कोरोनाले संकुचित अर्थतन्त्र पुनः लयमा : गभर्नर अधिकारी

कोरोनाले संकुचित अर्थतन्त्र पुनः लयमा : गभर्नर अधिकारी

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो ।

सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग पु¥याउने योजनासहित निजी क्षेत्रलाई राहतका कार्यक्रम नेपाल राष्ट्र बैंकले अगाडी सारेसँगै अर्थतन्त्र सकारात्मक बन्दै गएको उहाँले बताउनुभयो । कोरोना संक्रमणका कारण निजी क्षेत्र हतोत्साहित हुँदै गएको अवस्थामा मौद्रिक नीतिमार्फत गरिएको सम्बोधन महत्वपूर्ण भएको उहाँको भनाई थियो ।
उहाँले कर्जा प्रवाह सकारात्मक हुँदा रोजगारीको अवसर पुनः सिर्जना भएको दावी गर्दै देशको आर्थिक क्रियाकलाप सकारात्मक भएको बताउनुभयो । उद्योगी–व्यवसायीले बैंकबाट ऋण लिएर उत्पादनका क्षेत्रका कम लगानी गर्ने गरेको समस्यालाई तत्काल हटाउन आवश्यक रहेको बताउँदै उहाँले आयत प्रतिस्थापनको क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कोरोना सक्रमणका कारण चुनौती मात्रै सामना गर्नु नपरेको बताउँदै गभर्नर अधिकारीले केहि सुनौलो अवसर सिर्जना भएकोले त्यसलाई निरन्तरतामा राख्नुपर्ने धारणा राख्नुभयो । डिजिटल नेपालको अवधारणलाई कोरोना क्राईसिसले जर्बरजस्त स्थापित गरेको छ, गभर्नर अधिकारीको भनाई थियो–क्यासलेस कारोबार हट्दै बैकिङ कारोबारको अवधारणाको बलियो आधार तयार भएको छ ।
कार्यक्रममा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतिलाल दुगडले सरकारले समृद्धिको लागि महत्वपूर्ण आधार मानेको निजी क्षेत्रलाई ब्यूरोक्रेसीले चोर ठानेको भन्दै आक्रोश पोख्नुभयो । जतिसुकै चोर ठानेपनि सबैभन्दा कम चोर निजी क्षेत्र नै हुन् दुगडले भन्नुभयो–निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर सम्मान गर्नुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अब निजी क्षेत्र सरकारका योजनामा महत्वपूर्ण हिस्सेदार बन्ने दावी गर्नुभयो । उहाँले महासंघले दशवर्षे अवधारणा अगाडी बढाउँदै २ अकंको आर्थिक बृद्धि गर्ने योजना अगाडी सार्ने तयारी गरिरहेको बताउनुभयो । कोरोनाले संकुचन पारेको अर्थतन्त्र विस्तारै उठ्दै सकारात्मक गतिको लयमा फर्केको छ, अध्यक्ष गोल्छाले भन्नुभयो–मौद्रिक नीति सकारात्मक हुँदा परेको प्रभाव हाम्रा लागि खुशीको कुरा हो ।
महासंघले आगामी चैत मसान्तसम्ममा दशवर्षे अवधारणा अगाडी सार्ने योजना रहेको जानकारी दिदैं एक सय बिनियनको अर्थतन्त्र र २२ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम घोषणा गरिने अध्यक्ष गोल्छाले भन्नुभयो । यस्तो कार्यक्रमले सरकारको नीति तथा कार्यक्रमलाई समेत सहयोग गर्ने बताउँदै अध्यक्ष गोल्छाले दश वटा क्षेत्रमा गरिने सुधारका लागि एकसय सुझाव तयार गरिने बताउनुभयो ।

अझै पनि पर्यटन र हवाई उड्डयन क्षेत्रमा कोरोनाको प्रभाव रहेको बताउँदै उहाँले त्यसलाई हटाउनका लागि विशेष कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । राष्ट्र बैंकले समेत अतिप्रभावित क्षेत्रको सूचीमा राखेर २० प्रतिशत सहुलियतको घोषणा गर्नुपर्ने उहाँको तर्क थियो । निजी क्षेत्र अब सतही रुपमा मात्रै प्रस्तुत नहुने बताउँदै अध्यक्ष गोल्छाले सरकारले ल्याएका प्रत्येक कार्यक्रममा साझेदार बन्न गहिकिलो रुपमा उभिने बताउनुभयो । त्यसका लागि निजी क्षेत्रको प्रतिनिधित्व गर्ने प्रत्येक संस्थाहरुबीच विचारको मर्जर हुन आवश्यक रहेकोले त्यहि अनुरुप कार्यक्रममा समन्वय र साझेदारी गरिने उहाँको धारणा थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले सरकार राजश्वमुखी मात्रै बन्दा उद्योगी–व्यवसायी आयातमुखी भएको बताउनुभयो । उहाँले आयातमुखी राजश्व प्रणालीलाई चाँडो भन्दा चाँडो विस्थापित गरेर उत्पादनमुखी आर्थिक प्रणालीलाई बलियो बनाउन उद्योगी–व्यवसायीका योजना आवश्यक रहेको बताउनुभयो । अध्यक्ष मोरले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको योजनालाई अहिलेको प्रशासनिक संयन्त्रले असर गर्ने बताउँदै छुट्टै संरचना तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

यसैगरी नेपाल चेम्बर्स अफ कमर्सका कार्यवहाक अध्यक्ष राजेन्द्र मल्लले प्रत्येक क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडी बढ्न सक्दा मात्रै अर्थतन्त्रको गति तिव्रतर रुपमा बृद्धि हुने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले उर्जामा आत्मानिर्भर बन्दै जाँदा बिद्युतीय सवारीको भन्सार महशुल घटाएर उपभोग बढाउनुपर्ने बताउनुभयो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मौद्रिक नितीले समेटेको निजी क्षेत्रलाई आगामी बजेटले अझै समेट्ने विश्वास व्यक्त गर्नु भएको थियो । संगठनको ४८ औं साधारणसभाले नयाँ नेतृत्व शनिबार चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्