विराटनगरका उद्योगीको गुनासो : पीसीएले खिचेका फायल चारवर्षसम्म फर्कदैनन्

विराटनगरका उद्योगीको गुनासो : पीसीएले खिचेका फायल चारवर्षसम्म फर्कदैनन्

विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पोष्ट कस्टम अडीट, पीसीए)ले भन्सार महशुल छलेको आशंकामा खिचेका फायल चारवर्षसम्म राख्न नमिल्ने विराटनगरका उद्योगी व्यवसायीले बताएका छन् । उद्योगीसँग पीसीए कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले चारवर्षसम्म विवादको निरुपण नहुँदा आतंकित हुनुपरेको गुनासो गरेका हुन् ।

त्यसका लागि पीसीएले खिचेका फायलको अध्ययन गर्ने अवधी संशोधन हुनुपर्ने उद्योगी–व्यवसायीको तर्कछ । वस्तु आयात गरेर बिक्री गरिसकेपछि पीसीए कार्यालयले नमूना माग्ने गरेको छ, छलफलका क्रममा उद्योगीहरुले गुनासो गरेका थिए, त्यसबछि बजारमा बिक्री गरिसकेको ठाउँमा पुगेर पुरानो सामानको टुक्रा जुटाउनु पर्ने हुन्छ ।
भन्सार छलि भए÷नभएको यकिन गर्नका लागि पीसीए कार्यालयले दु्रत परीक्षण टिम बनाउनुपर्ने सुझाव उद्योगी–व्यवसायीले दिएका थिए । नयाँ आर्थिक ऐनमा यसको अवधी संशोधन गरेर एकवर्ष कायम गर्दा सबैभन्दा उत्तम हुने उनीहरुको विचार थियो । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भन्सारले व्यापार सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । त्यसका लागि आपूर्तिकर्ताले समेत आयात अनुमति नलिएका वस्तु आयात गर्न एलसी खोल्न नहुने उहाँको भनाई छ ।

उद्योगी पवन सारडाले उद्योगीहरु सरकारका नीतिगत निर्णयको शिकार भएपछि उत्पादनमूलक क्षेत्रबाट विस्तारै शेयर लगानीतर्फ आकर्षित भएको बताउनुभयो । व्यापार छोडेर शेयरमा लगानी गर्नेको संख्या बढ्दै गएको बताउँदै उद्योगी सारडाले यो धेरै किमिसमा नीतिका कारण उत्पन्न परिस्थिति भएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले नयाँ आर्थिक ऐनमा उद्योगी–व्यवसायीको मागलाई सम्बोधन गर्ने प्रयत्न गरिने आश्वासन दिनु भएको थियो । उहाँले भन्सार बिन्दुमै वस्तुको मूल्यांकन स्वःघोषणा गर्ने मौका दिएका उद्योगी–व्यवसायी चुक्दा भन्सार जाँचपास परीक्षण कार्यालय आवश्यक परेको बताउनुभयो ।

महानिर्देशक दाहालले भन्सार बिन्दुमा पैठारीकर्ता इमानदार भएर प्रस्तुत भए जाँचपास परीक्षण कार्यालयको औचित्य समाप्त हुने दावी गर्नुभयो । राजश्वको लक्ष्य संकलन गर्नुपर्ने जिम्मेवार कार्यालय हैन, महानिर्देशक दाहालले भन्नुभयो–घोषणामा ‘चलिहाल्छ’ नी सोच राख्नेहरुका लागि मात्रै यसले परीक्षण गर्ने हो ।
उहाँले भन्सार ऐन पूर्ण रुपमा कार्यन्वयन भए जाँचपास परीक्षण कार्यालयको औचित्य सकिने बताउँदै त्यसका लागि पैठारीकर्ता इमान्दार हुनुपर्ने औल्याउनुभयो । पैठारीकर्ता समेत सरकारले आयात स्वीकृत नै नदिएको वस्तु जर्बरजस्ती भित्र्याउन एलसी खोल्ने गरेको भन्दै महानिर्देशक दाहालले नीतिगत व्यवस्था नभएका वस्तु भन्सारले जाँचपास नगर्ने बताउनुभयो ।
एड्भान्स रुलिङको उपयोग गर्न उद्योगी–व्यवसायीलाई सुझाव दिदैं महानिर्देशक दाहालले भन्सार कार्यालयले व्यापार सहजीकरण मात्रै गर्नसक्ने बताउनुभयो । करदातासँग भन्सार कार्यालयको सम्बन्ध सुमधुर हुने बताउँदै उहाँले प्राविधिक कुरा लिएर विभागमा आउनु नपर्ने र नीतिगत कुरा लिएर भन्सार कार्यालयमा जानुनपर्ने बताउनुभयो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले धेरै उद्योगी–व्यापारी आयात गर्नै नमिल्ने सामानको एलसी खोलेर फस्ने गरेको बताउनुभयो । उहाँले उद्योग स्थापनादेखि उत्पादनसम्मका लागि कानुनी प्रक्रिया बुझेर मात्रै काम थाल्न बताउनुभयो । युवा उद्यमी पारस लुनियाले आन्तरिक खपतका लागि आवश्यक पर्ने मालवस्तु उत्पादनका लागि सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भन्सार प्रशासनमा पछिल्लो समय केहि सुधार आएको बताउनुभयो ।
कार्यक्रममा भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख भन्सार परीक्षण प्रशासक बिष्णुराज ढकालले वस्तु आयात गर्दा भन्सार बिन्दुमा भएका कैफियतको अन्तिम निक्र्यौल गर्ने कार्यालयसँग कुनै असजिलो नहुने बताउनुभयो । उहाँले भन्सार बिन्दुमै त्रुटी नगरे भन्सार जाँचपास परीक्षण कार्यालयसम्म कसैका प्रज्ञानपत्र र फायलहरु नतानिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्