सीपसहितको श्रम बेच्न तालिममा सहभागी हुँदै मजदुर, प्रतिष्ठान समेत मजदुरप्रति उदार

सीपसहितको श्रम बेच्न तालिममा सहभागी हुँदै मजदुर, प्रतिष्ठान समेत मजदुरप्रति उदार

विराटनगर

औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरुले संस्थागत चासो राख्न थालेपछि सीपमुलुक दक्ष कामदार आपूर्ति सहज बन्दै गएको हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानले लामो समय काम गर्दै आएका र नवप्रवेशी कामदारलाई आवश्यकता अनुसारको सीपमा जोड्न थालेका छन् । उद्योगमा मात्रै नभई असंगठित रुपमा रहेका कामदारलाई समेत पछिल्लो समय सीप सिकाई अवसर सरकारले सिर्जना गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत समृद्धि परियोजनाले प्रदेश १ का सातवटासहित देशभरका १६ जिल्लामा दक्ष कामदार उत्पादनका लागि कार्यक्रम कार्यन्वयनमा ल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको साझेदारीमा मन्त्रालय अन्तर्गत समृद्धि परियोजना कार्यालय इटहरीले अर्धदक्ष कामदारलाई दक्ष बनाउन औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम दिदैं आएको छ । एक महिनासम्म सम्बन्धित विषयमा केन्द्रीत सैद्धान्तिक तालिम लिईसकेका मजदुरलाई पाँच महिनासम्म सम्बन्धित उद्योगमा व्यवहारिक अभ्यास गराउन थालिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का फोकल पर्सन गणेश दाहालका अनुसार समृद्धि परियोजनाको सहयोगमा महासंघले एक हजार ४० जनालाई तालिम दिने लक्ष्य राखेको थियो । तर, कार्यक्रम कार्यन्वयन गर्ने समयमा कोरोना संक्रमण र बन्दाबन्दी भएका कारण चालु वर्ष ३०० जनालाई मात्रै तालिम दिईने भएको छ । तालिमका लागि प्राविधिक सहयोग भने हेबिटासले गरेको छ ।

प्रदेश १ को मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ र उदयपुरसहित प्रदेश २ का सात जिल्ला तथा बागमति प्रदेशको सिन्धुलीमा औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम भईरहेको समृद्धि परियोजना इटहरीका प्रमुख प्रवन्धक सालिग्राम दाहालले जानकारी दिनुभयो । इटहरीमा कार्यलय नै स्थापना गरेर परियोजनाले यी जिल्लाहरुमा तालिम सञ्चालन गर्न थालेको हो । प्रदेश १ का सात जिल्लामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले तालिमको आयोजना गर्न सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
गार्मेन्ट, जुट, फुटवेयर, निर्माण र प्लाष्टिकजन्य उद्योगमा कार्यरत र नवप्रवेशी कामदारलाई अहिले तालिममा सहभागी गराईदै आएको छ । तालिममा सहभागी हुनका लागि तोकिएका जिल्ला बाहेकका लागि शर्तहरु लागु गरिएको छ । तालिममा सहभागीहरुले एक महिनाको सैद्धान्ति, पाँच महिनाको व्यवहारिक अभ्यासपछि बाँकी ६ महिनासम्म उद्योगमा कार्यरत रहिसकेपछि सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने अवसर छ । सिटीभिटीईबाट लिइने यस्तो परीक्षामा सहभागीहरुलाई कामको सीप हेरेर प्रमाणपत्र जारी गरिनेछ ।
तालिममा सहभागीहरुका लागि समेत मापदण्ड तोकिएको छ । दलित, महिला, सीमान्तकृत तथा कम पढेलेखेका नागरिकलाई प्राथमिकतामा राखेर छनौट गरिनुपर्ने मापदण्ड छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार तालिममा सहभागी गराउनका लागि उद्योगमा कार्यरत मजदुरलाई समेत औद्योगिक प्रतिष्ठानले पठाउने गरेका छन् ।

उद्योगमा नवप्रवेशी अवस्थामा रहेका र लामो समय काम गरेपनि दक्ष भईनसकेका मजदुरहरुलाई प्रतिष्ठानले सहभागी गराउँदै आएका छन्, निर्देशक भण्डारीले भन्नुभयो–औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध सुमधुर बन्दै जाँदा दक्ष कामदार उत्पादनमा सबैको चासो बढ्न थालेको देखिन्छ । काम गरिरहेका मजदुरलाई एक महिनासम्म बिदा दिएर भएपनि प्रतिष्ठानहरुले तालिममा पठाउन थालेको उहाँले बताउनुभयो । कतिपय उद्योग प्रतिष्ठानहरुले भने सरकारले दिएको अवसरलाई समेत सदुपयोग गर्न ध्यान नदिएको उहाँको भनाई छ ।
समृद्धि परियोजनाले औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम जस्तै दश हजार घरधुरीलाई तरकारी अपूर्ति श्रृंखलामा जोड्ने योजना समेत कार्यन्वयनमा ल्याएको प्रवन्धक दाहालले जानकारी दिनुभयो । खासगरी ग्रामिण क्षेत्रका तरकारी खेतिमा संलग्न किसान लक्षित गरेर तरकारी आपूर्ति श्रृंखला विकास र सामुहित खेती प्रणालीको विषयमा तालिम आयोजना गरिदैं आएको उहाँले बताउनुभयो । जसमध्ये पाँच हजार तालिमबाट लाभग्राही बनिसकेको उहाँले बताउनुभयो । पहिलो र दोस्रो फेजको कार्यक्रम सम्पन्न भएपछि तेस्रो चरणमा पन्ध्रहजार घरधुरीलाई यो तालिममा सहभागी गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्