व्यापारका लागि भोटखोलाबाट विराटनगर झर्छिन् डोल्मा

व्यापारका लागि भोटखोलाबाट विराटनगर झर्छिन् डोल्मा

एन्जु शिवाकोटी
विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा वर्षेनी हिमाली भेगबाट जीविकोपार्जनका लागि मधेश झर्ने गर्छिन् । गतबर्ष झै उनी यसबर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी थिइन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गर्छिन् ।

अघिल्ला वर्षहरुमा उनी मधेशका बजारहरुमा जडिबुट्टी लिएर डुल्ने गर्थिन् भने यस बर्ष निश्चित ठाँउ बनाएइकी छन् । हरेक बिहान इटहरीबाट १० बजे विराटनगर हनुमान मन्दिर नजिकैको ठाकुरवाडी रोड जाने बाटोको सडक पेटिमा जडिबुटी फिजाँएर व्यापार गर्छिन् ।
माघमा मधेश झरेकी डोल्मा बैशाखको अन्तिम सातातिर घर फर्कने बताउछिन् । उनी भन्छिन्,‘जीविकोपार्जन गर्न अरु कुनै माध्यम छैन, यस जडिबुट्टीको व्यापार घर धान्न राम्रो विकल्प बनेकको छ ।’

डोल्मा मात्र होइन संखुवासभाबाट धेरै युवायुवतिहरु हिउँदमा जडिबुट्टीको व्यापार लिएर आउने गर्छन् । डोल्माको साथमा उनका दाई छिरिङ शेर्पा पनि आएका छन् । डोल्मा विराटनगरमा व्यापार लिएर इटहरीबाट विहान आउने गर्छिन भने उनका दाई इटहरीबाट इनरुवा जाने गर्छन् ।
बर्खाभरि हिमालका जंगलमा, पहरामा खोला किनारबाट जडिबुट्टी आफू र दाई मिलेर बटुल्ने गरेको डोल्माले बताइन । उनले भनिन,‘यो हाम्रो पुस्तेनी व्यापार हो । जडिबुट्टीहरु लिएर पहिला बुबाआमा मधेश आउने गर्नु हुन्थ्यो । दाई र मलाई आमाबुबाले नै जडिबुट्टी चिनाउनु भयो । र कस्तो ठाउँमा कस्ता जडिबुट्टी पाइन्छ भनेर सिकाउनु भयो ।’

मधेशका बजारहरुमा जडिबुट्टीको माग धेरै हुने गरेको र आफ्नो घरको आर्थिक अवस्थामा यस व्यापारले सुधार ल्याएको डोल्माको भनाइ छ । हरेक बर्ष पूर्वी मधेशका विभिन्न बजारहरुमा जडिबुट्टी लिएर आउने गरेको उनले बताइन् ।
बिहान १० बजे देखि ठाकुरवाडी रोड बसेकी उनी बेलुकीको ५ बजेसम्म आफ्नो व्यापार चलाउँछिन् । दिनको ३ हजार देखि ५ हजार सम्मको व्यापार हुने गरेको डोल्माले बताइन् । सबैभन्दा बढी सालधुप बिक्री हुने गरेको उनको भनाई छ । सालधुपको पुजा गर्दा धुपको रुपमा प्रयोग गर्ने गरिन्छ ।

‘यो मौसममा संखुवासभामा अत्याधिक चिसो हुने गरेकाले बर्खाको समयमा जडिबुट्टी बटुल्ने र हिँउदमा मधेशमा ल्याएर बेच्ने गछौं ।’ डोल्माले भनिन,‘हिउँदमा जाडो पनि छलिने र व्यापार पनि राम्रो हुने गर्छ ।’
हिमाली क्षेत्रमा पाइने पाँचऔले, पाखन्बेद,बुढो ओखती, सालधुप, चिराइतो, भेडाको घिउ, कौडा, चिनफिङ आदि जडिबुट्टीहरु मधेश ल्याएर बिक्री गर्ने गरेको डोल्माले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्