बालबालिकालाई भिटामिट ए र जुकाको औषधी खुवाईदै, आज अन्तिम दिन

बालबालिकालाई भिटामिट ए र जुकाको औषधी खुवाईदै, आज अन्तिम दिन

सरकारले वैशाख ६ र ७ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि संचालन गरेको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ को आज अन्तिम दिन हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रम अन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ ।
उहाँका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एक क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्यावलेट (४०० मिलिग्राम) खुवाउने गरिन्छ ।
भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ ।
सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।
यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउने गरिन्छ ।
विसं २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्