म्याद गुज्रेको ४० टन दाल प्रकरण : विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा

म्याद गुज्रेको ४० टन दाल प्रकरण : विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा

विराटनगर । जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को नामबाट आयात भएको ४० टन दाल प्याकेजिङ गरिएको २ हजार ७०० बोरामा दोहोरो लेवल भेटिएसँगै कारवाहीमा देखिएको अन्यौलता हटाउन विषयगत कार्यालय आ–आफ्नै छानविन र अनुसन्धानमा जुटेका छन् । अफ्रिकन मुलुक मुजाम्बिकमा उत्पादन भई विराटनगरसम्म आईपुगेको दाल भण्डारण गरिएको गोदाम शिलबन्दीपछि भईरहेको चर्चा र परिचर्चाकाबीच आयात प्रक्रियामा जोडिएका सरकारी निकायले आ–आफ्नै त्रुटीको छानविन र अनुसन्धान सुरु गरेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले आयातका क्रममा जोडिएका सबै निकायले आ–आफ्नो कमजोरीको पाटो केलाईरहेको जानकारी दिनुभयो । दाल नेपाल भित्र्याउनका लागि अपनाउनु पर्ने प्रक्रियामा संलग्न सबै सरकारी निकाय आ–आफ्नो जिम्मेवारीको छानविन गरिरहेका छन्, महानिर्देशक रायले भन्नुभयो–जिम्मेवारी सम्हाल्ने कर्मचारीबाट कमजोरी भएको ठहरिएमा कारवाही हुनेछ ।
आयात प्रक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको प्रयोगशाला प्रतिवेदनका आधारमा राष्ट्र बैंकले एलसी खोलिदिन्छ, महानिर्देशक रायको भनाई थियो, त्यसका आधारमा आयात भएको दाल भन्सार बिन्दुबाट जाँचपास हुन्छ । यो प्रक्रियामा सुरुदेखि अन्तिमसम्म कहाँकहाँ कमजोरी भयो भन्ने कुरा सबै कार्यालयहरुले यकिन गरिरहेको महानिर्देशक रायको भनाई थियो ।

आयात गरिएको दाल भन्सार जाँचपास बिन्दुमा आईसकेपछि खाद्य विभाग अन्तर्गतकै खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालय, विराटनगरले ‘चारित्रिक गुणस्तर अनुरुप अनुकुल पाइएको’ व्यहोराको स्वीकृति प्रदान गरेको छ । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने निकायले नै हचुवाका भरमा प्रमाणीत गरिदिएको विषयले अहिले धेरैले विभागको कार्य क्षमतामाथि नै प्रश्न उठाईरहेका हुन् । संसारमै उपभोग्य अवधी सकिएपछि दाल नेपालमा निर्यात–आयात गरिएको आशंका छ । राज्यका निकायलाई नै झुक्याएर लेवल माथि लेवल लगाएको आशंका गर्दै सबै निकायले गहन रुपमा अनुसन्धान गरिरहेको महानिर्देशक रायको दावी छ ।

ओरिजन्स अफ मुजाम्बिक उल्लेख गरिएको ४० टन रहरको दाल गत मंसिर १७ गते मात्रै भन्सार जाँचपास भई विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नले भित्र्याएको थियो । ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएको १५ केजीका दुईहजार ७०० बोरामा दोहोरो लेवल भेटिएपछि कारवाही गर्ने निकाय नै अलमलमा परेको छ ।
संयुक्त बजार अनुगमन समितिले गत फागुन १२ गते खुद्रा–थोक हुँदै आयातकर्तासम्म पुगेर दाल भण्डारण गरिएको गोदाम नै शिलबन्दी गरेको थियो । स्थलगत अनुगमनमै बोरामा प्रिन्ट भएको उपभोग्य अवधी छोपेर अर्को उपभोग्य अवधी टाँस गरेको पाइएपछि तीनलाख रुपिँया जरिवाना समेत गरिएको थियो ।

फौजदारी अपराध देखिन्छ, महानिर्देशक रायले भन्नुभयो–यसको अनुसन्धान लामो हुने भएकोले आयात प्रक्रियामा संलग्न सबै निकाय चनाखो हुनुपर्नेछ । विभागले दोस्रो पटक यस्तो गल्ती दोहोरिन नदिने गरि अनुसन्धान गरेर खाद्य ऐन अन्तर्गत कारवाही गर्ने महानिर्देशक रायले दावी गर्नुभयो ।
विदेशी निर्यातकर्ता ईटीजीमार्फत ५० लाख रुपिँयाको ४८ टन दाल आयात गरेको जैसानीको गोदाममा ४० टन दाल थुनिएको छ । भन्सार जाँचपासका क्रममा ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र फिड ट्रेड प्रमाणपत्र) समेत संलग्न गरिएपनि दालको प्याकेजिङमा समस्या देखिएको छ ।

उत्पादक कम्पनीले बोरामै प्रिन्ट गरेको लेवलमा सन् २०१३ मा उत्पादन भई २०१५ सम्ममा दाल उपभोग गर्ने अवधी लेखिएको छ । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेवलमा भने सन् २०२० मा उत्पादन भई २०२२ मा उपभोग्य मिति उल्लेख गरिएको फेला परेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कैफियत रहेको दाल आयातका क्रममा संलग्न सबै निकायहरुले आ–आफ्नो क्षेत्रबाट प्रक्रियागत त्रुटी भएको भए त्यसको छानविन गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले कानुनको परिधि भित्र बसेर आवश्यक कारवाही गरिने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको २०७६ कार्तिक १७ गते गरेको निर्णय अनुसार उत्पादकले लेवल विवरणमै उपभोग्य अवधी बारे स्पष्ट रुपमै उल्लेख गरेको अवस्था भएमा त्यस्ता वस्तुको विश्लेषण गर्न आवश्यक नपर्ने निर्णय गरेको छ । खाद्य पदार्थ बरामद भएको अवस्थामा खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम मुचुल्का लगायत लेवलको बारेमा कारवाही गर्ने स्पष्ट निर्देशन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्