मिडिया र सामाजिक संजालमा यि तस्विर वर्षेनी जसो घुम्ने गर्छन् ।

घरको सोफामा वा कार्यालयको कुर्सीमा आनन्दले पल्टिएर चिया वा कफिको चुस्कि लिदै हामी ति तस्विर टाइमलाईनबाट बेवास्ता गर्दै स्क्रोल गरिदिन्छौं वा बिछुट्टै केहि गर्नु परे सरकारलाई गाली गर्दै कमेन्ट र सेयर गर्छौं ।

ति तस्विर हेर्दै गर्दा अर्को हातमा समातेको कपको चिया वा कफिलाई स्वादिलो बनाउन हालिएको चिनिमा तिनै तस्विरमा देखिएका उखु किसानहरुको पसिनाको स्वाद मिसिएको हुन्छ भन्ने कुरामा हामी ध्यान नै दिदैनौं । तिनै उखु किसान जो हरेक वर्ष आफुले पाउनु पर्ने पसिनाको मुल्य नपाएको भन्दै आफ्नो कुरा सरकारलाई सुनाउन काठमाडौं आउन बाध्य पारिन्छन् । ठुला चिनि मिलमा आफुले फलाएको उखु बुझाएपछि कागजको चिर्कटो पाउछन् जसमा लेखिएको हुन्छ उनीहरुले पाउने रकम । हामीले उखुलाई नगदे बालीको रुपमा पढ्यौं । त्यसलाई बेचेर आयआर्जनको जोहो गर्छन् किसानले । तर उखुको बदला नगद साट्न प्रयोग हुने त्यो चिर्कटोको साटेर चिनि मिलले दिनु पर्ने पैसा वर्षौंसम्म उनीहरु पाउदैनन् । प्रशासनले उनीहरुको कुरा सुन्दैन, जनतालाई स्थानीय तहमै सरकारको उपस्थिति अनुभुत गराउन बनाइएको स्थानीय र प्रदेश सरकारले कुनै चासो राख्दैन र उखु किसानहरु वर्षेनी जसो ठुलो भनिएको केन्द्रिय सरकार गुहार्दै संघिय राजधानी काठमाडौं पुग्दछन् । वा भनौं पुग्न बाध्य पारिन्छन् ।

वर्षेनी उखु किसानहरु आन्दोलन गर्छन् र ढिलो गरि सरकारले चिनि उद्योगीहरुसँग उनीहरुको सहमति गराउछ र त्यसको पालना हुने आशमा उखु किसान घर फर्किन्छन् ।
गत वर्ष पनि यस्तै सम्झौता भएको थियो तर त्यसको पालना भने भएन ।
यस पटक त्यहि १ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए। काठमाडौंको कठ्याँग्रिदो जाडोमा आन्दोलन सुरु गरेको करिब एक महिना पछि सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरे । उक्त सम्झौतामा सम्झौता भएको दिनेदेखि २१ दिनभित्र किसानको पैसा भुक्तानी गरिसक्न चिनी मिललाई सरकारले म्याद तोकेको छ । त्यतिबेलाभित्र नतिरे उनीहरूमाथि कारबाही अगाडि बढाइने सरकारले उखु किसानलाई वाचा दिएको छ ।

यस वर्षको यस्तै आन्दोलनमा काठमाडौं आएका थिए सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादव । उखुको पैसा बुझेपछि सहकारीबाट लिएको ऋण तिर्ने उनको सपना थियो । तर आन्दोलनका अगुवाले २१ दिनभित्र पैसा भुक्तान गर्ने सम्झौता गरेपछि रित्तो हात फर्कनुपर्ने दुःखेसो गरिरहेका उनी अब फर्केर फेरी आफ्नो उखु खेत पुग्ने छैनन् । न त चिर्कटो साट्न चिनि उद्योगीकोमा नै पुग्न पाउने छन् । उनको गत मंगलबार बिहान हृदयघातबाट काठमाडौंमा नै मृत्यु भयो । उनीसँगै सेलायो उनको कयौं चाहनाहरु पनि । यो त देशले देखेको एक मृत्यु हो । कति किशानले यो बिच देशमा आत्महत्या गरे, त्यसको लेखा जोखा कसैसँग छैन ।

हामी चाहन्छौं , सरकारले यो वाचा पुरा गरोस् र हाम्रो दैनिक जिवनलाई गुलियो बनाउने उखु किसानहरुले अमिलो आँशु पिउनु नपरोस् । उनीहरुले परिश्रमको मुल्य समयमै पाउन् र त्यसो नगरेर उखु किसान मार्न खोज्ने चिनि उद्योगीहरुको कठाँलो समात्दै सरकारले भन्न सकोस् कि, ‘किसानको पैसा तिर नत्र यो देशमा कानुनको उपस्थिति छ भन्ने हामी देखाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्