काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् ।
सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राख्नुभयो । विकासमा पनि दलीय विभेद हुनेगरेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न उहाँले आग्रह गर्नुभयो । त्यसैगरी सांसद अम्मरबहादुर थापाले मुलुकको हितमा भन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने उहाँको भनाइ छ । वितरणमुखी बजेट रोक्न उहाँले आग्रह गर्नुभयो ।
सांसद अम्बरबहादुर रायमाझीले चालु आर्थिक वर्षको बजेटमा परेका अधिकांश योजना अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकेको र निर्माणको काम अलपत्र परेको बताउनुभयो । ठेक्का प्रक्रियामा भएको ढिलाइ र ठेकेदारले आयोजना अलपत्र पार्दा समस्या भएको उहाँको भनाइ छ ।
अर्का सांसद अर्जुन नरसिंह केसीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएको आरोप लगाउनुभयो । उहाँले निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक पर्ने बताउनुभयो ।
सांसद अशोककुमार चौधरीले थारुहरुको हकका लागि भएका व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताउनुभयो । थारु समुदायको पहिचान र अधिकारको सुनिश्चितताका लागि उहाँले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद आश्माकुमारी चौधरीले दाङमा निर्माणाधीन सडक पुलमा भएको ढिलासुस्तीको विषयबारे संसद्मा कुरा उठाउनुभयो ।
अर्का सांसद असिम शाहले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान गरेको बताउनुभयो । राम्रो गर्नेलाई सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिइरहेको उहाँको आरोप छ ।
सांसद आशा विकले बाँकेमा औद्योगिक क्षेत्र घोषणा भएका स्थानकोे जग्गा विवाद चाँडो टुङ्गाउनुपर्ने बताउनुभयो ।
सांसद ईश्वरबहादुर रिजालले पछिल्ला दिनमा संसद्मा अशिष्ट, संसदीय र अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको बताउनुभयो ।
सांसद ईश्वरी घर्तीले अध्यादेश पारित गर्दा सत्तापक्षसँगका सांसद माथि सांसद किनबेचको आरोप लागेको उल्लेख गर्नुहुँदै त्यसलाई पुष्टि गर्न चुनौती दिनुभयो । अध्यादेश पारित गर्नका लागि सांसद किनबेच भएको र आर्थिक चलखेल भयो भनेर संसद्मै विषय उठेको बताउनुहुँदै उहाँले यस्तो आरोपमा सत्यता नरहेको स्पष्ट पार्नुभयो ।
सांसद ईश्वरीदेवी न्यौपानेले योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग राख्नुभयो ।
अर्का सांसद उर्मिला माझीले मेलम्ची खानेपानी आयोजनाका पाइप पटक–पटक फुटेर त्यसले पारिरहेको असर बारे संसद्मा कुरा उठाउनुभयो । कसको कमजोरीका कारण पटक–पटक पाइप फुटेको हो भनेर छानबिन गरिनुपर्ने उहाँको भनाइ छ ।
अर्का सांसद डा चन्दा कार्की भण्डारीले मेलम्ची खानेपानीको मुहान असुरक्षित र वितरण प्रणाली अस्तव्यस्त रहेको बताउनुभयो । पाइपको गुणस्तर कमजोर रहेको हुनसक्ने बताउँदै गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने धारणा उहाँले राख्नुभयो ।
सांसद एकनाथ ढकालले संसद्को प्रभावकारितामा जोड दिनुभयो । निर्माणाधीन नयाँ संसद् भवनमा सबै सांसदलाई कार्यकक्षको व्यवस्था गरिनुपर्ने माग उहाँले राख्नुभयो ।
सांसद कान्तिका सेजुवालले नेपालमा प्रयोग भइरहेको नुनमा आयोडिनको मात्रा बढी भएको विषय संसद्मा उठाउनुभयो । सरकारी प्रयोगशालामा परीक्षण गर्दा अत्यधिक मात्रामा आयोडिन रहेको पुष्टि भएको र यसले स्वास्थ्य समस्या निम्ताउन सक्ने उहाँको भनाइ छ ।
सांसद कालुराम राईले संसदको काम कानून बनाउने र स्थानीय तहले विकास निर्माणका काममा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
सांसद किरणकुमार साहले सरकारी स्वामित्वको गौरस्थित राइस मिलको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रपञ्च भइरहेको बताउनुभयो ।
सांसद गणेश पराजुलीले चक्रपथको दोस्रो खण्डको निर्माणमा ढिलाइ भएको विषय उठाउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ ? भनेर समेत उहाँले सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले बाढी पहिरोको जोखिम भएका बस्ती सार्नका लागि सुरक्षित स्थानमा जमिनको व्यवस्था मिलाइनुपर्ने बताउनुभयो । काभ्रेका विभिन्न स्थान बाढीको जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई अन्यन्त्र सार्न अति आवश्यक रहेको उहाँको भनाइ छ ।
सांसद गंगा कार्कीले दोलखा–लामबगर–लप्ची नाका खोल्नका लागि काम अघि बढिसकेको बताउनुहुँदै यसमा शीघ्रता दिइनुपर्ने बताउनुभयो । त्यस्तै, बाढीले क्षति पु¥याएका सडक निर्माणको पुनःर्निमाणलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ ।
सांसद गंगाप्रसाद यादवले सिरहामा भूमिगत पानीका स्रोत सुक्दै गएको र पानीको अभाव सृजना भएको बताउनुभयो ।
सांसद चन्द्रकान्त भण्डारीले सरकारमा रहेका व्यक्तिलाई प्रश्न गरेकै आधारमा पत्रकारको पास रद्द भएको विषय संसदमा उठाउनुभयो ।
सांसद चन्द्रबहादुर विश्वकर्माले भारतका विभिन्न स्थानमा राम्रो जागिर लगाइदिने भन्दै नेपाली युवाबाट पैसा असुली गर्ने गिरोह सक्रिय रहेको बताउनुभयो । अवैध नेटवर्किङ धन्दामार्फत् नेपाली युवालाई फसाउन काम भइरहेको उहाँको भनाइ छ ।
सांसद छिरिङ डम्डुल लामा भोटेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र बिचौलिया तथा दलाललाई प्रश्रय दिने शैलीमा सरकारले काम गरिरहेको आरोप लगाउनुभयो ।
सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले सरकारले लोकतन्त्रको धज्जी उडाएर मनोमानी रूपमा काम गरिरहेको आरोप लगाउनुभयो । अहिलेका शासकबाटै लोकतन्त्र सङ्कटमा परेको उहाँको भनाइ छ ।
सांसद जावेदा खातुन जागाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाईन्सको जहाज दुर्घटनाका मृतकका परिवारले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषय संसद्मा उठाउनुभयो ।