विराटनगरमा सरकारी अस्पताल परिसरमै सूर्तिजन्य पदार्थको खुलेआम् बिक्री

<span class='c1'>विराटनगरमा सरकारी अस्पताल परिसरमै</span> <span class='c2'>सूर्तिजन्य पदार्थको खुलेआम् बिक्री</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरका सटर भाडा लिएर खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको छ । अस्पतालको मुख्य प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटहरमा सञ्चालित पसल–व्यवसायमा खुलआम सूर्तिजन्य पदार्थको बिक्री वितरण हुने गरेको हो ।

सूर्तिजन्य पदार्थ (नियमन र नियन्त्रण गर्ने) ऐन २०६८ ले सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थादेखि सार्वजनिक स्थलमा यसको बिक्री र वितरण समेतलाई रोक लगाएको छ । तर, संघीय सरकारको स्वामित्वमा रहेको कोशी अस्पताल परिसरमै ऐनको बर्खिलाप हुने गरि सूर्तिजन्य पदार्थको बिक्री वितरण भईरहँदा समेत अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालय मौन रहँदै आएको छ ।अस्पतालसँग करार सम्झौतामा व्यवसायका लागि सटर भाडामा लिएका व्यापारिहरुले भने सूर्तिजन्य पदार्थको बिक्रीका लागि कोशीका कर्मचारीले समेत सुझाव दिने गरेका छन् । कर्मचारीलाई अस्पताल परिसरकै सटरबाट सूर्तिजन्य पदार्थको व्यापार सहजीकरण हुने गरेको हो । एक पसलेका अनुसार कतिपय कर्मचारीले भने सूर्तिजन्य पदार्थ खाएपछि पैसा समेत नदिने गरेका छन् । उनीहरुले कि बिक्री रोक्नुपर्ने नत्र सित्तैमा दिनुपर्ने आशय दर्शाउने गरेका हुन् ।


कोशी अस्पतालको स्वामित्वमा रहेको सटर मासिक ९ हजारमा भाडामा पसल थापेका एक व्यापारीले सूर्तिजन्य पदार्थको खुलेआम बिक्री वितरण हुने गरेको समयमा केहि समय अगाडी त्यसलाई प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्धित कार्यका लागि अस्पतालका कर्मचारी नै सहजीकरण गर्ने लाइनमा उभिएपछि अहिले खुलेआम बिक्री हुने गरेको बताए ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एकवर्ष अगाडी सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउँदै कानुनको पूर्णतः कार्यन्वयन गर्न अभियान नै सञ्चालन गरेको थियो । राज्यको पैसा खर्च गरेर सुरु गरिएको अभियानले सचेतना फैलाउन केहि प्रयास गरेपनि कानुन कार्यन्वयनमा भने सरकारी निकाय नै चुकेको देखिन्छ ।
कोशी अस्पतालको सटरबाट गुटखा, खैनी र चुरोटको बिक्री हुँदै आएको छ । अहिलेसम्म अस्पताल प्रशासनले कुनैपनि सरोकार नराखेको व्यापारीहरु बताउँछन् । अस्पतालकै प्रशासन भवन र परिसरभित्रपनि सूर्तिजन्य पदार्थका खोलहरू यत्रतत्र छरिएको सजिलै देख्न पाइन्छ । सटरबाट मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने सूर्तिजन्य पदार्थको बिक्री वितरण अस्पताल परिसरबाटै हुँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएको पाइदैन ।

सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने नियमावली २०६८ ले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनि स्पष्ट किटान गरेपनि त्यो कागजमा मात्रै सिमित हुन पुगेको हो । यस्तै सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ ले सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थादेखि सार्वजनिक सवारीका टिकट काउण्टरसम्मलाई सार्वजनिक स्थल मानेको छ र यस्तो स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा पुर्ण प्रतिवन्ध लगाएको छ । यस्तै ऐनको दफा ११ को उपदफा ३ बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन भनि स्पष्ट किटान गरेपनि अस्पताल वरपरका अधिकांश पसलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण भइरहेको छ ।
प्रदेश नं. १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफैं सार्वजनिक स्थलदेखि १ सय मिटर भित्रका घर पसलमा टाँगिएको गुटखा, सूर्तिजन्य पदार्थलाई हटाउँदै सुरु गरेको अभियान उनको मन्त्री पदबाट राजीनामासँगै सकिएको छ । विराटनगरका बजार र सार्वजनिक स्थलमा खुलेआम सूर्तिजन्य पदार्थको सेवन एवं बिक्री वितरण चलिरहँदा सम्बन्धित निकायले व्यवस्था नगर्नु कानुन कार्यन्वयन र अनुगमनमा सरकारी संयन्त्र फितलो देखिनुको एउटा नमूना नै मान्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्