विराटनगर–७ मा शिलबन्दी गोदाम भित्रको ४० टन दाल : नष्ट गर्ने की परीक्षण भन्नेमा द्विविधा

विराटनगर–७ मा शिलबन्दी गोदाम भित्रको ४० टन दाल : नष्ट गर्ने की परीक्षण भन्नेमा द्विविधा

विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढेको छ । दाल प्याकेजिङ गरिएको बोरामा उत्पादन र उपभोग्य अवधी परिवर्तन गरिएको लेवल टाँस गरिएको पाइएको छ । कारवाही गर्ने निकायलाई बोराको लेवललाई आधिकारिक मान्ने की बोरा भित्रको दालको परीक्षणलाई आधिकारिक मान्ने भन्ने विषयले अहिले असजिलो बनाईं रहेको हो ।

संयुक्त बजार अनुगमन समितिले विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको दाल गोदाममा गत फागुन १२ गते नै शिलबन्दी गरेको थियो । शिलबन्दीसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले तीनलाख रुपिँया जरिवाना समेत भराएको थियो ।
विदेशी निर्यातकर्ता ईटीजीमार्फत ५० लाख रुपिँयाको ४८ टन दाल आयात गरेको जैसानीले गत मंसिर १७ गते भन्सार जाँचपासपछि दाल नेपाल भित्र्एिको थियोे । ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र फिड ट्रेड) प्रमाणपत्रसहित जैसानीलाई पठाएको थियो । ईटीजी संसारभर दाल उत्पादक र निर्यातमा प्रख्यात मानिन्छ ।
आयातकर्ता जैसानीलाई समेत खाद्य प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले ‘चारित्रिक गुणस्तर अनुरुप अनुकुल पाइएको’ भनेर स्वीकृति प्रदान गरिदिएको छ । त्यसकै आधारमा भन्सार जाँचपास समेत स्वीकृति भएको थियो ।

तर, जैसानीले आयात गरेको ४८ टनमध्ये गोदाममा फेला परेको ४० टन दाल प्याकेजिङ गरिएको दुईहजार ७०० बोराको बाहिरी भागमा दुईवटा लेवल भेटिएको छ । उत्पादक कम्पनीले बोरामै प्रिन्ट गरेको लेवलमा सन् २०१३ मा उत्पादन भई २०१५ सम्ममा दाल उपभोग गर्ने अवधी लेखिएको छ । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेवलमा भने सन् २०२० मा उत्पादन भई २०२२ मा उपभोग्य मिति उल्लेख गरिएको फेला परेको छ । खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम शिलबन्दी गरिएपछि दुई निकायबीच कारवाही बढाउने विषयमा भने अन्यौलता छाएको छ ।

प्याकेजिङ गरिएको बोरामा टाँस गरिएको लेवल दुई प्रकारको भेटिएपछि स्थलगत रुपमा तीनलाख रुपिँया जरिवाना भराएर शिलबन्दी गरिएको दाल नष्ट गर्ने की परीक्षण ? भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य–प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगर निर्णयमा पुग्न निक्कै सकस परेको हो । वािणज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार निर्यातकर्ताले कोरोना संक्रमणका कारण पुरानो बोरामा नयाँ दाल प्याक गरेको आशयसहितको प्रमाण समेत कागजातमा समावेश गरेको पाइएपछि दालको गुणस्तर परीक्षण गर्नुपर्ने देखिएको छ । आयात गर्नुपूर्वका कागजात, दालको टिकाउ अवधी र पैठारीकर्ताको समेत कागजातका आधारमा पुरानो बोरामा नयाँ दाल नै राखिएको हो की भन्ने केहि विश्वास उत्पन्न भएको निमित्त प्रमुख पोखरेलको भनाई छ ।
वाणिज्यको विराटनगर कार्यालयले त्यसको विषयमा विभागलाई पत्र नै लेखेर समस्याको बारेमा जानकारी गराएको छ । त्यस बाहेक खाद्य, प्रविधि तथा गुणनियन्त्रण कार्यालयलाई त्यसको ल्याब परीक्षण गरिदिन माग गरिएको पोरखेलले जानकारी दिनुभयो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको २०७६ कार्तिक १७ गते गरेको निर्णय अनुसार दालको गुणस्तर परीक्षण गर्न मिल्दैन । उत्पादकले लेवल विवरणमै उपभोग्य अवधी बारे स्पष्ट रुपमै उल्लेख गरेको अवस्था भएमा त्यस्ता वस्तुको विश्लेषण गर्न आवश्यक नपर्ने निर्णयसहितको परिपत्र मातहतका कार्यालयमा गरिएको थियो । विभागको निर्णय अनुसार त्यस्ता खाद्य पदार्थ बरामद भएको अवस्थामा खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम मुचुल्का लगायत लेवलको बारेमा कारवाही गर्ने स्पष्ट निर्देशन गरिएको हो ।
खाद्य प्रविधि कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले कारवाहीका लागि कुनै पनि द्विविधा नभएको बताउनुभयो । उहाँले वाणिज्यले पत्राचार गरे÷नगरेको विषयमा आफूलाई जानकारी नभएको दावी गर्नुभयो । खाद्य ऐन र नियमावली र विभागको कार्यदेशका आधारमा दाल नष्ट गर्नुपर्ने प्रमुख रिजालको भनाई छ ।

दाल आयतकर्ता जैसानीका निर्देशक निखिल बोहराले दालको गुणस्तर परीक्षणपछि मात्रै नष्ट गर्ने की नगर्ने भन्ने विषयमा यकिन गरिदिन माग गर्दै दुवै कार्यालयमा निवेदन समेत दिएको जानकारी दिनुभयो । बोहराले तेस्रो मुलुकबाट आयात गरिएको दालमा कुनै त्रुटी नभएको र आठ वर्ष अगाडी प्याकेजिङ भएको दाल अहिलेसम्म टिक्न नसक्ने जिकीर गर्नुभयो । दालमा हैन बोरामा त्रुटी छ, निर्देशक बोहराले दावी गर्दै भन्नुभयो–त्यो विवरण उल्लेख गरेको कागजातसहित भन्सार जाँचपास गराएका हौं ।
तर, नियम अनुसार नमिल्ने भएका कारण दालको गुणस्तर परीक्षण गर्ने की लेवल हेरेर नष्ट गर्ने भन्ने विषय टुङ्ग्याउन असजिलो देखिएको सरकारी अधिकारीहरु बताउँछन् । परीक्षण नगरी नष्ट गर्दा खानयोग्य रहेछ भने खाद्य सुरक्षामा समेत त्यसले असर गर्छ की भन्ने चासो राख्नेहरु पनि उतिकै रहेको पाइन्छ ।

दालमा झोलियो व्यापारी झगडा
जैसानी ट्रेड कन्सर्नको गोदाममा शिलबन्दी भएपछि एकाएक विराटनगरका धेरै व्यापारीहरुको चासो जोडिएको छ । विराटनगरमा पछिल्लो समय औद्योगिक–व्यापारिक केन्द्रमा झाँङगिएको राजनीति दालमा पुगेर झोलिएको हो । कानुनी प्रक्रिया पूरा गरेर भित्रिएको भएपनि कानुन अनुसारकै बोरामा दोहोरा लेवल लगाउन नमिल्ने तर्कलाई एकाथरी व्यापारी–उद्योगीले केन्द्रीत गरेर दाल नष्ट गर्नुपर्ने दवाव बढाएका छन् । अर्कोथरीले भने दालमा समस्या नभएर बोरामा मात्रै प्राविधिक त्रुटी रहेकोले परीक्षणपछि मात्रै नष्ट गर्न माग गरेका हुन् ।
अर्कोतर्फ दुई सरकारी निकायबीच समेत यसले खटपट् सिर्जना गरेको छ । खाद्य सुरक्षाका हिसाबले ४० टन दाल परीक्षण बिनै नष्ट नगर्ने की भन्ने अवस्थामा वाणिज्य कार्यालयका अधिकारीले मनसाय राखेका छन् । तर, खाद्य प्रविधिसँग सम्बन्धित अधिकारीले भने कसैलाई विवेक पु¥याउने नाममा आगामी दिनमा कानुन कार्यन्वयन गर्ने बाटोमा अवरोध आफैं तेर्साउन नसक्ने मनसाय राख्दै आएका हुन् । खाद्य ऐन र नियमावली कार्यन्वयनका लागि विभागले बनाएको कार्यविधि अनुसार लेवलमै त्रुटी देखिएका कारण दाल नष्ट नै गर्नुपर्ने पक्षमा खाद्य प्रविधि कार्यालयको जिकीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्