निफ्राको मूल्य आज १० प्रतिशतले घट्यो

निफ्राको मूल्य आज १० प्रतिशतले घट्यो

हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ। सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।

सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो। मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ। सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन्। बेच्नेतिर संख्या बढ्दै गइरहेको छ।

यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो, जसले गर्दा सेयर बजारमा यो कम्पनी निकै चर्चामा रहेको थियो ।

बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ। कारोबार सुरू भएको दिनदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको थियो। कम्पनीको वित्तीय स्थिति मजबुत छैन भने बिजनेस बढाउन सबभन्दा ठूलो चुनौती हुन्छ।

कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।

निफ्रामा व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा पाँच वर्षका लागि न्यूनतम एक करोड रूपैयाँ जम्मा गर्नुपर्छ। जसमा दिने ब्याजदर जम्मा ७.२५ प्रतिशत छ। जबकि वाणिज्य बैंकहरूले नै अहिले योभन्दा धेरै, ८ प्रतिशतसम्म ब्याज दिन्छन्।

निक्षेप मात्रै नभई ऋणपत्र लगायत उपकरण जारी गरेर पनि कम्पनीले स्रोत जुटाउन सक्छ। वाणिज्य बैंकका ऋणपत्रको ब्याजदर नै हाल ९ प्रतिशत हाराहारी छ। व्यवसायमा आक्रामक रहेका बाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गरेर स्राेत जुटाउन निफ्रालाई सबभन्दा ठूलाे चुनाैती छ।

अर्कोतर्फ लामो अवधिका लागि ठूलो रकम निक्षेप जम्मा गर्नेहरू एकदमै कम हुन्छन्। यस्तो अवस्थामा कम्पनीले आगामी दिनमा कसरी बिजनेस गर्न सक्छ भन्ने प्रश्न खडा भएको छ।

निफ्राको अहिलेसम्मको वित्तीय स्थिति नाजुक छ। संचालनमा रहेको उस्तै प्रकृतिको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) सँग तुलना गरेर निफ्रालाई हेर्न सकिन्छ।

एचआइडिसिएलले जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्छ भने निफ्राले जलविद्युतसहित अरू पूर्वाधार आयोजनामा पनि ऋण लगानी गर्छ। दुवै सरकारी बहु-स्वामित्वका कम्पनी हुन्।

धेरै सूचकमा निफ्राभन्दा एचआइडिसिएल माथि छ। तर निफ्राको बजार मूल्य एचआइडिसिएलको भन्दा माथि पुगेको थियो।

निफ्राले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३५ करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा नाफा ५ करोडले घटेको हो। उसकोभन्दा कम चुक्ता पुँजी भएको एचआइडिसिएलले छ महिनामा ४२ करोड ८३ लाख खुद नाफा कमाएको छ।

१२ अर्ब चुक्ता पुँजी हुँदा निफ्राको प्रतिसेयर आम्दानी जम्मा ५ रूपैयाँ ८७ पैसा थियो भने २० अर्ब हुँदा ३ रूपैयाँ ५२ पैसा मात्रै हुन्छ। जबकि १६ अर्ब ५० करोड चुक्ता पुँजी भएको एचआइडिसिएलको ५ रूपैयाँ १९ पैसा छ।

इक्रा नेपालले निफ्राको आइपिओलाई दिएको रेटिङ ४ प्लस छ। इक्राले बलियोका आधारमा कम्पनीहरूलाई क्रमशः १ देखि ५ सम्मको नम्बर प्रदान गर्छ, जसमा ४ र ५ नम्बरका कम्पनी कमजोर मानिन्छन्।

निफ्राको प्रबन्धपत्र अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८२ पैसा हुने अनुमान छ। यदि अनुमान पुगेछ भने पनि दुई वर्षपछि हुने त्यो प्रतिसेयर आम्दानीबाट लगानीकर्ताले कति प्रतिफलको आश गर्ने?
काराेबारीको उद्देश्य मूल्य उतारचढावबाट नै फाइदा लिने हुन्छ। दिनदिनै दस प्रतिशत बढेपछि कारोबारी सक्रिय हुनु नौलो थिएन।

यहाँ केही तथ्यांकहरू केलाइएको मात्रै हो, ताकि कम्पनीका बारेमा जानकारी नै नलिई कसैले लगानी नगरून्। सेयर खरिद वा बिक्री जे गरे पनि, त्यसबाट हुने नाफा वा नोक्सान बेहोर्ने स्वयं आफैं हुने भएकाले सुझबुझपूर्ण निर्णय गरौं। -सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्