पीभीसी लगाएका विराटनगरका अधिकांश घरका छानामा असिनाको प्वाल

पीभीसी लगाएका विराटनगरका अधिकांश घरका छानामा असिनाको प्वाल

विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् ।
तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिना र पानीले यस पटक भने विराटनगरका ठूला घरानामा नराम्रोसँग क्षति पु¥याएको छ । घरमै पार्किङ गरिएका सवारीदेखि पीभीसी जस्तापाता छाएका अधिकांश घरहरुमा असिनाको डोब मात्रै नभई प्वालै–प्वाल परेको हो ।

विराटनगरस्थित होटल एशियाटीकको मात्रै १६ लाख रुपैँया बराबरको क्षति भएको छ । होटल परिसरमा निर्माण गरिएको रेष्टु–राँको छानो रातो पीभीसी जस्तापाताले छाइएको थियो । बैशाख ३ गते आएको असिनाका कारण छिद्रा–छिद्रा भएको एशियाटीकका सञ्चालक पुण्य भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईले सेवा निर्माण कम्पनि इटहरीमार्फत एसीए जस्तापाता प्रयोग गर्नु भएको थियो । चाइनाबाट आयात गरिएको यो जस्तापाता असिना प्रतिरोधी नहुँदा अहिले नयाँ जस्तापाता लगाउनु पर्ने अवस्था आएको हो । निर्माण सेवा कम्पनिका भुषण श्रेष्ठले आफ्नै प्रयोग प्रयोजनका लागि चाइनाबाट आयात गरिएको एसीए जस्तापाता भट्टराईको घरमा लगाई दिएको बताउनुभयो ।

यसैगरी विराटनगर–४ निवासी व्यवसायी मेघराज सिग्देलको घरको छानामा समेत असिनाले प्वाल पारेको छ । सनराइज इडीभीसी भैरहवाको पीभीसी जस्तापाता छाउनु भएका सिग्देलको घरको छानामा असिनाले पारेको प्वालबाट घाम र जुन देन्न मिल्ने भएको बताउनुभयो ।
विराटनगरका उद्योगी राजेन्द्र राउतको निवास परिसरमा बनाउनु भएको घरको छानो समेत छिद्राछिद्रा पारिदिएको छ । राउतको छाना प्वाल पर्दा ८ लाख बराबरको क्षति पुगेको हो । विराटनगरस्थित आधिकारिक डिलर अमन हार्डवेयरबाट खरिद गरेर अर्को हार्डवेयरले राउतलाई पीभीसी जस्तापाता बिक्री गरेको थियो ।

सनराइजका पूर्व क्षेत्र हेर्ने प्रतिनिधि सिर्जन आचार्यले बिनाजाली (नन् मेस) को जस्तापाता लगाएका अधिकांश घरहरुमा असिनाले क्षति पु¥याएको जानकारी दिनुभयो । भैरहवामा उद्योग स्थापना गरेर सनराइजले आफैं तीन प्रकारका पीभीसी जस्तापाता उत्पादन गर्दै आएको दावी गर्दै आचार्यले बिना जालीको जस्तापातामा कम्पनिको कुनै ग्यारेन्टी र वारेन्टी नभएको बताउनुभयो ।
यो असिना प्रतिरोधात्मक उत्पादन थिएन, आचार्यले भन्नुभयो–कम असिना पर्ने तराईका जिल्लाहरुमा लगाउन उत्पादन गरिएको हो तर यसपटक कल्पना नै गर्न नसकिने क्षति पु¥याईदियो । उत्पादनप्रति विश्वास जगाउन नयाँ जस्तापाता लगाउने योजना रहेकोले क्षति सर्भेक्षण भईरहेको उहाँले बताउनुभयो । आचार्यका अनुसार ३० वटा घरमा पुग्दा सबैमा असिनाको प्वाल देखिएको छ ।

कम्पनिले बिनाजाली, एउटा मात्रै जाली र डबल जाली गरेर तीन प्रकारको उत्पादन गर्दै आएको बताइएको छ । यीमध्ये बिना जालीको तराई क्षेत्रमा, एउटा जालीका असिना कम पर्ने पहाडी क्षेत्रमा र डबल जालीको असिना जोखिम तथा हिउँ पर्ने क्षेत्रमा लगाउने गरिएको आचार्यको भनाई छ ।
बिनाजालीको जस्तापाता प्रयोगकर्तालाई कुनैपनि क्षतिपूर्ति नहुने भएपनि यस पटक कम्पनिले विशेष प्याकेजको रुपमा प्रतिस्थापन गरिदिने वा बढी मूल्य पर्ने सिंघल वा डबल जाली भएको जस्तापाता लगाईदिने अफर ग्राहकलाई दिइएको हो । यदि लगाएकै जस्तापाताले छानो छाउने भए सट्टा गरिदिने तर बलियो र दह्रो सिंघल वा डबल जाली भएको लगाउँदा पैसा थप्नुपर्ने शर्त कम्पनिले राखेको छ ।

आचार्यका अनुसार प्रिमियम उत्पादनको फिटिङ समेत कम्पनिको मापदण्ड गरिएको अवस्थामा २५ वर्षसम्मको वारेन्टी रहेको बताउनुभयो ।
नेपालमै उत्पादन गरेर वा चाइनाबाट आयात गरेर नेपालको उत्पादनको रुपमा देखाउने कम्पनिहरु समेत रहेका कारण बैशाखको असिनाको शिकार धेरै उपभोक्ताहरु बनेका छन् । राम्रो देखिने कमसल सामान ल्याएर बिक्री वितरण गर्नेहरुमाथि राज्यले केहि न केहि सजाय गर्नुपर्ने सेवाग्राहीहरुको धारणा छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय परिसरमा निर्माण गरिएको नयाँ भवन समेत प्रयोग गर्ने अन्तिम तयारीमा पुगेपछि छानोमा प्वालै–प्वाल पारिदिएको छ । धेरै ठूलो रकममा कमसल भवन बनेको भन्दै त्यसको चौतर्फी टिकाटिप्पणी भईरहेको बेला असिनाले छानोमा प्वाल पारेपछि निर्माण प्रक्रिया बारे कानुनी प्रश्न समेत उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्