कटान उच्च जोखिम मानिने मोरङका चार नदीका १५ स्थानमा तटबन्ध गरिदैं

कटान उच्च जोखिम मानिने मोरङका चार नदीका १५ स्थानमा तटबन्ध गरिदैं

विराटनगर । मोरङमा चारवटा नदीका १५ स्थानमा तटबन्ध योजना अगाडी सारिएको छ । वर्षात्मा कटान जोखिम देखिएका बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाका १५ स्थानमा तटबन्ध गरिने भएको हो । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका ७ स्थानमा र अन्य तीनवटा खोलाका ८ वटा स्थानमा तटवन्ध गर्नका लागि बोलपत्र आह्वान गरिसकेको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीयवासी र जनप्रतिनिधिको सुझाव अनुसार तटवन्ध गरिने स्थानको छनौट गरिएको हो ।

बर्षायाम सुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरि काम अघि बढेको आयोजना प्रमुख श्रेष्ठको दावी छ । फागुनको दोश्रो सातादेखि तटवन्ध निर्माणका काम शुरु गर्ने गरी टेण्डर आह्वान भईसकेको उहाँले बताउनुभयो । बर्षायाम अघि नै निर्माण कार्य सम्पन्न गर्ने गरि छुट्टा छुटै प्याकेजमा टेण्डर आह्वान गरिएको छ । मोरङमा बक्राहा, लोहन्द्रा, चिसाङ र डाँस–बक्राहाको कटान जोखिम उच्च रहेको छ । बर्षेनी लाखौंको धानवाली नष्टसँगै सयौैं घरहरु नष्ट हुने गरेका छन् । हजारौं घरहरु डुवानमा पर्ने गरेका छन् । नदी नियन्त्रणका लागि दीर्घकालिन योजना निर्माण नहुँदासम्म नदी तथा खोलाको आसपासका रहेका बासीन्दाहरु प्रत्यक्ष रुपमा पीडित बन्दै आएका छन् ।

बक्राहा नदी नियन्त्रणका लागि दीर्घकालिन योजना आवश्यक रहेको मिक्लाजुङका देवी निरौलाले माग गर्नुभयो मिक्लाजुङ ६ मा बक्राहाको सबैभन्दा धेरै जोखिम स्थानीयले खेप्दै आएको उहाँले बताउनुभयो । नदी भन्दा बस्ती होचो स्थानमा रहेकाले हरेक वर्ष बाढी वस्तीमा पस्ने गरेको छ । बर्षायाम सुरु भएदेखिनै स्थानीयवासीले बाढीको समस्या भोग्दै आएका छन् ।
कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले मिक्लाजुङ ६ मा ३ सय मिटरको तटवन्ध निर्माण गर्ने भएको छ । यसका लागि ९२ लाखको टेण्डर आह्वान गरिएको आयोजनाका सूचना अधिकारी सुनिल साहले जानकारी दिनुभयो । बक्राहाको शिरदेखि पुछारसम्मका लागि ७ स्थानमा तटवन्ध गरिने छ । उर्लाबारी ३ र ८ मा ३५० मिटर, पथरीशनिश्चरे ५ मा १ सय मिटर, सुनबर्षी ६ मा २७५ मिटर, सुनबर्षी ७ मा ३१५ मिटर र रतुवामाईमा १८३ मिटरको तटवन्ध गरिने सूचना अधिकारी साहले बताउनुभयो ।

वक्राहा बाहेक लोहन्द्रा खोला बग्ने बेलबारी १ र ५, ग्रामथान ४, कटहरी २, चिसाङ बग्ने कानेपोखरी ५, कानेपोखरी ८, रंगेली ८, र डाँस–बक्राहा बग्ने पथरीशनिश्चरे ८, ९ र १० मा तटवन्ध गरिने भएको छ । बस्ती बढेसँगै नदी तथा खोलाहरु साँघुरिदै गएपछि बाढी वस्तीमा पस्ने गरेको प्राविधिकहरु बताउँछन् । खोला बग्ने क्षेत्र साघुरिदै जाँदा वर्षात्मा आउने बाढी बस्तीमा पस्ने गरेको हो । पुरानो नक्सा अनुसार तटवन्ध गर्नका लागि दवाव दिने कारणले हरेक वर्ष क्षति हुने गरेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका इञ्जिनियर रिन्जे गुरुङले बताउनुहुन्छ । नदीलाई फराकिलो ठाउँ चाहिन्छ, स्थानीयबासी जमिन छाड्न मान्दैनन्, अनि वर्षेनी आफैं जोखिममा पर्दछन्, गुरुङले भन्नुभयो । नदिको वहाव क्षेत्र नदिँदा बढी समस्या हुने गरेको छ । एक स्थानमा तटवन्ध गर्दा ४० देखि ५० हेक्टर जमिन क्षतिबाट बच्ने गर्दछ ।
बक्राहा नदी नियन्त्रणका लागि आगामी आर्थिक वर्षदेखि एशियाली विकास बैक (एडिवी) ले काम गर्ने भएको छ । एडिवीले दीर्घकालिन रुपमा नदी नियन्त्रणका लागि काम गर्ने गरि सर्भेको काम गरिरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बताएको छ । आयोजनाले तटवन्ध नगरेका स्थानमा एडिवीले अर्को वर्षदेखि काम सुरु गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्