- दाहाल त्रिविक्रम
असार पहिलो हप्ताको बेला थियो । बिर्खे र उसका साथीहरु पाँच हल गोरु लिएर गोठाला हिँड्न लागे । असारको बेला, आकाश अलिकति धमिलो थियो, धुम्म थियो । पाँच हल गोरु चराउन जाने गोठाले ३ जना थिए । गोरु निकाल्ने बेलामा विर्खेले पल्ला घरे गोठाले साथी अम्मरे अनि गोकुलेलाई कराउँदै भन्यो,"घूम बोकेस है मेरा साथीहरू.....आकाश धुम्म गर्दैछ...पल्लो गाउँमा पनि पर्दैछ भन्ने हल्ला थियो.... ए अम्मरे... गोकुले..."
आफूले आफूलाई सर्वश्व ठान्ने गोकुलेले बिर्खेको कुरा खासै वास्ता गरेन ।
अम्मरेले एउटा घूम काखीमा चेप्यो अनि बिर्खेले एउटा छाता ।
"ह.. ह... ह... तारे...माले...कस्तो गोरु रहेछ हौ, हिड्नै मान्दैन ।" यसो भन्दै गोकूलेले एउटा गोरुको ढाडमा बेस्सरी हान्यो एउटा बाँसको लौरोले ।
गोरु सार्है नमज्जाले करायो,"बाँ... "
"कस्तो असत्ती माेरो रहेछ यो गोकूले । किन पिटेको गोरुलाई त्यसरी ?" बीर्खेले करायो ।
"मेरो गोरु ! जेसुकै गरौं म । जहिले नटेरेको छ ! यस्ता गोरुलाई नपिटेर के पूजा गरेर राखौँ त ?" गाेकुलेले चर्को स्वरमा भन्यो ।
"हो ! यस्तै निर्मम तरिकाले गोरुलाई पिट्छस् त्यसैले जोत्ने बेला गोरु बस्छ । कहिलेकाहीं त यसो माया गरेर पनि हेर न हौ गोरुलाई ।" बिर्खे बोल्यो ।
पल्लो गाउँमा भएको अन्धकार अब गोठालो हिँडेका तीन भाईको पछि लाग्न थाल्यो । मिलिक्क बिजुली चम्कियो ।
"धन्न बेलैमा बुद्धि पुर्याएर घूम चाहिँ ल्याइएछ ।" विर्खेले ढुक्क मान्दै भन्यो ।
"केटाहो ! तिमीहरूले नी ल्यायौ नी घूम छाता ?" विर्खेले सोध्यो ।
"अ मैले त ल्याएँ ।" अम्मरे बोल्यो ।
आकाशको झैं कालो मुख लगाउँदै गोकुलेले भने मैले त ल्याईन भन्दै निहुरियो ।
किन नल्याको नी ? विर्खेले सोध्यो ।
" पल्लो गाउँमा त पानि परेको हो नी भन्ने लागेर ।" गोकुलेले भन्यो ।
"ए गोकुले ! थाह छ हामीलाई त पढेलेखेको छस् हामीभन्दा । तर कतिपय यस्ता कुरा हुन्छन् जो पढाईले हैन, अनुभवले आँकलन गर्न पर्छ । हेर त अब पानी पर्नै लाग्यो । के गर्छस् अब ?" अम्मरेले भन्यो ।
भिज्नुको सिवाय के विकल्प छ र भन्दै गोकुलेले पश्चाताप गर्यो ।
एकैछिनमा मुसलधारे पानी पर्यो । पर्सिको दिन रोपाइँ राखेको गोकुले त्यो दिन पानीमा नमजाले रुझ्यो ।
त्यही बेला त खासै केही भएन गोकुलेलाई, तर भोलिपल्ट भने ज्वरोले ओछयान नै छाड्न नमिल्ने गरी सुतायो । भोलिपल्टको रोपाइँ पनि त्यो दिनको सानो लापरबाहीले गर्दा रोकियो । गोरु पनि रुझेकाले खेत पस्न मान्ने अवश्था थिएन । उसको परिवार पनि उसको त्यो दुर्दशा देखेर निकै चिन्तित थिए ।
त्यो दिनदेखि अब ऊ जहिले आकाश अलिकति धुम्म भयो वा अरु कतै पानी पर्यो भन्ने खबर सुन्ने बित्तिकै थपक्क छाता बोकीहाल्छ, पूर्वतयारी स्वरुप ।