पाइडल चलाएर सिटी सपना

पाइडल चलाएर सिटी सपना

विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि नियाल्दै उनले भने, बिहान ८ बजे घरबाट निस्किएको साँझ पर्न लाग्दा पनि सोंचे झैं छैन ।

बजारभरी आधुनिक मानिएको सिटी सफारी र अटो आएसँगै परमेश्वरको मन भत्भती पोल्न थालेको छ । दिनभरी कमाइ नभएर रित्तो खल्तिले मन पोलेको छ उनले भने, आज ४० रुपैँयाले के छाक टर्छ ? परमेश्वरका छोराहरु बिवाह गरेर बसेका छन् भने श्रीमती काम गर्न सक्ने अवस्थामा नभएको उनी बताँछन् । तराईमा केहिवर्ष अगाडीसम्म सहज गन्तव्यको माध्यम बन्दै आएको रिक्सा अहिले सिटी र अटोका कारण विस्थापित हुनुपर्र्ने अवस्थामा पुगेको हो । तर, पाइडल रोकेर सिटमा बस्ने सपना बुनेका परमेश्वरहरु भने अभावलाई पराजित गर्न सकिरहेका छैनन् ।

रिक्सा चढ्न रुचाउने कोहि–कोहि भेटिन्छन्, उनले भने पहिले दैनिक ५००–६०० कमाई हुन्थ्यो, अहिले सय नघाउन मुश्किल । दुखको पहाड मान्छेले देख्दैनन् सबै सुविधा खोज्छन् तर मलाई मेरो रिक्सासँग ‘माया’ छ । मेरो परिवार यसैले पाल्ने भएकोले म सडकमा हुन्छु । उमेरले उनी ७० वर्षका भए । छोराको कमाई खाने उमेरमा उनी आफु र श्रीमतीको जिम्मेवारी आफ्नै काँधमा लिएर हिँडेका हुन् । आफुले कमाएको पैसाले आफु खुशी खर्च गर्न पाईन्छ, छोराले कमाएको पैसामा बुहारी रिसाउलीन भन्ने लाग्छ, उनले भने आफ्नो पसिनाको कमाई खाँदा आत्मासन्तुष्टि मिल्छ ।

उनीसँगै रिक्सा चलाउने साथीहरु धेरैले कर्जामा सिटी रिक्सा किनेको उनी सुनाउछन् । उनलाई पनि साथीहरुले सिटी रिक्सा किन्दा, चलाएको देख्दा रहर नलागेको पनि होईन । बैंकबाट कर्जा लिने आफुसगँ जमिन नभएकाले रहर मारेर पुरानो रिक्सा बनाउदै चलाउने गरेको बताउछन् । उनी विराटनगर ३ मा एलानी (सुकुम्बासी) जमिनमा बस्दै आइरहेका छन् ।
प्रमेश्वरको जस्तै विराटनगर १२ का ६५ वर्षिय रामनारायण ऋषिदेव(नाम परिवर्तन) को पनि आफ्नै कथा छ । ३० वर्ष देखिको रिक्सा र उनको सम्बन्ध प्रगाढ छ । बिहान ७ बजे रिक्सा लिएर घरबाट निस्किएका रामनारायण यात्रु भेटिए आधा पेट नास्ता खान्छन्, कमाई नहुँदा चियाले भोक मेट्ने गरेको सुनाउछन् । उनको दुई छोरा पेन्टिङको काम गर्छन छोरीको बिवाह भइसकेको छ ।
‘रहर लाग्छ नि सिटि रिक्सा किन्ने रहरले मात्रै नहुने रहेछ, बंैकबाट कर्जा लिन पनि आफुसँग धितो राख्ने जमिन केहि छैन, उनले भने– अर्काको जमिनमा बसेर नै उमेरले डाँडा काट्यो अब दुःख, सुख यहि रिक्साले काम चलाउने हो ।’

विराटनगर महानगरपालिका व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार आजभन्दा ६ देखि ७ बर्षसम्म २३ सयको हाराहारीमा रिक्सा .दर्ता भएर सञ्चालनमा रहेका थिए । अहिले त्यसको हाराहारीमै इलेक्ट्रोनिक रिक्सा (सिटी सफारी) सञ्चालन छन् । पछिल्लो समय सिटी सफारी बजारमा भित्रिए पछि रिक्सा लोभ हुँदै गएको छ , प्रधानले भने, पछिल्लो समय ५० देखि ६० को हाराहारीमा मात्रै रिक्सा चल्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्